समय बदलियो, प्रतिद्वन्द्वी बदलिए तर मेस्सीको जादु बदलिएन

असार ९, २०८३ |अभय बस्नेत
समय बदलियो, प्रतिद्वन्द्वी बदलिए तर मेस्सीको जादु बदलिएन

काठमाडौं । युएफा च्याम्पियन्स लिग र रोनाल्डो एक अर्काका पुरक भए झैं हिजोको खेलपछि फुटबलको मोर्डन एरामा लियो मेस्सी र विश्वकप फुटबल एक अर्काका पुरक भएका छन् भन्दा फरक नपर्ला । 

विश्वकप २०२६ मा आफ्नो दोस्रो खेलमा लगातार दुई ह्याट्रिक गर्नबाट मेसी केवल एक गोल टाडा थिए । त्यो पनि अष्ट्रियाविरुद्धको खेलमा पेनाल्टी मिस नभएको भए पूरा हुने । अस्ट्रियाविरुद्धको खेलमा दुई गोल प्रहार गर्दै अर्जेन्टिनी कप्तान लियोनल मेस्सी फिफा विश्वकप इतिहासकै 'अल-टाइम लिडिङ गोलकर्ता' बनेका छन् । 

कुल १८ गोलका साथ उनले जर्मनीका मिरोस्लाभ क्लोज र ब्राजिलकी मार्टाको कीर्तिमानलाई पछि पार्दै आफूलाई एक्लो शिखरमा उभ्याएका छन् । मेस्सीको यो ऐतिहासिक उचाइको जग सन् १९८७ जुन २४ मा अर्जेन्टिनाको रोसारियोमा खडा भएको थियो । 

मध्यमवर्गीय परिवारमा जन्मिएका लियोलाई फुटबलप्रति सानैदेखि तीव्र लगाव थियो । तर, १० वर्षको उमेरमा उनको जीवनमा एउटा ठूलो अवरोध आइपर्छ 'ग्रोथ हर्मोन डेफिसेन्सी' । उनको शरीर बढ्न रोकियो । परिवारले उपचारको खर्च धान्न सकेन र परिवार आर्थिक संकटमा पर्यो । तर, यस्तो कठिन मोडमा पनि उनले फुटबललाई आफ्नो सहारा बनाउन छाडेनन् ।

सात वर्षको उमेरमा मेस्सीले रोसारियोको स्थानीय क्लब न्युवेल्स ओल्ड ब्वाइजमा फुटबल यात्रा सुरु गरे । त्यहाँ उनले सन् १९९४ देखि १९९९ सम्म १ सय ७६ खेलमा २ सय ३४ गोल गरे । सानो कदका भए पनि उनी प्रशिक्षक र स्काउटहरूको नजरमा आइसकेका थिए । 

उनको टोलीलाई 'द मेसिन अफ ८७' भनिन्थ्यो, जसलाई हराउन असम्भव जस्तै थियो । विस्तारै मेस्सीको प्रतिभाले एट्लान्टिक महासागर पार गर्यो । बार्सिलोनाका निर्देशक कार्लेस रेक्साचले १३ वर्षीय लियोको खेल देख्नेबित्तिकै उनलाई अनुबन्ध गर्ने निर्णय गरे । 

हतारमा कुनै कागज नभेटिएपछि एउटा नेपकिनमै पहिलो सम्झौता लेखिएको इतिहास छ । बार्सिलोनाले मेस्सीको उपचार खर्च बेहोर्ने जिम्मा लियो र उनी ला मासिया एकेडेमीमा भर्ना भए । त्यहाँबाट सुरु भयो उनको आधुनिक फुटबलको सर्वकालीन महान खेलाडी बन्ने यात्रा । 

बार्सिलोनाको सिनियर टोलीमा सन् २००४ मा १७ वर्षको उमेरमा डेब्यू गरेपछि मेस्सीले पछाडि फर्केर हेर्नु परेन । १७ सिजनमा उनले क्लबका लागि ७ सय ७८ खेल खेल्दै ६ सय ७२ गोल र ३ सय ५ असिस्ट गरे । यस क्रममा उनले १० ला लिगा र ४ च्याम्पियन्स लिगसहित ३५ ट्रफी जिते । 

