फिफा विश्वकप : क्वार्टरफाइनलमा को बन्ला नायक, को हुनेछ बिदा ?

असार २४, २०८३ |विनयज्योति सापकोटा
फिफा विश्वकप : क्वार्टरफाइनलमा को बन्ला नायक, को हुनेछ बिदा ?

काठमाडौं । एर्लिङ हालान्ड, ह्यारी केन, किलियन एम्बाप्पे, लियोनेल मेस्सी, लामिन यामाल । 

जारी फिफा विश्वकपमा क्वार्टरफाइनल समीकरण पूरा भएसँगै यी स्टार खेलाडीको आफ्नो महत्वलाई ऐतिहासिक बनाउने घडीमा आइपुगेका छन् । क्वार्टरफाइनलमा पुगेका आठ टोलीबीच रहेका यी स्टार खेलाडीको वास्तविक प्रतिस्पर्धा अब देखिने छ । 

कुन खेलाडीले विश्वकपमा आफ्नो उपस्थितिलाई ट्रफीसम्म पुर्याउँछन् होला त ? क्वार्टरफाइनलसम्म पुगेका अर्जेन्टिना, बेल्जियम, इङ्ल्यान्ड, फ्रान्स, मोरक्को, नर्वे, स्पेन र स्विट्जरल्यान्डले विश्वकप ट्रफी उचाल्ने सपना बोकेका छन् । कसैका लागि यो पहिलो पटक र ऐतिहासिक हुनेछ ।

बिहीबार राति सुरु हुने क्वार्टरफाइनलमा विश्वकपका आइकोनिक खेलहरु हुँदैछन् । सन् २०१८ को विश्वविजेता फ्रान्सले लगातार दोस्रो पटक क्वार्टरफाइनलमा पुगेको अफ्रिकी देश मोरोक्कोको सामना गर्दै छ । राति पौने १ बजे हुने खेलमा एम्बाप्पे नायक हुनेछन् । 

२७ वर्षिय स्टार फरवार्डले फ्रान्सका लागि अहिलेसम्म एक सय ३ खेलमा ६३ गोल गरेका छन् । उनी देशका सर्वाधिक गोलकर्ता त हुन् नै । यदि फाइनलसम्म पुगे, उनी इतिहासकै उत्कृष्ट खेलाडीको सूचीमा उक्लिनेछन् । जारी विश्वकपमा उनले सात गोल गरिसकेका छन् । 

विश्वकपमा उनको गोल संख्या १९ पुगेको छ । तर, सबैको नजर एम्बाप्पेमा रहँदा बार्कोला, ओउसमान डेम्बेले र माइकल ओलिले पनि प्लेयर्स टू वाच रहनेछन् । अर्कोतर्फ, मोरक्कोले सन् २०२२ मा इतिहास रच्दै विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको थियो । 

अब उनीहरूको लक्ष्य फाइनलको यात्रा तय गर्नु हो । मोरक्कोले राउन्ड अफ ३२ मा नेदरल्यान्ड्स र राउन्ड अफ १६ मा क्यानडालाई हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो । दुवै खेलमा एटलस लायन्सले डोमिनेटिङ प्रदर्शन गरेको थियो । अब मोरक्कोको सामना पुनः फ्रान्ससँग हुँदा सन् २०२२ को सेमिफाइनलको पुरानो भेट दोहोरिनेछ । 

फ्रान्सविरुद्ध मोरक्को ‘अन्डरडग’ का रूपमा उत्रिए पनि उसँग आफ्नो पक्षमा परीणाम निकाल्ने क्षमता पर्याप्त छ । अबको खेलमा पोजेसन फुटबल खेल्ने स्पेनले बेल्जियमको सामना गर्नेछ । दुवै टोलीसँगै अनुभवी, व्यावसायिक खेलाडीको लामो लिस्ट छ । 

स्पेनसँग उत्कृष्ट मिडफिल्डरको समूह छ भने बेल्जियमसँग मिडफिल्डका बादशाह केभिन डिब्रुएना छन् । स्पेनले यो विश्वकपका पाँच खेल गोलरहित खेलेको छ । त्यसैले जारी विश्वकपमा स्पेनको सबैभन्दा बलियो पक्ष डिफेन्स बनेको छ । लेफ्ट ब्याक मार्क कुकुरेला, सेन्टर ब्याक आयमेरिक लापोर्टे र पाउ कुबार्सी, राइट ब्याक पेद्रो पोरो तथा गोलकिपर उनाइ सिमोनले नकआउट चरणका सबै एक सय ८० मिनेट सँगै खेलेका छन्, र यो रक्षापंक्तिलाई तोड्नै नसकिने देखिएको छ । 

