एनपीएल र यू-१९ विश्वकपका लागि तीन मैदानको ‘विकेट मेकओभर’

श्रावण २३, २०८३ |खेल ब्युरो
एनपीएल र यू-१९ विश्वकपका लागि तीन मैदानको ‘विकेट मेकओभर’

काठमाडौं । नेपालमा अब केही महिनापछि क्रिकेटका दुई ठूला इभेन्ट आयोजना हुँदैछन्। 

एनपीएल र आईसीसी महिला अन्डर नाइन्टिन विश्वकप। यसैका लागि भनेर क्यानले ६ वर्षपछि काठमाडौंका तीनवटा क्रिकेट मैदानको पिच निर्माणको काम गरिरहेको छ । पिचमा रोपिएको घाँस मनसुनको कारण राम्रो हुने र दुवै प्रतियोगिताका लागि फाइदा हुने क्यानको विश्वास छ ।

अहिले त्रिवि क्रिकेट मैदानको स्वरुप अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा परिणत भए पनि यसको विकेटको स्वरुप खासै फेरिएको छैन । कीर्तिपुरको विकेटमा स्पिनरकै दबदबा रहने गर्छ । शुक्रबार मात्र कीर्तिपुरको विकेटमा घाँस रोप्ने कार्य सम्पन्न भएको थियो । 

मूलपानीस्थित माथिल्लो मैदानमा पनि घाँस यसअघि नै हालिसकेको छ भने तल्लो मूलपानी मैदानमा घाँस हाल्ने क्रम जारी छ । एनपीएल र आईसीसी यू–१९ महिला विश्वकपलक्षित गरेर तीनवटै मैदानको विकेटको स्वरुप फेर्न लागिएको छ । आधिकारिक मितिको घोषणा नभए पनि दशैंपछि एनपीएलको तेस्रो संस्करण आयोजना हुन लागेको छ । 

त्यस्तै १६ राष्ट्र सम्मिलित आईसीसी यू–१९ महिला विश्वकप क्रिकेट नेपालले बंगलादेशसँग मिलेर संयुक्त रूपमा आयोजना गर्दैछ । नेपालले आयोजना गर्न लागेको यो सबैभन्दा ठूलो प्रतियोगिता हो । यी तीन मैदान यू–१९ महिला विश्वकपको लागि प्रयोग गरिनेछ ।

यू–१९ महिला विश्वकप जनवरीमा हुने सम्भावना छ । तर, आईसीसीबाट आधिकारिक तालिका आउन बाँकी छ । सहभागी १६ राष्ट्रमध्ये नेपाल र बंगलादेशमा आठ टोलीले खेल्ने सम्भावना छ । आयोजकको हिसाबमा नेपाललाई प्रतियोगितामा सोझै प्रवेश दिइएको छ । 

सन् २०२० पछि कीर्तिपुरको विकेट नयाँ बनाउन लागिएको नेपाल क्रिकेट संघ- क्यानका उपाध्यक्ष रोशनकुमार सिंह बताउँछन् । क्यानले उनलाई यू–१९ महिला विश्वकपका लागि संयोजकको जिम्मेवारी तोकेको छ ।

‘कीर्तिपुर र मूलपानीको दुवै मैदानको विकेट निर्माण तथा मर्मत खर्च ७०-८० लाख हुने अनुमान छ । यो सबै पूर्वाधारबाहेकका खर्च हुन् । यो खर्च क्यानले अहिले आफ्नै स्रोतबाट जुटाइरहेको र पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यसको भर्पाइ गरिदिन्छ । कीर्तिपुरमा शुक्रबार बिहानदेखि क्युरेटर मधु तामाङसहित ग्राउन्ड स्टाफहरू विशेषतः विकेट निर्माणको कार्य धमाधम गरिरहेका छन् । क्युरेटरसहित मैदानको कर्मचारीहरूले नयाँ विकेट बनाउनेक्रममा बिग्रेको माटोको जरासम्मै निकालेर फालिदिएका छन्, त्यसपछि घाँस रोप्न सुरु गरेका छन्, जुन आज पुरा हुनेछ,’ क्यान उपाध्यक्ष रोशनकुमार सिंहले शुक्रबार भने, ‘घाँस कतिसम्म विकेटमा बस्छ भन्ने कुरा महत्त्वपूर्ण हो, घाँस रहेसम्म विकेट राम्रो हुन्छ । घाँस गइसकेपछि विकेट फ्ल्याट हुन्छ । घाँसको जरा चार इन्चसम्म तल गयो भने माटोलाई राम्रोसँग समात्छ र त्यसपछि विकेट सेट भएर राम्रो हुने विश्वास क्युरेटरले लिएका छन् ।’

