
काठमाडौं । मेस्सी, रोनाल्डो, हालान्ड, यमाल अनि एम्बाप्पे । विश्वकपमा यी स्टार प्लेयरहरूको कम्तीमा एक-एक खेल त हेरिसकियो नै । तर, चोटका कारण त बिग्रँदो फर्मका कारण यसपालि धेरै स्टार प्लेयर विश्वकपमा छुटेका छन् ।
विश्वमञ्चमा गुमाएको अवसरपछि कोही बिदामा छन् त कोही ब्रान्ड प्रोमोसनतिर लागेका छन् । आउनुस् चर्चा गरौँ विश्वकप गुमाएका केही स्टार खेलाडीबारे ।
को कहाँ के गर्दै छन् त ?
सबै सही हुन्थ्यो त, ह्यारी मग्वायर अहिले इङ्ल्यान्डको विश्वकप स्क्वाडमा हुने थिए । तर, सबै सही भएन । प्रशिक्षक थोमस टुखेलले उनलाई टिममै राखेनन् । मग्वायर अहिले उत्तर अमेरिकामा त छन् तर इङ्लिस टोलीसँग होइन । केही दिनअघि सामाजिक सञ्जालमा ठूलै हल्लाखल्ला भएको एक भिडियोमा त उनी न्युयोर्कमा विश्वकपको स्टिकर बेच्दै गरेको देखिन्छन् ।
मग्वायरजस्तै विश्वकपमा छुटेका अरू ग्लोबल स्टार को कहाँ के गर्दै छन् त ?
इङ्ल्यान्डका फिल फोडेन, कोल पाल्मर, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डका साथै फ्रान्सका एडुवर्डो कामाभिङ्गा विश्वकप खेल्ने टिममा परेनन् । फिल फोडेन त अहिले लामो गर्मी बिदा मनाइरहेका छन् । टिममा नपरे पनि फोडेन इङ्ल्यान्डले विश्वकप जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
यता कोल पामर पनि बिदा मनाउन मेडिटेरियन क्षेत्र पुगेका छन् । हालै उनी प्रसिद्ध ओ बीच क्लबका मालिक वेन लाइनकरसँग इबिजामा आराम गर्दै गरेको अवस्थामा देखिएका थिए । मिडिया रिपोर्टका अनुसार ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड मड्रिडमै बसेर आराम, व्यक्तिगत प्रशिक्षण र नयाँ सिजनको तयारी गरिरहेका छन् ।
फ्रान्सका एडुवर्डो कामाभिङ्गाले भने हार्भर्ड विजनेस स्कुल पढिरहेको पोस्ट सार्वजनिक गरेका छन् । उनले केही दिनको सिकाइ, सुनाइ र विकासको अनुभव भन्दै हार्भर्डमा पाएको अवसरका लागि कृतज्ञ रहेको बताएका छन् ।
पीएसजीका स्टार विङ्गर खिभिचा काभ्रास्ताखेलिया भने अहिले बिदा मनाउन जर्जियामा छन् । उनले सामाजिक सञ्जालमा त्यहाँको हिपहप र्याप ब्याटलको कार्यक्रममा उपस्थित हुने जानकारी दिएका छन् ।
विश्वकपमा पोल्यान्ड छनोट नभएपछि स्टार बार्सा प्लेयर रोवर्ट लेवान्डोस्की अहिले परिवारसँग समय बिताइरहेका छन् । उनी श्रीमती अन्ना लेवान्डोस्कीसँग जिम सेसन र फेसन सोमा देखिएका छन् । उनी ब्रान्ड प्रोमोसनमा पनि व्यस्त देखिन्छन् ।
इटाली विश्वकपमा छनोट नभएपछि आक्रोशित बनेका डोनारुम्मा अहिले के गर्दै छन् भन्ने सार्वजनिक गरेका छैनन् । यता स्पेनका प्रशिक्षक डि ला फुएन्ताले टिममा राख्न नचाहेका डिफेन्डर ड्यानी कार्भाजल भने दुबईतिर डुलिरहेका छन् ।
विश्वकपमा 'मिस’ भएका अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला परिवार र साथीभाइसँग बिदा मनाइरहेको देखिन्छन् । उनले गल्फ खेलेको र परिवारसँगको तस्बिर सार्वजनिक गरेका छन् । अर्जेन्टिनाकै युवा स्टार मास्तोन्तुअनुले भने आफ्नो गतिविधि सार्वजनिक गरेका छैनन् ।
विश्वकप गुमाउने अन्य स्टार खेलाडीहरूमा जाभी साइमन्स, रोड्रिगो, एडर मिलिटाओ, ह्युगो इकिटिके र सर्ज गन्याब्री जस्ता ग्लोबल स्टार पनि छन् । उनीहरू भने चोटको उपचारमा छन् । एसिएल इन्ज्युरीको उपचार गराइरहेका साइमन्स भने नेदरल्यान्ड्स र जापानको खेल हेर्न रंगशाला पुगेका थिए ।
एसिलएलकै उपचारपछि रिह्याबमा रहेका ब्राजिलका रोड्रिगो सिनियर फुटबलरसँगै ब्रान्ड प्रोमोसनमा व्यस्त छन् । यता, मिलिटाओ बायाँ बाइसेपको उपचार गराइरहेका छन् भने इकिटिके र गन्याब्री खुट्टाको चोटको उपचारमा छन् ।