सर ग्यारी सोबर्स : कीर्तिमानका स्रष्टा अब स्मृतिमा

श्रावण २, २०८३ |सुवास रोकाया
सर ग्यारी सोबर्स : कीर्तिमानका स्रष्टा अब स्मृतिमा

काठमाडौं । विश्व क्रिकेटमा अत्यन्तै उच्च सम्मानसाथ लिइने नाम हो- सर ग्यारी सोबर्स । 

यो नामले कैयौँ इतिहास त बनाएको छ नै, हरेक प्रतिभाशाली क्रिकेटरको भविष्यसमेत यही नामसँग जोडिन्छ । सोबर्सको नामबाटै क्रिकेटमा प्रत्येक वर्ष सर्वोत्कृष्ट पुरुष खेलाडीको पुरस्कार दिइने गरिन्छ । उनै सोबर्सले हिजो सदाका लागि संसार छोडे । २०औँ शताब्दिका ५ महान् अलराउन्डरमध्ये एक सोबर्सप्रति श्रद्धाञ्जली अर्पण गरिएको यो स्मृतिलेख ।

सर ग्यारफिल्ड सोबर्सलाई क्रिकेटरको रूपमा मात्र हेरियो भने अपूरो मात्र होइन, अन्याय नै हुन्छ । क्रिकेटमा सोबर्स उत्कृष्टताको एउटा मानक थिए । कीर्तिमानहरूका जन्मदाता थिए र थिए, बहुआयामिक प्रतिभाको सर्वोच्च पुरुष ।

१९३६ जुलाई २८ मा बार्बाडोसको ब्रिजटाउनमा जन्मिएका सोबर्सको बाल्यकाल सजिलो भने थिएन । उनी पाँच वर्षको हुँदा दोस्रो विश्वयुद्धमा बुवा मारिए । आमाले एक्लै ६ बच्चाहरूको पालनपोषण गरिन् । जन्मजात दुवै हातमा उनका एउटा- एउटा अतिरिक्त औँला थिए । जुन बाल्यकालमै हटाइयो पनि ।

१६ वर्षको उमेरमा सोबर्सले बार्बाडोसको लागि फर्स्ट क्लास क्रिकेटमा डेब्यू गरे । केन्सिङ्टन ओभलमा भारतीय टोलीविरुद्ध उनले स्पिन बलिङ गरे र चार विकेट लिए । मात्र १७ वर्षको उमेरमा वेस्ट इन्डिज टेस्ट टोलीमा स्थान बनाए । इङ्ल्यान्डविरुद्ध चार विकेट लिए । यो सुरुआती प्रदर्शनहरूले नै व्याख्या गरिरहेको सोबर्सको सफलतालाई ।

सोबर्सको सबैभन्दा शक्तिशाली पक्ष भनेकै उनको बहुआयामिकता थियो । प्राथमिकरूपमा बायाँहाते मध्यक्रमका आक्रामक ब्याटर भए पनि उनी लेफ्ट आर्म फास्ट मिडियम, अर्थोडक्स स्पिन र रिस्ट स्पिन गरी तीन प्रकारको बलिङ गर्न सक्षम थिए ।

सन् १९५८ मा पाकिस्तानविरुद्ध साबिना पार्कमा उनले ३६५ रनको अविजित इनिङ्स खेलेका थिए । जुन त्यतिबेलाको एकै इनिङ्समा बनेको सर्वाधिक योगफल थियो । यो रेकर्ड सन् १९९४ सम्म टिक्यो । १९९४ मा वेस्ट इन्डियन अर्का लेजेन्ड ब्रायन लाराले अविजित ४०० रन बनाउँदै तोडेका थिए ।

२१ वर्षको उमेरमै सोबर्सले त्यतिबेला प्राप्त गरेको उपलब्धिले उनलाई विश्व क्रिकेटको स्टार बनाएको थियो । त्यसपछि लगातार पाँच टेस्टमा शतक प्रहार गरेर उनी १९६० को दशकका सर्वश्रेष्ठ अलराउन्डर बनेका थिए । १९६५ मा २८ वर्षको उमेरमा सोबर्स वेस्ट इन्डिजका कप्तान बने । 

१९६६ मा इङ्ल्यान्डविरुद्ध ३-१ ले सिरिज जित्दा ७ सय २२ रन बनाउनुका साथै २० विकेट लिएका थिए । १९६८ अगस्ट ३१ मा काउन्टी क्लब ग्लामोर्गनविरुद्ध माल्कम नाशको बलिङमा उनले क्रिकेट इतिहासमै पहिलोपटक एक ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

वेस्ट इन्डिजका लागि सोबर्सले कुल ९३ टेस्टमा २६ शतक र ३० अर्धशतकसहित ८ हजार ३२ रन बनाउनुका साथै २ सय ३५ विकेट लिएका छन् । फर्स्ट क्लासमा उनको नाममा २८ हजार ३१४ रन र १ हजार ४३ विकेट छ ।

सोबर्सेले सन् १९७५ मा रानी एलिजाबेथ द्वितीयबाट नाइटहुड उपाधि प्राप्त गरेका थिए । यो बेलायतको सर्वोच्च नागरिक उपाधि हो । त्यसपछि उनी सर ग्यारी सोबर्सको नामले परिचित भए । योबाहेक बार्बाडोसको राष्ट्रिय नायक, अस्ट्रेलियाको अर्डर अफ अस्ट्रेलिया, आईसीसी हल अफ फेमलगायत थुप्रै उच्च तहको सम्मानबाट उनी सुशोभित भएका छन् ।

विश्वप्रसिद्ध म्यागेजिन विज्डेनले २०औँ शताब्दिका पाँच महान् क्रिकेटरमा उनलाई सर डन ब्राडम्यानपछि दोस्रो स्थान दिएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त, आईसीसी पुरुष वर्ष खेलाडीको वार्षिक पुरस्कार उनकै नामबाट प्रदान गरिन्छ ।

सोबर्सले ५ अप्रिल १९७४ मा ३८ वर्षको उमेरको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । ८९ वर्षको उमेरमा १७ जुलाई २०२६ मा उनले भौतिक संसारबाटै सन्नास लिए । यद्यपि हरेक क्रिकेटप्रेमीको हृदय र हरेक क्रिकेटरको सपनामा उनी सधैँ जीवित रहिरहनेछन् ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।