
काठमाडौं । फिफा विश्वकप २०२६ अब आफ्नो अन्तिम चरणमा प्रवेश गरेको छ।
क्वार्टरफाइनलका चारवटा रोमाञ्चक भिडन्त सकिएसँगै अब फुटबलको यो महाकुम्भमा मात्र चार टोली बाँकी छन्। साविक विजेता अर्जेन्टिना, इङ्गल्यान्ड, फ्रान्स र स्पेनबीच अब विश्वकपको ट्रफीका लागि प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
२०२६ विश्वकपमा क्वार्टरफाइनलको यात्रा निकै नै नाटकीय रह्यो। फ्रान्स र मोरक्कोबीचको खेलमा 'लेस ब्लुज' ले आफ्नो क्लिनिकल प्रदर्शन जारी राख्यो। केलियन एमबाप्पे र ओस्मान डेम्बेलेको गोलको मद्दतले फ्रान्सले मोरक्कोको रक्षा पङ्क्तिलाई तोड्दै २-० को जित निकाल्यो।
अघिल्लो विश्वकपको सेमिफाइनलिस्ट मोरक्कोले डटेर सामना गरे पनि फ्रान्सको तीव्र आक्रमणअघि उनीहरूको केही लागेन। अर्कोतर्फ, स्पेन र बेल्जियमबीचको खेल अन्तिम समयसम्म निकै प्रतिस्पर्धात्मक रह्यो। स्पेनले खेलको अधिकांश समय बलमाथि नियन्त्रण राखे पनि जितका लागि ८८औं मिनेटसम्म कुर्नुपरेको थियो।
मिकेल मेरिनो फेरि एकपटक स्पेनका लागि 'सुपर सब' सावित भए, जसले निर्णायक गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए र टोलीलाई २०१० पछि पहिलोपटक सेमिफाइनलमा पुर्याए। यता, इङ्गल्यान्ड र नर्वेबीचको भिडन्त भने महायुद्धजस्तै बन्यो।
नर्वेले सुरुवाती अग्रता लिए पनि इङ्गल्यान्डका युवा स्टार जुड बेलिङ्घमले आफ्नो जादुमयी प्रदर्शन देखाए। बेलिङ्घमले अतिरिक्त समयमा उत्कृष्ट गोल गर्दै इङ्गल्यान्डलाई २-१ को पुनरागमन जित दिलाए। स्ट्राइकर इर्लिङ हालान्डलाई इङ्गल्यान्डको रक्षापङ्क्तिले निकै कठिन समय दियो र अन्ततः उनी घाइते हुँदै मैदानबाट बाहिरिन बाध्य भए।
अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध संघर्षपूर्ण जित निकाल्यो। एलेक्सिस म्याक एलिस्टरले सुरुवाती गोल गरे पनि स्विट्जरल्यान्डले बराबरी गोल फर्काएर अर्जेन्टिनालाई दबाबमा राखेको थियो। तर, स्विस फरवार्ड ब्रिल एम्बोलोले रातो कार्ड पाएपछि अर्जेन्टिनालाई सजिलो भयो।
अतिरिक्त समयमा जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ३-१ को जित दिलाएर सेमिफाइनलको टिकट पक्का गरे। यसपटकको क्वार्टरफाइनललाई के कुराले विशेष बनायो भने, फिफा वरियताको इतिहासमै पहिलोपटक शीर्ष चारमा रहेका सबै टोलीहरू सेमिफाइनलमा पुग्न सफल भएका छन्।
जुड बेलिङ्घम र लामिन यामलजस्ता युवा खेलाडीहरूले आफ्नो टोलीको जिम्मेवारी सम्हालेको देखियो भने लियोनेल मेस्सी र केलियन एमबाप्पे जस्ता दिग्गजहरूले अझै पनि आफू विश्व फुटबलको शिखरमा रहेको प्रमाणित गरिदिए। अब पालो सेमिफाइनलको हो, जहाँ दुईवटा ब्लकबस्टरू भिडन्तहरू तय भएका छन्।
पहिलो सेमिफाइनलमा युरोपेली पावरहाउसहरू फ्रान्स र स्पेन भिड्नेछन्। एकातिर फ्रान्सको काउन्टर- अट्याक र एमबाप्पेको गति छ भने अर्कोतिर स्पेनको 'टिकी-टाका' र बल नियन्त्रण गर्ने शैली। यी दुई टोलीबीचको खेललाई 'फाइनल अघिको फाइनल'को रूपमा हेरिएको छ।
दोस्रो सेमिफाइनलमा फुटबल इतिहासकै सबैभन्दा ठूलो प्रतिद्वन्द्वी इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुनेछन्। यो केवल एक खेल मात्र होइन, यो ऐतिहासिक बदलाको लडाइँ पनि हो। मेस्सीको अर्जेन्टिना आफ्नो उपाधि रक्षा गर्न चाहन्छ भने इङ्गल्यान्ड १९६६ पछिको आफ्नो पहिलो विश्वकप ट्रफीको खोजीमा छ।
यो खेलमा मेस्सीको अनुभव र बेलिङ्घमको जोश बीचको रोचक भिडन्त हेर्न लायक हुनेछ। यी चार दिग्गज टोलीमध्ये जुलाई १९ मा हुने फाइनलको यात्रा कसले तय गर्लान् त ?