
काठमाडौं । आइतबार न्यू जर्सीको मेटलाइफ स्टेडियम अब एउटा यस्तो ऐतिहासिक भिडन्तको साक्षी बन्दैछ, जसलाई धेरैले फुटबलको 'परफेक्ट फाइनल' मानेका छन् ।
एकातिर छ 'ला रोजा' अर्थात् स्पेन, जसले पूरै प्रतियोगिताभरि अभेद्य रक्षापङ्क्ति र नियन्त्रित फुटबलको नमुना पेस गर्दै केवल एक गोल मात्र खाएको छ । अर्कोतर्फ छन् डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, जसले हरेक पटक हारको मुखबाट उक्सिँदै 'रिजिलियन्स' वा लचिलोपनको नयाँ परिभाषा लेखेका छन् । तर, के यो यात्रा उनीहरूका लागि सहज थियो ?
केप भर्डेको त्यो अप्रत्याशित चुनौतीदेखि फुटबलका महाशक्तिहरूको पतनसम्म । विश्वकप २०२६ का ती निर्णायक मोडहरू के-के थिए जसले यी दुई टोलीलाई फाइनलको ढोकासम्म पुर्यायो ?
विश्वकपको फाइनलमा दुई टोली पुग्छन् । तर, त्यहाँसम्म पुग्न सयौं पास, दर्जनौं गोल र केही यस्ता क्षणहरू हुन्छन् जसले इतिहासको दिशा नै बदलिदिन्छ। उत्तर अमेरिकाको गर्मी, रङ्गशालाको कोलाहल र ४८ राष्ट्रको सपना । यी सबैलाई चिर्दै अन्ततः दुई फुटबलका महाशक्तिहरू आमनेसामने भएका छन् ।
एकातिर रक्षात्मक पर्खाल र नियन्त्रित फुटबलको नमुना बनेको 'ला रोजा' अर्थात् स्पेन, अर्कोतिर हारलाई जितमा बदल्ने र कम्ब्याक किंङ 'अल्बिसेलेस्टे' अर्थात् अर्जेन्टिना । २०२६ विश्वकप फाइनल केवल एउटा फाइनल खेल मात्र होइन, यो त्यो महाकथाको अन्तिम अध्याय हो जसले हामीलाई पटक-पटक स्तब्ध बनायो ।
प्रतियोगिताको सुरुवात नै कसैले नसोचेको मोडबाट भयो । समूह 'एच' मा जब विश्व फुटबलको नयाँ टोली केप भर्डे ले पूर्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोक्यो । यो खेल स्पेनका लागि एउटा ठूलो 'वेक-अप कल' थियो । अर्कोतर्फ, अर्जेन्टिनाले समूह 'जे' मा आफ्नो दबदबा कायम राख्दै शतप्रतिशत नतिजा निकाल्यो ।
तर, स्पेनको समूहमा उरुग्वे जस्तो बलियो टोली बाहिरिनु र केप भर्ड जस्तो सानो राष्ट्रले इतिहास रच्दै नकआउटमा पुग्नुले यो विश्वकप 'अन्डरडग'हरूको हुने संकेत गरिसकेको थियो । नकआउट चरणको सुरुवातमा केप भर्डे अर्जेन्टिनासँग ठोक्किन पुग्यो । मियामीको त्यो खेलमा केप भर्डले साविक विजेतालाई नमिठो झट्का दियो ।
खेल अतिरिक्त समयसम्म पुग्यो, जहाँ सिड्नी काब्रालको त्यो अविश्वसनीय गोलले अर्जेन्टिनालाई लगभग प्रतियोगिताबाट बाहिर पुर्याएको थियो । तर, क्रिस्टियन रोमेरोको निर्णायक हेडरले अर्जेन्टिनालाई ३-२ को संघर्षपूर्ण जित दिलाउँदै अर्को दुर्घटनाबाट बचायो ।
यही बेला स्पेनले अस्ट्रियालाई ३-० ले सहजै पन्छाउँदै आफ्नो लय समात्न थालिसकेको थियो । राउन्ड अफ १६ फुटबल इतिहासकै सबैभन्दा भावनात्मक क्षणमध्ये एक बन्यो । स्पेन र पोर्चुगलबीचको भिडन्तमा मिकेल मेरिनोले इन्जुरी समयमा गरेको गोलले क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रालाई सधैंका लागि पूर्णविराम लगाइदियो ।
अर्कोतर्फ, अर्जेन्टिना र इजिप्टबीचको खेलले अर्जेन्टिनका फ्यानको मुटुको धड्कन बढायो । ८० मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले अन्तिम केही मिनेटमा लियोनल मेस्सी र एन्जो फर्नान्डेजको गोलमार्फत ३-२ को 'मिराकल्स कम्ब्याक' गर्यो ।
क्वार्टरफाइनलमा स्पेनले बेल्जियमको 'गोल्डेन जेनेरेसन'को अन्त्य गरिदियो । मिकेल मेरिनो पुनः एकपटक स्पेनका लागि संकटमोचक बनेर उदाए र ८८औं मिनेटमा गोल गर्दै टोलीलाई सेमिफाइनलसम्म पुर्याए । अर्जेन्टिनाका लागि स्वीजरल्यान्डविरुद्धको खेल अर्को एउटा कठिन परीक्षा थियो ।
स्वीजरल्यान्डका ब्रिल एम्बोलोले रातो कार्ड खाएपछि १० खेलमा सीमित टोलीविरुद्ध अर्जेन्टिनाले अतिरिक्त समयमा जुलियन अल्भारेजको गोलको मद्दतले ३-१ को जित निकाल्यो । सेमिफाइनलमा दुई क्लासिक भिडन्त भए । डलासमा स्पेनले फ्रान्सको बलियो आक्रमणलाई पूर्णतः निस्तेज पारिदियो ।
१९ वर्षीय युवा स्टार लामिने यामलको कडा चुनौती र मिकेल ओयार्जाबलको पेनाल्टी गोलले स्पेनलाई २-० को प्रभावशाली जित दिलायो । अर्को सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्डबीचको पुरानो शत्रुता पुनः जाग्यो । एथोनी गोर्डनको गोलले इङ्गल्यान्डलाई अग्रता दिलाए पनि मेस्सीको दुई उत्कृष्ट 'असिस्ट' मा एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गर्दै इङ्गल्यान्डको ६० वर्ष पछिको सपना चकनाचुर पारिदिए ।
स्पेन यो विश्वकपको सबैभन्दा 'सिस्टम्याटिक' टोली हो । बलियो पोसेसन, अचूक पासिङ र अभेद्य रक्षापङ्क्ति उनीहरूको शक्ति हो । अर्कोतर्फ अर्जेन्टिना 'रिजिलियन्स' अर्थात् लचिलोपनको प्रतीक हो । उनीहरू जस्तो टोलीसँग खेल्छन् सो टोलीविरुद्ध उस्तै खेल पस्किन्छन् ।
फाइनलमा ३९ वर्षीय मेस्सी र १९ वर्षीय यामलबीचको यो भिडन्त फुटबलको दुई पुस्ताबीचको लडाइँ पनि हो । सयौं देशहरूले देखेको सपना अब केवल दुई टोलीमा आएर रोकिएको छ । फाइनलमा के अर्जेन्टिनाले आफ्नो उपाधि रक्षा गर्दै इतिहास दोहोर्याउनेछ ?
वा स्पेनले १६ वर्षपछि पुनः विश्व फुटबलमा आफ्नो साम्राज्य फर्काउँछ ?