रोपिएको घाँस उम्रिन २–३ साता लाग्नेछ । अब जरा चार इन्च तल पुग्न चार महिना समय लिन्छ। तर, एनपीएल सुरु हुन साढे दुई महिना समय बाँकी छ । यद्यपि विकेट राम्रै बन्ने विश्वास क्यानको छ । भदौ लागेपछि घाँसले रुट फाल्ने कार्य विस्तारै कम हुँदै जान्छ । 

मनसुनको पानी जतिसक्दो तल गयो विकेट त्यति राम्रो हुने भएकाले विकेट निर्माणमा अलिक ढिलाइ भए पनि मनसुन लम्बिएमा त्यसले फाइदा हुनेछ । घाँस जागेपछि काटेर लेभलिङ गरिनेछ र मल छरेर फेरि घाँस उमार्ने कार्य गरिन्छ । यो विकेटमा स्थानीय दुबो नै हालिएको छ, बर्मुडा दुबो भएको भए विकेट अझै केही वर्ष टिक्ने सिंहले बताए ।

‘अलिक पहिलादेखि निर्माण कार्य सुरु गरेको भए विकेटमा पानी तलसम्मै जान पाउँथ्यो । समय अभावका कारण विकेट निर्माण कार्य सुरु गर्न ढिला भएको छ, तर विकेट राम्रो बन्ने आस लिएका छौं,’ उपाध्यक्ष सिंहले भने, ‘एनपीएल सुरु भएको दुई सातासम्म विकेटमा घाँस रहने सम्भावना रहन्छ, त्यसका लागि घाँस कसरी उम्रिन्छ र पानीको मात्र कत्तिको पुग्छ भन्ने हो ।’

एनपीएल सुरु भएको दुई सातापछि विकेट फ्ल्याट हुन सक्नेछ । विगतमा विकेटले खेलेको भूमिकाका आधारमा सिंहले यो पूर्वानुमान गरेका हुन् । दसैंअगाडि कीर्तिपुर मैदानमात्र तयार हुनेछ । मूलपानीको दुवै मैदान यू–१९ महिला विश्वकपलक्षित छ । 

कीर्तिपुरमा ८, माथिल्लो मूलपानीमा ७ र तल्लो मूलपानी मैदानमा ६ पिच निर्माण गर्न लागिएको छ । कीर्तिपुर १२ हजार र तल्लो मूलपानीमा ५ हजार दर्शक क्षमता रहनेछ । माथिल्लो मूलपानीमा २ हजार दर्शक क्षमताको अस्थायी टहरा निर्माण गरिने सिंहले बताए । 

मूलपानीको दुई मैदानमा प्रफुल्ल प्रधान र बंगलादेशका मोहम्मद अब्दुल अल मामुनले क्युरेटरको काम गरिरहेका छन् । मैदानभित्रको तयारी पूरा भएपछि कीर्तिपुरमा पूणर्निर्माणको काम सुरु हुनेछ, त्यसमा ड्रेसिङ रूम, आइस बाथ, डाइनिङ हल, भीआईपी बक्सको मर्मत गरिनेछ, दर्शक बस्ने कुर्सीमा सिट नम्बर राखिने छ, दर्शकलाई सहज रुपमा मैदानभित्र पस्न मिल्ने वातावरण बनाइने छ। 

आईसीसीका प्रतिनिधि आइसकेपछि क्यानले सुरक्षाको सम्पूर्ण प्रबन्धको तयारी गर्नेछ ।

हेमन्त श्रेष्ठ र विनोद पाण्डेको रिपोर्ट ।