पुग्दो आयात भइरहेको दाबी गर्ने आयल निगमलाई नै थाहा छैन– कहाँ गइरहेको छ ग्यास ?

वितरण प्रणाली सुधार्नुको साटो अभावको दोष उपभोक्तालाई
श्रावण २५, २०८३ |प्रकाश बम
पुग्दो आयात भइरहेको दाबी गर्ने आयल निगमलाई नै थाहा छैन– कहाँ गइरहेको छ ग्यास ?

काठमाडौं । टेकुमा रहेको नेपाल आयल निगमको डिपोमा साेमबार पनि उस्तै भीड छ । 

एक हप्ताभन्दा बढी भइसक्यो- न भीड कम भाछ, न ग्यास सहज । बालाजुको नेपाल ग्यासको उद्योगमा पनि लाइन लाग्ने उपभोक्ताहरू घटेका छैनन् । रित्तो सिलिन्डर काँधमा हालेर घर नजिकैको विक्रेताकहाँ पुग्दा उपभोक्ताले जवाफ पाइरहेका छन्- ग्यास छैन । 

बाध्य भएर टेकु वा बालाजुसम्म पुगेका उपभोक्ता घरमा चुलो बाल्न घण्टौँ लाइन नलागी सुख छैन । नागरिकको यो सास्तीले भनिरहेको छ- बजारमा ग्यास पाइँदैन । तर, सरकारको दाबी यस्तो छैन । त्यसैले समस्या कहाँ छ त ? 

हामीले यही खोज्ने प्रयास गरेका छौँ । 

उपभोक्ताका समस्या सुनेपछि हामी पुग्यौँ आयल निगममा । निगम भन्छ, ग्यास आपूर्ति सामान्य अवस्थामा जस्तै छ । निगमका अनुसार सामान्य अवस्थामा मासिक ४५ हजार मेट्रिक टन र संख्याको आधारमा भन्नुपर्दा दैनिक १ लाख सिलिन्डर खपत हुन्छ । 

साउन १ गते देखि २४ गतेसम्मको तथ्यांकअनुसार ४२ हजार मेट्रिक टन बजारमा गएको छ । अर्थात् निगमबाट आपूर्ति सामान्य अवस्थामा जस्तै छ । तर, उपभोक्ताका घरसम्म ग्यास किन पुगिरहेको छैन त ? हामी निगमभन्दा ठ्याक्कै तल्लो निकाय उद्योग पुग्यौँ । 

नेपाल ग्यास प्रालिको कार्यालय बालुजा पुग्दा कम्पनीका बजार व्यवस्थापक भन्छन्- निगमबाट प्राप्त ग्यास डिलरहरूलाई विगतकै मात्रामा दिइरहेका छौँ । यो कम्पनीले अभाव हुनुअघि बालाजुबाट मासिक ३८ सय मेट्रिक टन ग्यास वितरण गर्थ्यो । अहिलेको वितरणको परिमाण पनि उही छ ।

अहिलेसम्मको अनुगमनले भन्छ- निगमदेखि उद्योगसम्म आइपुग्दा ग्यास पहिले जति आपूर्ति हुँदै आएको हो त्यसमा कमी छैन । तर, उद्योगहरूका अनुसार गत महिनाको तुलनामा यो महिना डिलरहरूले अतिरिक्त ग्यास माग गरिरहेका छन् । यो बढेको माग चाहिँ उद्योगले धान्न सकेको छैन । 

वितरकको कुरा पनि उस्तै छ । डिलरहरू भन्छन्- बजारमा माग बढेको छ । त्यसैले उद्योगसँग बढी ग्यास मागेका हौँ । डिलरहरूका अनुसार पहिले १ सय सिलिन्डर आउँथ्यो भने अहिले पनि त्यति नै आइरहेको छ । तर, यी सिलिन्डरले पुगेकै छैन ।

अहिले बढेको माग कति हो त ? हामीले डिलरलाई सोध्यौँ । उनीहरू भन्छन्- औसतमा ' सिलिन्डर बढी माग भइरहेका छन् । यो माग कसरी बढ्यो त ? यसको जवाफ आधा सिलिन्डरबाट भरि सिलिन्डरमा जाने निर्णयसँग जोडिन्छ । इरान-अमेरिका युद्धका कारण फागुनको २९ गतेबाट आधा सिलिन्डर ग्यास बाँड्न थालिएको थियो । तर, युद्धको प्रभाव कम भएसँगै असारको ३१ बाट निगमले पूरा सिलिन्डर ग्यास बाँड्ने निर्णय गर्‍यो । 

समस्या यहीँबाट सुरु भयो । निगमका अधिकारी र डिलरहरूका अनुसार आधा सिलिन्डर वितरण हुन्जेल घरमा ग्यास सकिए पनि उपभोक्ता आधा मात्र पाइने भन्दै ग्यास लिन आएनन् । जब सरकारले भरि ग्यास दिने भन्यो त्यसपछि एकाएक खाली सिलिन्डर डिलरकहाँ थुप्रिन थाल्यो । 

पछि पाइने होरहोइन भन्दै उपभोक्ताले एक्कासि एकभन्दा बढी भरि ग्यास सञ्चित गर्न थाले । यस्तो अवस्थालाई स्टक पाइलिङ भनिन्छ । यसरी घरमा एकभन्दा बढी सिलिन्डर हुनेहरूले ग्यास भरेर थुपार्दा एक मात्र सिलिन्डर हुनेहरू भने मारमा परेका छन् ।

अर्थात्, ग्यासको आपूर्तिमा होइन सिलिन्डरको वितरणमा अहिले समस्या भइरहेको हो । सरकारले वितरण प्रणालीको समस्या तुरुन्तै समाधान गर्न आवश्यक छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।