
काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो- २०२६ मंगलबारबाट सुरु भएको छ ।
भृकुटीमण्डपमा साउन ३१ गतेसम्म चल्ने अटो सोमा २० लाखदेखि साढे ३ करोडसम्मका विद्युतीय गाडी प्रदर्शनमा राखिएको छ । नाइमामा ग्राहकले विभिन्न छुटमा आफ्नो रोजाइका सवारी बुक गर्न पनि सक्नेछन्।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा हुन लागेको एक्स्पोमा ५२ वटा स्टल छन्। एक्स्पोमा दुईपांग्रे सवारीका १८ र चारपांग्रेका २९ नयाँ ब्रान्ड सार्वजनिक गरिँदै छ।
आयोजकका अनुसार एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी उत्पादन विशेष रूपमा समेटिएको छ। यात्रुवाहक विद्युतीय गाडी पनि अवलोकनकर्ताले एक्स्पोमा देख्न पाउनेछन्।
गत वर्ष १ लाखभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए। यो पटक संख्या बढ्ने अटो शो प्लानिङ कमिटीका संयोजक गौरव शारडाको भनाइ छ। अहिलेसम्म विभिन्न कम्पनीका ४८ वटा ब्रान्ड सार्वजनिक गर्ने तयारी रहेको आयोजकले बताएको छ।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालका अनुसार एक्स्पोमा ईभीको बाहुल्य छ । तर पेट्रोल/डिजेलबाट चल्ने र हाइब्रिड सवारी पनि समावेश भएको उहाँको भनाइ छ । उद्घाटन समारोहमा नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले यातायात नीति र पूर्वाधार विकासमा जोड दिनुभयो ।








