
काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि बिग्रिएको लय सुधार्ने लक्ष्यका साथ चितवन राइनोज मैदानमा उत्रँदैछ ।
अघिल्लो सिजन सातौं स्थानमा रहँदै स्तब्ध बनेको चितवनले यस पटकको अक्सनमा रणनीतिक मुभहरू देखाएको छ । अक्सनपछि चितवनको टोली विगतको तुलनामा सन्तुलित र 'फिनिसिङ' विभागमा बलियो देखिएको छ, एनपीएल सिजन ३ का लागि चितवन राइनोज कस्तो छ त ?
नेपाल प्रिमियर लिगको तेस्रो सिजन नजिकिँदै गर्दा अघिल्लो सिजन सातौं स्थानमा थन्किएर स्तब्ध बनेको चितवन राइनोज यसपटक भने निकै आक्रामक रुपमा मैदानमा उत्रिएको छ । अक्सनमा चितवनले आफ्नो पुरानो टोलीको बलियो खम्बालाई निरन्तरता दिँदै सात महत्त्वपूर्ण खेलाडीलाई रिटेन गरेको छ ।
मार्की खेलाडी कुशल मल्लको नेतृत्वमा चितवनले देव खनाल, अर्जुन साउद, कमलसिंह ऐरी, रिजन ढकाल, रञ्जित कुमार र दीपक बोहरालाई टोलीमै सुरक्षित राखेको छ । यी सात खेलाडीको अनुभव र जोश चितवनको मुख्य आधारशिला हो ।
अक्सनमा चितवनको सबैभन्दा ठूलो र महँगो दाउ अलराउन्डर विवेक कुमार यादवमा रह्यो । इन्जुरीका कारण दोस्रो सिजन गुमाएका विवेकलाई भित्र्याउन चितवनले अधिकतम् १५ लाख रुपैयाँ खर्चियो र लक्की ड्रमार्फत उनलाई आफ्नो पोल्टामा पार्न सफल भयो ।
त्यस्तै, बलिङ विभागमा विविधता थप्न चितवनले ३ लाखमा लेग स्पिनर मौसम ढकाललाई अनुबन्ध गरेको छ । उनीहरूले अघिल्लो सिजनका गौतम केसी र विपिन रावललाई रिलिज गरेर पुनः न्यूनतम २-२ लाखको आधार मूल्यमै अक्सनबाट फिर्ता ल्याए । अमरसिंह रौतेला र विपिन आचार्य जस्ता खेलाडीलाई रिलिज गरेर चितवनले टोलीमा नयाँ र प्रभावशाली विकल्प खोजेको छ ।
चितवनको ब्याटिङ लाइन-अप यसपटक सन्तुलित देखिएको छ । ओपनिङमा अर्जुन साउदको आक्रामक शैलीसँगै विदेशी ब्याटरको तालमेल मिलाउने योजना राइनोजको छ । तेस्रो नम्बरमा देव खनालले एङ्करको भूमिका निभाउने छन्, जसले टोलीलाई ठूलो स्कोरतर्फ लैजान मद्दत गर्नेछन् ।
मध्यक्रममा कुशल मल्ल र विवेक यादवको उपस्थितिले चितवनलाई विस्फोटक फिनिसिङको ताकत दिएको छ । विशेषगरी विवेक यादव र कमलसिंह ऐरीको 'पावर हिटिङ' ले डेथ ओभरमा खेल आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्छ ।
बलिङतर्फ पनि चितवनले यसपटक कुनै सन्तुलित टोली पाएको छ । तीव्र गतिको बलिङमा रिजन ढकालको बायाँ हाते भेरिएसन र कमलसिंह ऐरीको अनुभव निकै घातक हुन सक्छ । स्पिन विभागमा कुशल मल्ल र रञ्जित कुमारको स्पिनलाई मौसम ढकालको लेग स्पिनले पूर्णता दिएको छ ।
विकेटकिपिङमा अर्जुन साउद पहिलो रोजाइका रूपमा रहँदा ब्याकअपका रूपमा विपिन रावल टोलीमा छन् । यति हुँदाहुँदै पनि चितवनले विदेशी खेलाडीको छनोटमा निकै ध्यान दिनुपर्ने देखिन्छ । अघिल्लो सिजनमा डेभिड मलान, रवि बोपारा र सोहिल तनवीर जस्ता पुराना स्टारमा बढी निर्भर हुँदा प्रदर्शनमा समस्या देखिएको थियो ।
त्यसैले यसपटक चितवनलाई सक्रिय विदेशी ब्याटर तथा तीव्र गतिका बलरको आवश्यकता छ । यदि विदेशी खेलाडीले घरेलु कोर ग्रुपलाई राम्रो साथ दिएमा चितवनको बेन्च स्ट्रेन्थ पनि बलियो देखिन्छ । चितवनको इतिहास हेर्ने हो भने पहिलो सिजनमा उनीहरू एलिमिनेटरसम्म पुगेका थिए । तर, दोस्रो सिजनमा लगातार पाँच हारले उनीहरूलाई पुछारबाट दोस्रो स्थानमा खुम्च्याइदियो ।
यसपटकको अक्सनले गत सिजनको ब्याटिङ कोल्याप्स र डेथ ओभरको कमजोरीलाई सुधार्ने प्रयास गरेको छ । रिटेन गरिएका सात खेलाडीले टोलीमा स्थिरता दिएका छन् भने अक्सनका नयाँ अनुहारले टोलीलाई प्रतिस्पर्धी बनाएका छन् ।
कुशल मल्लले ब्याटिङ र बलिङ दुवैमा नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको छ भने देव खनाल र अर्जुन साउदले घरेलु क्रिकेटको लयलाई यहाँ पनि निरन्तरता दिनुपर्नेछ । विवेक यादवको आगमनले टोलीमा देखिएको फिनिसरको अभाव पूरा भएको छ ।
यता मौसम ढकालले मध्य ओभरमा विकेट लिएर विपक्षीको रनको गति रोक्ने अपेक्षा छ । यद्यपि, प्रतियोगिता सुरु हुनुअघि विदेशी खेलाडीको छनोट र टोलीको तालमेललाई मैदानमा उतार्नु चितवनका लागि मुख्य चुनौती हुनेछ । कुशल मल्लको नेतृत्व र प्रशिक्षक कलम अलीको योजनाले चितवनलाई तेस्रो सिजनमा च्याम्पियन बनाउन सक्छ कि सक्दैन, त्यो हेर्न भने केही समय कुर्नै पर्ने छ ।