२३ वर्षे महायात्राको अन्त्य : विश्वकप ट्रफी अधुरै तर फुटबलको इतिहास बदलेर बिदा भए रोनाल्डो

असार २३, २०८३ |अभय बस्नेत
२३ वर्षे महायात्राको अन्त्य : विश्वकप ट्रफी अधुरै तर फुटबलको इतिहास बदलेर बिदा भए रोनाल्डो

काठमाडौं । विश्वकप फुटबल २०२६ को अन्तिम १६ को खेलमा स्पेनसँग १-० ले पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ । तर, यो हार केवल एउटा टोलीको बहिर्गमन मात्र होइन, विश्व फुटबलका महानायक क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्राको अन्तिम बिदाइ पनि रह्यो । 

४१ वर्षको उमेरमा आफ्नो छैटौं विश्वकप खेलिरहेका रोनाल्डोले विश्वकपबाट बिदा लिएका छन् । सन् २००३ मा १८ वर्षको उमेरबाट सुरु भएको उनको २३ वर्षे अन्तर्राष्ट्रिय यात्राले पोर्चुगललाई कसरी फुटबलको महाशक्ति बनायो र उनले मैदानमा कस्ता कीर्तिमान छाडेर गए त ?

स्पेनविरुद्धको अन्तिम १६ को खेलमा ९१औं मिनेटमा मिकेल मेरिनोले गरेको प्रहारले पोर्चुगलको विश्वकप यात्रा मात्र टुंग्याएन, फुटबल जगतका सर्वकालीन महान खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप सपना पनि अधुरै राखिदियो । ४१ वर्षमा आफ्नो छैटौं विश्वकप खेलिरहेका रोनाल्डोले यसअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने पुष्टि गरिसकेका थिए । 

खेलको अन्त्यसँगै मैदानबाट बाहिरिँदा उनका आँखामा आँसु थियो, तर त्यो भन्दा ठूलो मनमा एउटा सन्तुष्टि पनि थियो, उनले आफ्नो देशका लागि सबै थोक दिए । रोनाल्डोभन्दा अगाडिको पोर्चुगिज फुटबललाई फर्केर हेर्ने हो भने, यो टोलीमा प्रतिभाको कमी कहिल्यै थिएन । तर, सफलताको भोक भने सँधै थियो । 

सन् १९६६ को विश्वकपमा युसेबियोको नेतृत्वमा पोर्चुगलले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । ठूला प्रतियोगितामा छनोट हुनु नै पोर्चुगलका लागि ठूलो उपलब्धि मानिने त्यो समयमा एउटा यस्तो नामको उदय भयो, जसले पोर्चुगिज फुटबलको परिभाषा नै बदलेको थियो । 

सन् २००३ मा १८ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यू गर्दा रोनाल्डो केवल एउटा आशा लाग्दा युवा खेलाडी मात्र थिए । तर, सन् २००४ मा आफ्नै देशमा आयोजित युरो कपमा उनले जुन प्रदर्शन गरे, त्यसले उनी पोर्चुगलका नयाँ आइकन बन्ने निश्चित गर्‍यो ।

रोनाल्डोको विश्वकप यात्रा कुनै महाकाव्यभन्दा कम रहेन । सन् २००६ मा युवा सुपरस्टारका रूपमा उनले पोर्चुगललाई सेमिफाइनलसम्म पुर्‍याउन मद्दत गरे । २०१० मा कप्तानको जिम्मेवारी सम्हाल्दै उनले टोलीको नेतृत्व गरे । २०१४ को समुह चरणबाटको बहिर्गमन र २०१८ मा स्पेनविरुद्ध उनले गरेको त्यो अविस्मरणीय ह्याट्रिक, जसलाई विश्वकप इतिहासकै उत्कृष्ट प्रदर्शनमध्ये एक मानिन्छ ।

२०२२ मा मोरक्कोसँग पराजित भएर क्वार्टरफाइनलबाट बाहिरिँदा प्राय: फुटबल समर्थकलाई अब पोर्चुगलको लागि रोनाल्डोको यो अन्तिम विश्वकप नै हो भन्ने स्वीकारीसकेका थिए । तर, अन्ततः २०२६ मा, ४१ वर्षको उमेरमा उनले आफ्नो छैटौं विश्वकप खेल्दै इतिहास रचे । 

विश्वकपका ६ फरक संस्करणमा गोल गर्ने उनी विश्वकै पहिलो र एकमात्र खेलाडी बनेका छन् । तथ्यांकले रोनाल्डोको महानतालाई अझ प्रस्ट पार्छ । पोर्चुगलका लागि २ सय ३३ खेल खेल्दै १ सय ४६ गोल गरेका रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता हुन् । 

उनले युसेबियोको ९ विश्वकप गोलको कीर्तिमान समेत तोडेर पोर्चुगलका लागि विश्वकपमा ११ गोल पुर्‍याएका छन् । फ्रान्सका किलियन एम्बापे, भिनिसियस जुनियर, ब्रुनो फ्रनान्डेझ र जाओ फेलिक्स जस्ता विश्वस्तरीय खेलाडीको नयाँ पुस्ता रोनाल्डोलाई हेरेरै हुर्किएका हुन् ।

तर, रोनाल्डोको प्रभाव गोल र रेकर्डमा मात्र सीमित छैन । उनले पोर्चुगिज फुटबललाई विश्वफुटबल जगतले हेर्ने तरिका नै परिवर्तन गरिदिए । रोनाल्डोकै कार्यकालमा पोर्चुगलले आफ्नो इतिहासका ठूला सफलता हात पार्‍यो । सन् २०१६ को युरो कपको उपाधि पोर्चुगिज फुटबल इतिहासको सबैभन्दा गौरवमय क्षण थियो । 

त्यसपछि २०१९ को पहिलो युइएफए नेसन्स लिग र भर्खरै सन् २०२५ मा स्पेनलाई हराएर जितेको दोस्रो नेसन्स लिगको उपाधिले रोनाल्डोको युगलाई अझ गौरवशाली बनायो । रोनाल्डो स्वयंले पनि २०१६ को युरो उपाधिलाई विश्वकप बराबरकै सम्मान दिने गरेका छन् ।

यति हुँदाहुँदै पनि विश्वकपको सुनौलो ट्रफी उचाल्ने उनको सपना भने अधुरै रह्यो । तर, यो असफलताले रोनाल्डोको विरासतमा कुनै आँच पुर्‍याउँदैन । उनी एउटा यस्तो आइकन हुन् जसले फुटबललाई केवल खेल मात्र रहेन, एउटा भावना बनाइदिए ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।