विश्वकपको रहस्यमय स्टार : पल दि अक्टोपस

असार ६, २०८३ |सुरेन्द्र कट्टेल
विश्वकपको रहस्यमय स्टार : पल दि अक्टोपस

काठमाडौं । विश्वकप फुटबल भन्नासाथ तपाईंलाई के याद आउँछ ? 

कसैलाई मेस्सी, कसैलाई रोनाल्डो अनि कसैलाई शाकिराको वाका वाका गीत पनि याद आउला । यी त रेडिमेड जवाफ जस्तै भई गए नि ! विश्वकप भन्नासाथ मलाई याद आउने नाम हो- पल, दि अक्टोपस ।

सम्झिनुहुन्छ, सन् २०१० को विश्वकप फाइनलमा स्पेन कि नेदरल्यान्ड्स भन्ने ठूलो बहसका बीच पलले स्पेन रोजेको ? विश्वकप चलिरहेको बेला आज पलको कुरा गरौँ है त !

जर्मनीको एक सी लाइफ सेन्टरमा पललाई उसका रेखदेखकर्ताले जर्मनीको अन्तर्राष्ट्रिय म्याचहरूको पूर्वानुमान गर्न लगाउँथे । उनीहरू खाना भरिएको दुईवटा बक्सामा प्रतिस्पर्धा गरिरहेका देशका झन्डा राख्थे । र, जतापट्टिको खाना पलले रोज्थ्यो, विजेता उही हुने पूर्वानुमान गरिन्थ्यो ।

सन् २००८ को युरो कपका बेला जर्मनीका ६ मध्ये ४ खेलमा पलले यसैगरी जसलाई रोज्यो, विजेता उही भयो । २०१० को विश्वकपमा त जर्मनीले खेलेका सबै सात खेलमै पलले गरेको भविष्यवाणी सही साबित भयो । रोचक कुरा त, २०१० को फाइनल खेलअघि यसैगरी पलले स्पेनलाई रोजेको थियो ।

सुरुमा धेरै मानिसहरूले यसलाई सामान्य मनोरञ्जनका रूपमा हेरे । तर, खेलहरू अगाडि बढ्दै जाँदा पलका छनोटहरू लगातार सही साबित हुन थाले । आश्चर्यको कुरा त, उसले जर्मनीको अप्रत्याशित हारसमेत सही रूपमा संकेत गर्थ्यो । कुल १४ मध्ये पलले १२ खेलमा ठीक भविष्यवाणी गरेको छ । यो भनेको ८५.७ प्रतिशतको सफलता दर हो ।

पल एक समय विश्वव्यापी चर्चाको केन्द्रसमेत बन्यो । उसका समाचारहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रमुख शीर्षक बने । उसका तस्बिर भएका सामग्रीहरू बिक्री हुन थाले । केही मानिसहरूले उसलाई भाग्यशाली माने भने केहीले उसलाई रहस्यमय पात्रका रूपमा हेरे ।

तर, के पलसँग साँच्चै भविष्य देख्ने कुनै विशेष शक्ति थियो ? वैज्ञानिकहरूको उत्तर स्पष्ट छ– थिएन । वैज्ञानिकहरूका अनुसार उसको छनोट पूर्ण रूपमा संयोग, वातावरणीय प्रभाव, गन्ध, बाकसको स्थान वा अन्य सामान्य कारणले प्रभावित भएको हुन सक्छ । 

कुनै पनि वैज्ञानिक अनुसन्धानले उसमा भविष्य देख्ने क्षमता रहेको प्रमाणित गरेको छैन । तर, लगातार सही नतिजा मिलेकाले उसको कथा झन् रोचक र रहस्यमय बन्यो । अहिले विश्वकपको माहोल छ । यो माहोलमा फेरि पल दि अक्टोपसको चर्चा सुनिन थालेको छ । 

हुन त पल अहिले यो संसारमा छैन । सन् २०१० को अक्टाेबर २६ मै उसको मृत्यु भइसकेको छ । तर, कथाहरूमा अनि विश्वकपका लिगेसीहरूमा पल अझै जीवित छ ।

जसरी पेले, म्याराडोना, जिदान, मेस्सीहरूले उपाधि जितेर विश्वकपमा इतिहास बनाए, त्यसैगरी पलले मनोरञ्जनकै रूपमा सही भविष्यवाणी गरेर आफ्नो इतिहास दर्ज गरेको छ ।


Image

सुरेन्द्र कट्टेल

सुरेन्द्र कट्टेल कान्तिपुर टेलिभिजनका न्युज एंकर हुन् ।