उनी बार्सिलोनाका मात्र नभइ, विश्व फुटबलकै एक अपरिहार्य नक्षत्र बने । तर, राष्ट्रिय जर्सीमा मेस्सीको यात्रा भने सधैँ सुखद रहेन । सन् २००५ मा डेब्यू खेलमै दुई मिनेटमै रेड कार्ड पाएपछि सुरु भएको उनको उतारचढाव लामो समयसम्म चल्यो । सन् २०१४ को विश्वकप र २०१५, २०१६ को कोपा अमेरिका फाइनलमा बेहोर्नु परेको हारले उनलाई निकै विचलित बनायो । 

आलोचना सहन नसकेर उनले २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणासमेत गरे । रष्ट्रिय टोलीमा आफूलाई प्रमाणित गर्ने हुटहुटी र समर्थकको आग्रहले उनलाई पुनः मैदान फर्कायो । पछिल्ला केही वर्ष मेस्सीका लागि 'रिडेम्पसन' को समय रह्यो । 

सन् २०२१ मा ब्राजिललाई उसकै मैदानमा हराउँदै कोपा अमेरिकाको उपाधि जितेपछि मेस्सीको २८ वर्ष लामो ट्रफी खडेरी अन्त्य भयो । अब कुरा गरौं मेस्सीको विश्वकप यात्राको । जर्मनी २००६ विश्वकपमा सर्बिया र मोन्टेनेग्रोविरुद्ध डेब्यू गर्दै गोल र असिस्ट गर्दै उनले आफ्नो विश्वकप यात्रा सुरु गरे । 

२०१० दक्षिण अफ्रिका विश्वकपमा भने म्याराडोनाको प्रशिक्षणमा खेले पनि गोल गर्न भने असफल रहे । अनि आउँछ, ब्राजिल २०१४ को विश्वकप । सो विश्वकपमा ४ गोल र १ असिस्टसहित टोलीलाई फाइनलसम्म पुर्‍याए पनि उपाधि हात पर्न सकेनन् । 

आफ्नो चौथो विश्वकप मेस्सीको लागि सबैभन्दा बढी बिर्सन लायक रह्यो । २०१८ रूस विश्वकपमा राउन्ड अफ १६ बाटै बाहिरिएको मेस्सीको टोलीको सबैभन्दा ठूलो सफलता चार वर्षपछि आउँदै थियो । त्यो थियो कतार विश्वकप २०२२ । मेस्सीको करियरको सबैभन्दा ठूलो सफलत कतारको भूमिमै रह्यो । 

७ गोल र ३ असिस्टसहित अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वविजेता बनाएका मेस्सीले २०२२ मा विश्वकपको दोस्रो गोल्डेन बल जितेर इतिहास रचे । उत्तर अमेरीकामा ३८ वर्षको उमेरमा छैटौं विश्वकप खेल्दै मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रिक र अस्ट्रियाविरुद्ध दुई गोल गर्दै विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । 

आज मेस्सी फिफा विश्वकपमा १८ गोलका साथ पुरुष र महिला दुवै विधामा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले जर्मनीका मिरोस्लाभ क्लोजको १६ र ब्राजिलकी मार्टाको १७ गोलको आँकडालाई उछिनेका छन् । २८ विश्वकप खेल खेल्दै मेस्सीले सबैभन्दा धेरै खेल र सबैभन्दा धेरै मिनेट मैदानमा बिताउने कीर्तिमान पनि आफ्नो नाममा गरेका छन् ।

रोसारियोको एक बिरामी बालकदेखि विश्व फुटबलको शिखरसम्म पुगेको मेस्सीको यो कथा करोडौं मानिसका लागि प्रेरणाको स्रोत पनि हो । मेस्सीको यो कीर्तिमान भोलि कसैले तोड्ला या नतोड्ला, त्यसको जवाफ त समयले दिने नै छ । तर, उनले मैदानमा छोडेको लेगेसी र जादु भने फुटबल रहुन्जेल अमर रहनेछ । 

"कीर्तिमानहरू त बन्छन् र तोडिन्छन्, तर मेस्सीजस्तो फुटबलको जादुगर सायदै फेरि विश्व फुटबलले देख्न पाउला ।"


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।