
काठमाडौं । विश्वकपको समूह चरणको म्याच डे थ्रीमा फ्रान्स र नर्वेको खेल हेर्न प्रायः दर्शक आतुर थिए ।
नहोऊन् पनि किन, त्यो भिडन्त किलियन एम्बाप्पे र अर्लिङ हालान्डबीचको जो थियो । तर, विश्व फुटबलका दुई सुपरस्टारको भिडन्त हेर्ने दर्शकको धोको अधुरै रह्यो । आज राति भने दर्शकको तिर्खा अलिकति भए पनि मेटिने भएको छ- कारण राउन्ड अफ १६ मा आज ब्राजिल र नर्वे भिड्दै गर्दा यहाँ पनि दुई सुपरस्टार भिनिसियस जुनियर र उनै हालान्ड आमनेसमने हुँदै छन् ।
ब्राजिल र नर्वेबीचको भिडन्तलाई केवल एक नकआउट म्याचको रूपमा हेरियो भने अन्याय नै हुन्छ । किनकि यो भिडन्त दुई उदाउँदा सुपरस्टार ब्राजिलका भिनिसियस जुनियर र नर्वेका अर्लिङ हालान्डबीचको पनि हो ।
भिनिसियसले यो विश्वकपमा ४ गोल र १ असिस्ट गरिसकेका छन् । उता हालान्ड ५ गोलका साथ गोल्डेन बुटको दौडमा छन् । भिनिसियस आफ्नो गति, ड्रिब्लिङ र सिर्जनशीलताका लागि चिनिन्छन् । हालान्ड एउटा यस्तो 'मेसिन' हुन् जसको सटीक प्रहार र 'लो-टच' क्षमताले उनलाई उत्कृष्ट स्ट्राइकर त बनाएको छ नै उनका लागि खेलको नतिजा बदल्न केवल एक मौका नै पर्याप्त हुन्छ ।
अन्तर्राष्ट्रिय फुटबलमा यी दुईको यो पहिलो भिडन्त पनि हो । क्लब फुटबलमा भने चारपटक प्रतिस्पर्धा गरिसकेका छन् । म्यानचेस्टर सिटीका हालान्ड र रियल मड्रिडका भिनिसियस जुनियर च्याम्पियन्स लिगमै पनि आमनेसामने भएका छन् ।
मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीको रणनीतिमा ब्राजिलका लागि यो विश्वकप हालसम्म मिश्रित तर आशालाग्दो नै छ । समूह 'सी' मा मोरक्कोसँगको बराबरी गरे पनि हाइटी र स्कटल्यान्डलाई समान ३-० गोलले हराउँदै ७ अंकका साथ ब्राजिल समूह विजेता बनेको थियो ।
अन्तिम ३२ मा भने जापानविरुद्ध कडै संघर्ष गर्नुपर्यो । एक गोलले पछि परेको अवस्थामा क्यासेमिरो र गेब्रियल मार्टिनेलीको गोलले ब्राजिललाई २-१ को नाटकीय पुनरागमन जित दिलायो । मिडफिल्डमा ब्रुनो गुइमारेस र आक्रमणमा भिनिसियस जुनियरको गति नर्वेविरुद्ध ब्राजिलको मुख्य हतियार हो ।
यता, २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वे यस प्रतियोगिताको सबैभन्दा ठूलो 'सरप्राइज' टोलीको रूपमा उदाएको छ । अन्तिम ३२ मा आइभरी कोस्टलाई २-१ ले हराउँदै पहिलोपटक विश्वकपको नकआउट जित दर्ता गरेको नर्वेले तीव्र काउन्टर-अट्याकिङ फुटबल खेलिरहेको छ ।
प्रशिक्षक स्टाले सोल्बाकेनको टोलीमा हालान्ड यस्तो हतियार बनेका छन् जो मैदानमा ओर्लिनासाथ टोलीहरू दबाबमा परिहाल्छन् । ट्याक्टिकल रूपमा हेर्दा, ब्राजिलले बल आफ्नो नियन्त्रणमा राखेर आक्रमण गर्ने प्रयास गर्नेछ भने नर्वेले काउन्टर-अट्याकमा हालान्डलाई बल पुर्याउने रणनीति अपनाउनेछ ।
मिडफिल्डमा ब्राजिलका गुइमारेस र नर्वेका कप्तान मार्टिन ओडेगार्डबीचको लडाइँ रोमाञ्चक हुने अपेक्षा छ । एन्सेलोटीले हालान्डलाई रोक्न कुनै विशेष योजना नभएको र आफ्ना डिफेन्डर गेब्रियल र मार्किन्होसप्रति पूर्ण विश्वास रहेको बताएका छन् ।
अर्कोतर्फ, सोल्बाकेनले भिनिसियसलाई निरीह बनाउन रोक्न आफ्ना डिफेन्डरहरूलाई म्यान मार्किङको निर्देशन दिने बताएका छन् । अन्तिम १६ को यो खेल जित्ने टोलीले क्वार्टरफाइनलमा इङ्ल्यान्ड वा मेक्सिकोबीचको विजेतासँग सामना गर्नेछ ।
अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिलले नर्वेलाई हालसम्म हराउन नसकेको तथ्यले यो खेललाई झनै रोचक बनाएको छ ।