
काठमाडौं । जारी फिफा विश्वकपमा हरेक खेल केही न केही ऐतिहासिक क्षणको साक्षी बनिरहेका छन् ।
मंगलबार राति हुने अर्जेन्टिना र इजिप्टबीचको खेल पनि यस्तै छ । अझ भनौं यो खेल विश्व फुटबलको महशक्ति र उदाउँदो अफ्रिकी शक्तिको प्रतिस्पर्धा पनि हो । त्यसैले यो खेल ऐतिहासिक र प्रतिस्पर्धात्मक उत्तिकै छ ।
यो फिफा विश्वकप लियोनेल मेस्सी र मोहम्मद सलाहका लागि सायद अन्तिम हुनेछ । यी दुवै खेलाडी आ-आफ्नो देशका लागि सबैभन्दा महान् फुटबलरमा पर्छन् । र, फिफा विश्वकपमा पहिलो पटक आमने सामने हुँदैछन् । तर, मंगलबार राति पौने १० बजे हुने खेलमा यीमध्ये एक खेलाडीले विश्वकपबाट बाहिरिनु पर्नेछ । र, अर्का एक महान् खेलाडीको फिश्वकप यात्रामा पूर्णविराम लाग्न सक्छ ।
केप भर्डेविरुद्धको कठिन जितसँगै अर्जेन्टिना सबै प्रतियोगिता गरी लगातार आठौं जितको यात्रामा छ । यो अवधिका प्रत्येक खेलमा उसले कम्तीमा दुई गोल गरेको छ भने उत्तर अमेरिकामा जारी विश्वकपमा मात्रै चार खेलबाट ११ गोल गरिसकेको छ ।
केप भर्डेविरुद्धको खेलअघि अर्जेन्टिनालाई विश्वकपको स्पष्ट दाबेदार मानिएको थियो । तर, ब्लु सार्क्सविरुद्ध निकालेको संघर्षपूर्ण जितले अर्जेन्टिनाले अन्तिम १६ मा मंगलबार राति हुने खेलमा उसलाई थप सतर्क रहन बाध्य पार्नेछ किनभने केप भर्डेले अर्जेन्टिनाको पोस्टतर्फ गरेको १६ प्रहारले यसै भन्छ ।
तर, अतिरक्त समयमा अर्जेन्टिना भाग्याशाली बन्दै आएको छ । विश्वकप इतिहासमा अतिरिक्त समयमा पुगेका १२ खेलमध्ये अर्जेन्टिनाले १० खेल जितेको रेकर्ड छ । अर्जेन्टिनाले इजिप्टलाई हराउन सके क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड वा कोलम्बियासँग भेट हुनेछ ।
विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनाले पछिल्ला नौमध्ये सात खेल जितेको छ । उता, इजिप्टले भने ९२ वर्षपछि पहिलो पटक विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो । सन् १९३४ मा विश्वकपमा सहभागी हुँदा १६ टोली मात्र रहेकाले इजिप्टले सीधै नकआउट चरण खेलेको थियो । तर, यसपटक भने समूह चरण पार गर्दै नकआउटमा पुगेर अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा हराउँदै नयाँ इतिहास बनाएको हो ।
मोहम्मद सलाहले पेनाल्टी सुटआउटमा गोल गरेका थिए भने अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङटनले पेनाल्टी गुमाएका थिए । यद्यपि इजिप्टको रक्षापंक्ति भने चिन्ताको विषय बनेको छ । टोलीले लगातार छ खेलमा गोल खाएको छ । यसअघि लगातार तीन खेल क्लिनसिट राखेको इजिप्ट पछिल्ला खेलमा भने रक्षात्मक रूपमा कमजोर देखिएको छ ।
यी दुई टोलीबीच यसअघि २००८ मा एक मैत्रीपूर्ण खेलका दौरान भेट भएको थियो । सो खेलमा अर्जेन्टिना २-० ले विजयी भएको थियो । त्यस खेलमा सर्जियो अगुएरो र निकोलस बुर्डिसोले गोल गरेका थिए भने मांसपेशीको चोटका कारण लियोनेल मेस्सी मैदानबाहिर थिए ।
नाहुएल मोलिना, एन्जो फर्नान्डेज र फाकुन्डो मेडिनाले पूर्ण प्रशिक्षण गर्न सकेका छैनन् । मेडिनालाई भने सामान्य क्र्याम्प भएको बताइएको छ । विंगर निको गोन्जालेज भने एंकलको चोटका कारण शंकास्पद अवस्थामा छन् । मेस्सीले केप भर्डेविरुद्ध गोल गर्दै दुई फरक विश्वकप संस्करणमा सात-सात गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।
साथै विश्वकप नकआउट चरणमा सर्वाधिक १२ गोलमा प्रत्यक्ष योगदान गर्ने नयाँ कीर्तिमान पनि उनको नाममा बनेको छ । यो कीर्तिमान अहिले फ्रान्सका किलियन एम्बाप्पेले सेयर गरिसकका छन् । इजिप्टतर्फ पनि केही खेलाडीको फिटनेसमा समस्या छ ।
लेफ्ट ब्याक करिम हाफेज अस्ट्रेलियाविरुद्धको खेलमा चोटका कारण बाहिरिएका थिए । तर, उनले प्रशिक्षणमा सहभागिता जनाइसकेका छन् । अर्का लेफ्ट ब्याक अहमद फतौह भने खुट्टाको चोटका कारण खेल्ने सम्भावना न्यून छ । सेन्टर ब्याक मोहम्मद अब्देलमोनेम पनि एंकलको चोटबाट पूर्णरूपमा निको नभएकाले उनको सहभागिता अन्तिम समयमा मात्रै टुंगो लाग्नेछ ।
यद्यपि पँहेलो कार्डका कारण अघिल्लो खेल गुमाएका अनुभवी मिडफिल्डर मोहानद लाशिन भने टोलीमा फर्किनेछन् ।