डीएनए नमुना संकलन : शव पहिचान गर्ने अन्तिम आशा

भाद्र १८, २०८३ |कान्तिपुर टीभी संवाददाता
डीएनए नमुना संकलन : शव पहिचान गर्ने अन्तिम आशा

चितवन । बाढीमा परी क्षतविक्षत भएका शव तत्काल पहिचान हुने अवस्था नरहेपछि व्यवस्थापनको चुनौती देखाउँदै चितवन प्रशासनले शवलाई जमिनमा व्यवस्थापन गरेको छ । ती शव पहिचानका लागि अहिले परिवारका सदस्यहरूको डीएनए नमुना संकलन भइरहेको छ । पीडित परिवारका लागि शव पहिचान गर्ने यो नै अन्तिम आशा बनेको छ ।

भैरहवाका अस्लाम अली केही दिनदेखि चितवनमा हुनुहुन्छ । भदौ १० गते रसुवामा आएको बाढीले बहिनी ज्वाइँ बेपत्ता भएपछि अर्को दिन नै अली चितवन आइपुग्नुभएको थियो । चितवन आउँदा केही पहिचान नभएपछि उहाँ काठमाडौंसम्म पुग्नुभयो । तर त्यहाँ पनि केही पत्ता नलागेपछि फेरि चितवन आएर खोजीमा लागि पर्नुभयो । एउटा शव पहिचान नजिक पुगेको थियो । शव पाउने आशमा उहाँ अरु प्रक्रियामा लाग्नुभयो । तर शव देवघाटस्थित जंगलमा जमिनमुनि प्रशासनले व्यवस्थापन गरिसकेको थाहा पाएपछि उहाँ प्रहरीबाट आश्वस्त हुन खोज्नुभयो ।

२८ वर्षका अब्दुल खान हाइड्रो पावरमा अपरेटरमा कार्यरत थिए । अहिले शव पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएपछि अलीले बेपत्ता ज्वाई खानका बुवालाई चितवन ल्याएर डिएनए परीक्षणका लागि नमुना संकलन गराए । तर डीएनएको रिपोर्ट कहिले आउने र कसरी शव पाउनेमा उनी अलमलमा छन् ।

भरतपुर-५ का सुन्दरबहादुर सिलवाल टिमुरे क्षेत्रबाट छोरा बेपत्ता भएपछि भरतपुरको शव पहिचान कक्षमा नियमितजसो पहिचानका लागि पुगिरहनुभयो । तर अरु ठाउँमा जान सक्नुभएन । अहिलेसम्म केही पत्ता लागेन । अब उहाँ सरकारकै आश र भरोशामा हुनुहुन्छ । डीएनए नमुना संकलन गराउन पुगेका सिलवाल यो परीक्षणबाट पनि छोरा पाउनेमा आशावादी भने देखिनुभएन ।

दाङकी आशा चौधरी बुधबार दिउँसो रसुवाबाट बेपत्ता भएका दाईको शव पहिचानका लागि चितवन आइपुग्नुभयो । । बाढी गएको अर्को दिन चितवन आउनुभएकी उहाँ पछि काठमाडौंसम्म पुग्नुभयो तर केही पत्तो लागेन । लाङटाङ हाइड्रो पावरमा इलेक्ट्रिकल इन्जिनिरका रुपमा काम गर्ने दाइलाई फेला पार्ने आशा बुवालाई साथमा लिएर आएकी आशाले डिएनए नमुना संकलन गराउनुभयो । सास नभेटे पनि लास पाउने आशमा आशा हुनुहुन्छ ।

रसुवा बाढीमा परि बेपत्ता भएका व्यक्तिहरुको पहिचानका लागि चितवनमा मंगलबार दिउासोबाट परिवारका सदस्यहरुको डिएनए नमुना संकलन जारी छ । जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहकार्यमा भरतपुर-१०, स्थित चितवन उद्योग संघको परिसरमा डिएनए नमुना संकलन गरिरहेको छ ।

मंगलबारदेखि जारी डिएनए नमुना संकलन कार्यमा ३३ वटा नमुना संकलन गरिएको छ । चितवनमा संकलन गरिएको नमुना विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तरगतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारको शाखा भैरहवामा बिहीबार पठाईदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.