सिमोनले त विश्वकपमा लगातार ६ सय ९ मिनेटसम्म गोल नखाइ नयाँ कीर्तिमान कायम गरेका छन्, जुन अहिलेसम्मकै सबैभन्दा लामो समय हो । तर, यो टिमसामु ३३ वर्षका रोमेलु लुकाकुलाई गोल गर्नबाट राक्नु ठूलो चुनौती बन्नेछ । ३५ वर्षका केभिन डे ब्रुइना सटीक पास दिन सक्षम छन् । 

अन्ततः बेल्जियमले पछिल्ला दुई खेलमा न्यूजिल्यान्ड र संयुक्त राज्य अमेरिकाविरुद्ध नौ गोल गरेको छ । ३४ वर्षका थिबाउट कोट्वा अझैसम्म विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक छन् । र, ३१ वर्षका विङ्गर लियान्द्रो ट्रोसार्ड प्रतियोगिताकै उत्कृष्ट प्लेमेकरमध्ये एक मानिन्छन् । 

बेल्जियम नयाँ स्वरूपको टोली भए पनि यसको पहिचान अझै अनुभवी खेलाडीसँग जोडिएको छ । अनि, एउटा गजबको टिम स्पिरिट भएको टोलीका फरवार्ड । मान्छे, भाइकिङ, दानव–तपाईं उनलाई जे नाम दिनुहोस्, तर उनी यस पृथ्वीको सबैभन्दा प्रभावशाली स्ट्राइकर हुन् । 

एर्लिङ हालान्डजत्तिकै नजिक पुग्ने खेलाडी कोही छ भने त्यो क्वार्टरफाइनलमा उनको विपक्षमा उत्रिने ह्यारी केन मात्र हुन सक्छन् । इंग्ल्यान्ड र नर्वेबीच आइतबार बिहान पौने २ बजे हुने खेल भने दुई वा दुई स्ट्राइकरको प्रतिस्पर्धाका रुपमा हुनेछ । यी दुवै खेलाडीबीच कसले धेरै गोल गर्ने भन्ने प्रतिस्पर्धा हुनेछ । 

म्यानचेस्टर सिटीमा हालान्डकै सहकर्मी मार्क गुएही, गत सिजन प्रिमियर लिगमा उनलाई गोलरहित राख्ने एज्री कोन्सा र गोलकिपर जोर्डन पिकफोर्डसामु हालान्डलाई रोक्ने चुनौती हुनेछ । तर, उनलाई रोक्न इंग्ल्यान्डको टिमको सामूहिक प्रयासले मात्रै सम्भव छ । 

पछिल्ला केही विश्वकपको क्वार्टरफाइनल र सेमिफाइनलमा झुलिरहेको इङ्ल्यान्ड फेरि एकपटक यस्तै अवस्थामा पुगेको छ– प्रतिभाशाली टिम, राम्रो लय, र जित्नुपर्ने क्वार्टरफाइनल । सन् १९९६ पछि टोली फाइनलमा पुगेको छैन । सन् १९६६ मा जितेको त्यही एक उपाधि मात्रै हो । 

उसले कुनै ठूलो प्रतियोगितामा उपाधि जितेको पनि त्यही अन्तिम पटक हो । यसपटक फरक गर्ने आशामा छन् प्रशिक्षक थोमस टुखेल । विश्वकपको अन्तिम क्वार्टरफाइनलमा भिड्दैछन् विश्वकपका सर्वाधिक गोलकर्ता लियोनेल मेस्सीको टोली अर्जेन्टिना र स्विट्जरल्यान्ड । 

मेस्सी प्रतियोगिताका सर्वाधिक गोल र असिस्ट गर्ने खेलाडी हुन् । दुई पटक ‘गोल्डेन बल’ जितिसकेका छन् उनको टिमले सन् २०२२ मा किलियन एम्बाप्पे र फ्रान्सलाई पराजित गर्दै इतिहासकै उत्कृष्ट फाइनल खेलपछि उपाधि चुमेका थिए । अब उनी दोस्रो र करियरको अन्तिम विश्वकप उपाधिको महत्वकांक्षामा छन् । 

यता, आधुनिक फुटबलमा ठूलो शक्ति नभए पनि स्विट्जरल्यान्डले तीन पटक क्वार्टरफाइनल खेलेको छ । तर, ऊ हरेक पटक अन्तिम ८ बाट अघि बढ्न सकेकै छैन । यसपटक डार्क हर्षलाई हराउँदै उसले राउन्ड अफ सिक्स्टन त पार गरेको छ । 


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।