काठमाडौं । अन्तत: फिफा विश्वकप २०२६ सकियो ।
पहिलो खेलमा केप भर्डेजस्तो कमजोर टोलीविरुद्ध गोल गर्न नसकेको भन्दै आलोचित भएको स्पेनले विश्वकप नै जित्यो। विश्वकपमा स्पेनको यात्रामा साहस, दृढता र परीक्षणको कडा नमुना प्रस्तुत भएको थियो ।
समूह चरणदेखि विश्वविजेता बन्नेसम्म स्पेनको यात्रा कस्तो रह्याे त ?
विश्वकपमा उसको यात्रा त्यस्तो खेलबाट सुरु भयो, जसले 'स्पेन विश्वकप विजेता बन्छ' भन्ने कल्पनासमेत गर्न गाह्रो बनाएको थियो । कतिले केभ भर्डेको नामसमेत सुनेका थिएनन् । यस्तो देश विश्वकपमा थियो र पहिलो खेल स्पेनसँग ।
स्पेनका सबै आक्रमण केप भर्डेका गोलकिपर भोजिन्हाले बचाएपछि खेल गोरहित बन्यो । कमजोर टिमविरुद्ध पनि गोल गर्न नसकेको भन्दै आलोचनाबाट सुरु भयो स्पेनको विश्वकप । यसले स्पेनमाथि युरोपको च्याम्पियन नै हो त ? भन्ने प्रश्न गर्न बाँध्य बनाएको थियो ।
पहिलो खेल र उपाधीबीचको अचम्मको संयोग कतार विश्वकप र उत्तर अमेरिका विश्वकपमा ठ्याक्कै मिलेको छ । अर्थात् स्पेनको यसपटकको विश्वकप यात्रा अघिल्लो विश्वकपमा अर्जेन्टिनाको यात्रासँग मिल्दोजुल्दो छ । पहिलो खेलमै अपेक्षाकृत कमजोर टोलीसँग अप्रत्याशित नतिजा भोगेपनि त्यसपछि टोलीले कसरी आफूमा परिवर्तन ल्याउँछ भन्ने महत्त्वपूर्ण हुन्छ ।
स्पेनले त्यसको उत्कृष्ट उदाहरण पनि प्रस्तुत गरेको छ । पहिलो खेलपछि भने स्पेनले आफ्नो लय कायम राख्यो । दोस्रो खेलमा साउदी अरेबियालाई ४-० ले हरायो भने तेस्रो खेलमा उरुग्वेमाथि १-० को कठिन जित निकाल्दै नकआउट चरणमा पुग्यो ।
पासमा आधारित खेलशैलीको स्पष्ट झल्को देखिएको थियो स्पेनको खेलमा, जुन शैली यो प्रतियोगिताभर अन्य कुनै टोलीले बराबरी गर्न सकेनन् । नकआउट चरणको पहिलो खेलमा स्पेनले अस्ट्रियालाई ३-० ले पराजित गर्यो, मिकेल ओयार्जाबालले दुई तथा पेड्रो पोरोले एक गोल गरे ।
त्यसपछि स्पेनले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई मिकेल मेरिनोको अन्तिम समयमा गरेको गोलमा पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठायो । क्वार्टरफाइनलमा बेल्जियम स्पेनको शिकार बन्यो । जहाँ उसले केटेलारेको गोलको सामना गरे पनि खेलमा उनी गोल मेसिन भने थिएनन् ।
फाइनलअघिको सबैभन्दा ठूलो परीक्षा फ्रान्सविरुद्धको सेमिफाइनल थियो । धेरैले फ्रान्स सहज रूपमा जित्ने वा कम्तीमा पनि निकै प्रतिस्पर्धात्मक खेलमा विजयी हुने अपेक्षा गरेका थिए । तर, प्रशिक्षक लुइस डे ला फुएन्टाको रणनीतिले बलियो मानिएको फ्रान्सलाई पूर्णरूपमा नियन्त्रणमा राख्यो ।
ओयार्जाबाल र पोरोको गोलमा स्पेन विजयी भयो । त्यसैगरी यो प्रतियोगितामा धेरै व्यक्तिगत अवार्ड पनि स्पेनका खेलाडीले जितेका छन् । स्पनेले विपक्षीलाई खेलभर प्रभावहीन बनायो । सेमिफाइनलमा उसले क्लिन सिट राख्यो । फाइनलमा अर्जेन्टिनालाई पनि हराउँदै अर्को पटक क्लिन सिट राख्नुले विपक्षीमाथिको उसको नियन्त्रण नै उनीलाई अन्य टोलीभन्दा अलग बनाउने मुख्य विशेषता रह्याे ।
पोर्चुगल र फ्रान्सविरुद्धका खेलबाहेक पनि स्पेनले अधिकांश नकआउट खेलमा स्पष्ट वर्चस्व कायम गर्यो । टोलीले धैर्यपूर्वक बल नियन्त्रण गर्दै सही अवसरको प्रतीक्षा गर्ने स्पेनी फुटबलको मौलिक शैलीलाई सफलतापूर्वक प्रयोग गर्यो । निर्णायक मोडमा अवसरको सदुपयोग गर्ने क्षमता पनि स्पेनको सफलताको प्रमुख आधार बन्यो ।
कहिलेकाहीँ सही अवसरका लागि धैर्यपूर्वक प्रतीक्षा गर्नुपर्छ र फाइनलमा स्पेनले त्यहीँ गर्यो । अर्जेन्टिनाविरुद्धको फाइनल उसको सबैभन्दा कठिन परीक्षा थियो । सन् २०२२ को विश्वविजेता अर्जेन्टिनाले प्रभावकारी आक्रमण गर्न सकेन र खेलभर फाउलमार्फत स्पेनको लय बिगार्ने प्रयास गर्यो ।
यसपटक स्पेनले आफ्नो परम्परागत छोटो पासको शैलीसँगै आवश्यकताअनुसार प्रत्यक्ष आक्रमण पनि अपनायो, किनकि अर्जेन्टिना प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको स्पष्ट देखिन्थ्यो । उपाधि जित्न त उनीहरुको कौशल नै काफी रह्याे ।
किनभने लगातारका कडा ट्याकल र फाउलका बाबजुद स्पेनी खेलाडी संयमित रहे । स्पेनका लागि अब आफ्नो सफल खेलशैलीलाई निरन्तरता दिने, अर्को युरोपियन च्याम्पियनसिप जित्ने र सन् २०३० मा आफ्नो भूमिमा विश्वकप उपाधि रक्षा गर्ने लक्ष्य रहनेछ ।