विश्वकपमा सम्झनलायक पुनरागमनहरु

असार २५, २०८३ |अभय बस्नेत
विश्वकपमा सम्झनलायक पुनरागमनहरु

काठमाडौं । जारी विश्वकप अन्तरगत मंगलबारको अर्जेन्टिनाविरुद्ध ईजिप्टको खेलमा ७९ औं मिनेटबाट मेस्सीको टोलीले जुन किसिमको पुनरागमन गर्यो त्यो ऐतिहासिक रह्यो । इजिप्ट २–०ले अघि थियो र अर्जेन्टिनी फ्यानहरुले लगभग हार स्वीकारिसकेका थिए । त्यस्तो अवस्थामा १३ मिनेटमा ३ गोल गर्दै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । तर विश्वकप इतिहासमा यो नै पहिलो पुनरागमन होइन । यस्ता कयौं खेल छन् जसले विश्वकप इतिहास च्याम्पियनहरूको नामले मात्र होइन, ती सम्झनलायक पुनरागमनहरूका कारण पनि जीवित छ भनेर प्रमाणित गरेको छ ।

विश्वकप र सम्झनलायक पुनरागमनको यात्रा सुरु हुन्छ सन् १९५४ को फाइनलबाट, जसलाई 'मिरकल अफ बर्न' पनि भन्ने गरिन्छ । ३१ खेलसम्म अपराजित रहेको र त्यसबेला विश्वकै शक्तिशाली मानिएको हंगेरीले पश्चिम जर्मनीविरुद्ध खेलको ८ मिनेटमै २-० को अग्रता लिएको थियो। तर म्याक्स मर्लोक र हेलमुट राहनले खेललाई बराबरीमा ल्याए र खेल सकिन ६ मिनेट बाँकी छँदा राहनले नै निर्णायक गोल गर्दै पश्चिम जर्मनीलाई पहिलो पटक विश्वविजेता बनाए।

त्यसै वर्ष अर्को एक अविश्वसनीय खेल भयो — अस्ट्रियाविरुद्ध स्विट्जरल्याण्ड । क्वार्टर - फाइनलको यस खेलमा आयोजक स्विट्जरल्याण्डले १९ मिनेटभित्र ३-० को अग्रता लियो। तर ४० डिग्रीको तातो गर्मीमा भएको 'हिट ब्याटल अफ लुसान' मा अस्ट्रियाले ९ मिनेटमा ५ गोल फर्काएर ३-० को डेफिसीट लाई ५-३ को अग्रतामा बदल्यो। अन्ततः १२ गोल भएको यस खेल अस्ट्रियाले ७-५ ले जित्यो, जुन आज पनि विश्वकप इतिहासकै सबैभन्दा बढी गोल भएको खेल हो।

सन् १९६६ मा विश्वले अर्को एउटा चकित पार्ने रोचक पुनरागमन देख्यो। क्वार्टर-फाइनलमा पोर्चुगलविरुद्ध उत्तर कोरियाले २५ मिनेटमै ३-० को अग्रता लिएको थियो। तर त्यसपछि मैदानमा 'ब्ल्याक प्यान्थर' उपनामले चिनिने युसेबियोको जादु चल्यो। उनले एक्लै चार गोल गर्दै पोर्चुगललाई ५-३ को जित दिलाए।

पुनरागमनको यो सिलसिला सन् १९७० मा पनि जारी रह्यो। क्वार्टर-फाइनलमा साविक विजेता इंग्ल्याण्डले पश्चिम जर्मनीविरुद्ध २-० को अग्रता बनाएको थियो। तर अन्त्यमा जर्मनीले ३-२ को जित निकाल्दै सन् १९६६ को फाइनलको बदला लियो।

सन् १९८२ को सेमि-फाइनल, जसलाई 'नाईट अफ सेभियत ' भनिन्छ, विश्वकप फुटबलमा अर्को एउटा क्लासिक हो। एक्स्ट्रा टाइममा फ्रान्स ३-१ ले अघि थियो। तर घाइते कार्ल-हाइन्ज रुमेनिगे मैदान छिरेपछि जर्मनीले खेल ३-३ मा पुर्‍यायो र विश्वकप इतिहासकै पहिलो पेनाल्टी सुटआउटमार्फत फाइनलमा स्थान सुरक्षित गर्‍यो।

फुटबल विश्वकपको मोर्डन एरामा आईपुग्दा, सन् २०१८ को बेल्जियम र जापान खेललाई बिर्सन सकिँदैन। दोस्रो हाफको सुरुमै २-० ले पछि परेको बेल्जियमले ट्याक्टिकल परिवर्तन गर्दै फेलाइनी र च्याडलीलाई मैदान प्रवेश गरायो। खेलको ९४ औं मिनेटमा जापानको कर्नरबाट सुरु भएको तीव्र काउन्टर अट्याकलाई नासेर च्याडलीले गोलमा बदल्दै विश्वलाई स्तब्ध पारिदिए। विश्वकपमा सन् २०२२ को फाइनल पुनरागमनको यस्तो कथा थियो जुन लगभग सफल हुन लागेको थियो । अर्जेन्टिना ८० मिनेटसम्म २-० ले अघि थियो, तर केलियन एम्बाप्पेले ९७ सेकेन्डभित्र दुई गोल गर्दै खेल उल्ट्याइदिए। एक्स्ट्रा टाइममा पनि दुवैले गोल गरे र खेल पेनाल्टीमा पुग्यो, जहाँ लियोनेल मेसीको अर्जेन्टिनाले अन्त्यमा बाजी मार्‍यो।

विश्वकपमा पुनरागमनको इतिहास हेर्दा पुस्तान्तरसँगै धेरै कुरा बदलिएका छन्। विगतका पुनरागमन शारीरिक क्षमता र वातावरणीय परिस्थितिमा बढी निर्भर थिए। तर आज ट्याक्टिकल अनुशासन, फिटनेस, र भिएआर जस्ता प्रविधिले खेललाई थप प्रतिस्पर्धी बनाएका छन्।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।