
काठमाडौं । कतार विश्वकपको च्याम्पियन अर्जेन्टिनाको साेमबार म्याच डे टु । अर्थात् समूह चरणको दोस्रो खेल ।
यो खेल अर्जेन्टिनाले निकै सजगतापूर्वक खेल्नेछ । किनकि, साेमबार जिते सीधै नकआउट । तर, अर्जेन्टिनालाई रोक्न उत्तिकै लयमा रहेको अस्ट्रिया तयार देखिन्छ । आफ्नो पहिलो खेलमा जित हात पारेका यी दुवै टोलीले साेमबार कस्तो खेल्लान् त ?
विश्वकप २०२६ मा ह्याट्रिक गर्ने पहिलो खेलाडी लियोनल मेस्सी साेमबार अर्जेन्टिनाका लागि पुनः मैदान उत्रँदै छन् । २०२२ विश्वकपमा पहिलो खेलमा हार बेहोर्दै बाँकी सबै खेल जितेर विश्व च्याम्पियन बनेको दक्षिण अमेरीकी टोली यसपटक शतप्रतिशत रेकर्डसहित आफ्नो जर्सीमा चौथो तारा थप्ने दाउमा छ ।
समूह ‘जे’ मा अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले हरायो भने अस्ट्रियाले जोर्डनलाई ३-१ ले । जसकारण साेमबार यी दुईमध्ये जसले जित्छ, उसले एक खेल बाँकी छँदै नकआउटमा आफ्नो स्थान पक्का गर्नेछ ।
मेस्सीका लागि व्यक्तिगत रूपमा पनि यो खेल महत्त्वपूर्ण रहनसक्छ । अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै विश्वकपमा १६ गोल पुर्याएका मेस्सीले साेमबार केवल एक गोल गरेमा विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नेछन् ।
अस्ट्रियाका प्रशिक्षक राल्फ राङनिकले अर्जेन्टिनाको कुनै पनि कमजोरी नभएको स्वीकार गरेका छन् । राङनिकको 'गेगेनप्रेसिङ' शैली र अर्जेन्टिनाको सन्तुलित आक्रमणबीचको भिडन्त हेर्न लायक हुने अपेक्षा छ ।
२०२२ विश्वकपमा उत्कृष्ट युवा खेलाडीको पुरस्कार पाएका एन्जो फर्नान्डेज साेमबार अर्जेन्टिनाका लागि निर्णायक बन्न सक्छन् । सेन्ट्रल मिडफिल्ड भए पनि २५ वर्षे इन्जो रक्षात्मक र आक्रामक मिडफिल्डको भूमिका निर्वाह गर्नसक्ने खुबी राख्छन् ।
यता अष्ट्रियाका अनुभवी डिफेन्डर डेभिड आलाबा रक्षापंक्तिका मेरुदण्ड हुन् । मेस्सीको आक्रमणलाई कप्तान अलाबाको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुनेछ । चोटको कुरा गर्दा, अर्जेन्टिनाका डिफेन्डर गोन्जालो मोन्टिएल घाइते छन् ।
उनको ठाउँमा नाहुएल मोलिना मैदानमा उत्रने सम्भावना छ । यता अस्ट्रियाका स्टेफान पोसको उपस्थितिको अझै निश्चित छैन । अर्जेन्टिनाको मिडफिल्डमा एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र रोड्रिगो डी पलको जोडीले मेस्सीसँग फर्वार्ड लाइनमा कम्बाइन गर्नेछन् ।
यी दुई टोलीबीच अहिलेसम्म कुनै पनि आधिकारिक फिफा प्रतियोगितामा भेट भएको छैन । सन् १९८० मा भएको एउटा मैत्रीपूर्ण खेलमा डिएगो म्याराडोनाको ह्याट्रिकको मद्दतले अर्जेन्टिना ५-१ ले विजयी भएको थियो । अब विश्वकपकमा मेस्सी पनि म्याराडोनाकै पाइला पछ्याउने दाउमा हुनेछन् ।
२८ वर्षपछि विश्वकपमा फर्किएको अस्ट्रियाले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्यो । तर, के उनीहरूले यस विश्वकपमा उत्कृष्ट लयमा रहेको अर्जेन्टिनालाई रोक्न सक्लान् ? यो खेल नेपाली समयअनुसार साेमबार राति १० : ४५ मा सुरु हुनेछ । तपाईँको विचारमा स्कोर कति होला ? खेल सुरु हुनुअघि नै प्रेडिक्ट गर्नु है ।