विश्वकपको ब्रोन्ज फाइनल : फ्रान्स कि इङ्ल्यान्ड ?

श्रावण २, २०८३ |अभय बस्नेत
विश्वकपको ब्रोन्ज फाइनल : फ्रान्स कि इङ्ल्यान्ड ?

काठमाडौं । चार वर्षको प्रतीक्षा समापन हुन अब दुई खेल बाँकी छ । 

जसमध्ये तेस्रो स्थानका लागि आइतबार बिहान पौने ३ बजे फ्रान्स र इङ्ल्यान्ड भिड्दै छन् । यो खेललाई धेरैले केवल 'सान्त्वना पुरस्कार' मान्न सक्छन्, तर फुटबलको इतिहास, राष्ट्रिय प्रतिष्ठा र खेलाडीहरूको व्यक्तिगत कीर्तिमानका लागि नतिजा निकै अर्थपूर्ण रहनेछ । विश्वकप विशेषमा आज फ्रान्स र इङ्ल्यान्डको चर्चा ।

फ्रान्स र इङ्ल्यान्ड, विश्वकपको एउटा अनिच्छित भिडन्तका लागि तयार भएका छन् । यद्यपि, ब्रोन्ज फाइनल पनि भनिने यो तेस्रो स्थानको प्रतिस्पर्धा कुनै औपचारिकता मात्र भने होइन । यहाँ पनि बन्नसक्छन् कीर्तिमानहरू र लेखिनसक्छन् इतिहास ।

अवश्य पनि, मियामीको हार्ड रक स्टेडियममा हासिल हुने जितले दुवै टिमलाई सान्त्वना दिने नै छ । त्योभन्दा ठूलो उनीहरूले पाउने पुरस्कार राशि पनि यही खेलको जितले निर्धारण गर्नेछ । जित्नेले २९ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछ भने पराजित टोलीले २७ मिलियन ।

विशेषगरी फ्रान्स र इङ्ल्यान्ड भिडिरहँदा किलियन एम्बाप्पे, ह्यारी केन र जुड बेलिङ्घमलाई गोल्डेन बुटको दौडमा अगाडि बढ्न पनि यो खेलले मद्दत पुर्‍याउन सक्छ ।

कस्तो रहला त यो भिडन्त ?

आजको खेल निकै आक्रामक हुने अपेक्षा गरिएको छ । फ्रान्स यो प्रतियोगिताको सबैभन्दा खतरनाक आक्रमण भएको टोली हो । प्रशिक्षक डिडियर डेसच्याम्प्सले माइकल ओलिसे र रायन चर्की जस्ता खेलाडीहरूलाई इङ्ल्यान्डको रक्षापङ्क्तिविरुद्ध प्रयोग गर्न सक्छन् । 

यता इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेल भने चर्को आलोचनाको घेरामा छन्। अर्जेन्टिनाविरुद्ध अग्रता लिएपछि उनले अपनाएको अति रक्षात्मक रणनीतिका कारण हार बेहोर्नुपरेको जानकारहरूको तर्क छ । त्यसैले आज इङ्ल्यान्डले गुमेको साख फर्काउन आक्रामक फुटबल खेल्न सक्छ ।

आजको खेलको प्लेयर टू वाच स्वाभाविकरूपमा एमबाप्पे रहने छन् । ८ गोलका साथ लियोनेल मेस्सीसँगै गोल्डेन बुटको दौडमा रहेका एमबाप्पेले आज दुई गोल गरेमा उनी विश्वकप इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडीसमेत बन्न सक्छन् ।

त्यस्तै, फ्रान्सका माइकल ओलिसे पेलेको १९७० को ६ असिस्टको कीर्तिमान बराबरी गर्नबाट मात्र एक असिस्ट टाढा छन् । उता इङ्ल्यान्डका केन र बेलिङ्घम दुवैको समान ६-६ गोलसहित राम्रो फर्ममै छन् । फुटबलमा फ्रान्स र इङ्ल्यान्डबीचको प्रतिद्वन्द्विता निकै पुरानो हो । 

यी दुई हालसम्म ३२ पटक आमनेसामने भएका छन्, जसमा इङ्ल्यान्डले १७ पटक जितेको छ भने फ्रान्सले १० पटक । सबैभन्दा स्मरणीय भिडन्त युरो २००४ को हो । त्यतिबेला जिनेदिन जिदानले इन्जुरी समयमा दुई गोल गर्दै इङ्ल्यान्डको मुखैमा आएको जित खोसेका थिए ।

विश्वकपमा भने यी दुईको यो चौथो भेट हो । १९६६ र १९८२ मा इङ्ल्यान्डले जितेको थियो भने सन् २०२२ को क्वार्टरफाइनलमा फ्रान्सले २-१ ले हराउँदै बदला लिएको थियो । विश्वकपमा तेस्रो स्थानका लागि फ्रान्स चौथोपटक भिड्न लागेको हो । अवसर हो। जसमध्ये १९५८ र १९८६ मा जित्दा १९८२ मा हारेको थियो । 

यता इङ्ल्यान्ड तेस्रोपटक तेस्रो स्थानका लागि भिड्न लागेको हो । उसले अहिलेसम्म यो भिडन्त जितेको छैन । अर्थात् फ्रान्सलाई आफ्ना प्रशिक्षक डेसच्याम्प्सलाई जित उपहार दिएर १४ वर्षे कार्यकालबाट बिदाइ गर्ने अवसर छ ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।