
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको अक्सन सकिसक्दा फ्रेन्चाइज टिमहरु आवस्यकताअनुसार विदेशी खेलाडी हस्ताक्षर गर्न र ट्यालेन्ट हन्टमार्फत प्रतिभा स्काउटीमा केन्द्रित छन् ।
यसै सन्दर्भमा हामीले अक्सनपछि कुन टिम कस्तो बन्यो र विदेशी खेलाडी हस्ताक्षर गर्दा फ्रेन्चाइज टिमले के कुरामा ध्यान दिनुपर्छ भनेर टिमहरुको स्वदेशी स्क्वाडका बलियो र कमजोर पक्षहरु विश्लेषण गरेका छौं ।
आज चर्चा गरौं डिफेन्डिङ च्याप्पियन लुम्बिनी लायन्सको ।
तेस्रो संस्करणका लागि भएको नेपाल प्रिमियर लिग एनपीएलको अक्सनमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स सबैभन्दा भाग्यमानी सावित भयो । चितवन राइनोजबाहेकका अन्य ७ टोलीले राष्ट्रिय टोलीका भरपर्दा ओपनर तथा विकेटकिपर ब्याटर आसिफ शेखका लागि अधिकतम २० लाखको बोली लगाउँदा लक्कि ड्र मार्फत लुम्बिनीमा भित्रिए ।
नेपालको ओडीआई र टी-२० आई टिमका नियमित ओपनर र विकेट किपर टिममा सामेल हुँदा लुम्बिनीले सिजन भर यी दुई भूमिकाका लागि कुनै चिन्ता गर्नु पर्ने देखिँदैन । मार्की तथा कप्तान रोहित पौडेल टोलीको मेरुदण्ड हुन् । शीर्षक्रमका ब्याटिङ अलराउन्डर रोहितले टिमलाई नेतृत्व र स्थिरता प्रदान गर्नेछन् ।
सन्दीप जोरा मध्यक्रममा आक्रामक भूमिका निर्वाह गर्न सक्षम छन् भने शेर मल्लको अफब्रेक र तिलक भण्डारीको लेगब्रेकले स्पिन आक्रमणलाई विविधता दिनेछ । दिलीप नाथले ओपनिङ र विकेटकिपिङमा विकल्प थप्ने छन् । गत सिजनको फाइनलका हिरो दिनेश अधिकारीले फास्ट बलिङसंगै आक्रमक क्याटिङ गर्न सक्छन् ।
अभिषेक गौतमले पनि ब्याटिङमा गहिराइ थप्ने अपेक्षा छ । १० लाख रुपैयाँमा भित्रिएका किशोर महतो दायाँ हाते मिडियम फास्ट बलरको भूमिकामा हुनेछन् । लुम्बिनीले पहिले रिलिज गरेको दुर्गेश गुप्तालाई ५ लाखमा पुनः अनुबन्ध गर्यो । उनले टिममा बायाा हाते मिडियम फास्टबलरको विकल्प दिने छन् ।
५ लाख रुपैयाँमा टिममा सामेल आकाश त्रिपाठी लोअर मिडिल अर्डरमा ब्याटिङ गर्न सक्षम छन् । समान २-२ लाखमा लुम्बिनीमा सामेल अजय चौहान र अरनिको यादवले स्पिन विभागलाई सन्तुलन दिने छन् । अरनिको एक उपयोगी अलराउन्डरको रूपमा पनि योगदान दिन सक्षम छन् ।
लुम्बिनीको सबैभन्दा बलियो पक्ष उसको ब्याटिङ गहिराइ हो । शीर्षक्रमदेखि मध्यक्रमसम्म अनुभवी र राष्ट्रिय टिमका नियमित सदस्यहरुको उपस्थिति देखिन्छ । विकेटकिपिङमा पनि दोहोरो विकल्प हुनु टोलीका लागि सकारात्मक पक्ष हो । स्पिन विभागमा विविधता छ । तर आसिफ, रोहित र दिलप आक्रमक भन्दा पनि इनिङ बिल्ड गर्ने खेलाडी हुन् ।
सन्दीपले केही आक्रमक ब्याटिङ गर्न सक्छन् । विदेशी खेलाडी हस्ताक्षर गर्दा उसले ओपनर अथवा तेस्रो नम्बरको आक्रमक ब्याटर भित्राउनु पर्नेछ । फास्ट बोलिङ र स्पिन विभागमा विविधता देखिए पनि अनुभवको अभाव स्पस्ट देखिन्छ । उसले एक अनुभवी फास्ट बोलर र एक पावर-हिटर फास्ट बलिङ अलराउन्डरलाई प्राथमिकता दिनु पर्ने देखिन्छ ।
साथै स्पिन अलराउन्डर थप्न सके टिम थप मजबुद बन्नेछ । अक्सनमा सबैभन्दा धेरै कुल ४४ लाख रुपैयाँ खर्च गरिसकेको लुम्बिनीको पर्समा अब मात्र ५ लाख २५ हजार रुपैयाँ बाँकी छ । उपाधि रक्षा अभियानमा रहेको लुम्बिनीले आफ्नो बाँकी रणनीतिक स्थानहरू सही खेलाडीमार्फत भर्न सफल भए पक्कै पनि इतिहास दोहोरिन सक्छ ।