ताला लागेको विद्यालयमा फेरि घण्टी बज्यो

असार ९, २०८३ |केदार शिवाकोटी
ताला लागेको विद्यालयमा फेरि घण्टी बज्यो

दोलखा । गाउँका विद्यालय विद्यार्थी अभावमा बन्द हुने क्रम बढ्दो छ । 

सरकारले पनि विद्यार्थी कम भएका विद्यालय गाभ्ने र बन्द गर्ने नीति लिएको छ । तर, दोलखाको दुर्गम गाउँ आलम्पूमा भने दुई वर्षदेखि ताला लागेको विद्यालय यो शैक्षिक सत्रबाट खुलेको छ । विगु गाउँपालिका-६ आलम्पूको मानेडाँडा आधारभूत विद्यालयमा खुलेलगत्तै ३८ जना विद्यार्थी भर्ना भएर अध्ययन गरिरहेका छन् ।

विद्यार्थी अभाव भोगिरहेका बेला शिक्षकसमेत जिम्मेवार नबनेपछि विगु गाउँपालिका-६ आलम्पूको मानेडाँडा आधारभूत विद्यालयमा २०७९ मा ताला लाग्यो । भूकम्पपछि विद्यालयको नयाँ संरचना त बन्यो । तर, संरचना भए पनि विद्यार्थी अभाव र शिक्षकको राजनीतिका कारण भएका बालबालिका पनि अभिभावकले निकालेपछि विद्यालयमा ताला लाग्यो । 

घर नजिकको विद्यालय बन्द भएपछि अभिभावले झन्डै एक घण्टाको दूरीमा रहेको अर्को वडाको विद्यालयमा बालबालिका सारे । तर, विद्यालयको संरचना खण्डहर बन्न नदिन वडाध्यक्षले अभिभावकलाई गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता गरेर यो शैक्षिक सत्रबाट विद्यालय खुलाए । 

नमुना विद्यालय घोषणा गरेर अध्यापन हुन थालेपछि ३८ जना विद्यार्थी पुगे । हाल विद्यालयका पुराना शिक्षकलाई अन्य विद्यालयमा सरुवा गरेर करारमा एक जना र निजी स्रोतबाट तीन जना शिक्षक राखेर कक्षा सञ्चालन गरिएको छ । अधिकांश अल्पसंख्यक थामी समुदायका बालबालिका अध्ययन गर्ने यो विद्यालयमा हाल ३ कक्षासम्म अंग्रेजी माध्यमबाट पढाइ हुन्छ । 

खोलाको बाढी र पहिरोको त्रासका बीच कलिला बालबालिकालाई विद्यालय जानै एक घण्टाभन्दा बढी पैदल हिँड्नुपर्ने बाध्यता थियो । वडाध्यक्षले अभिभावलाई गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता गरेपछि विद्यालयले पुनर्जीवन पाएको हो ।

संरचना भएर पनि दुई वर्षदेखि ताला लागेको दुर्गम आलम्पूको यो विद्यालयको पुनरुत्थान भएको छ । अर्को वर्ष कम्तीमा सय जना विद्यार्थी भर्ना गर्ने अभियान छ आलम्पूको यो विद्यालयमा ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।