
काठमाडौं । फिफा विश्वकपमा शनिबार बिहान ब्राजिलले ३-० को जित निकाल्यो ।
यो जितले ब्राजिललाई विश्वकपको नकआउट फाइटको लागि दावेदार बनाएको छ । तर, यो समूहमा अहिलेसम्म कुनै टिमले अन्तिम ३२ मा स्थान बनाइसकेको छैन । त्यसैले ब्राजिलसँगै, माेरोक्को र स्कटल्यान्डको नै अर्को चरणमा जाने सम्भावना जीवित बन्दा समूहमा प्रतिस्पर्धा पनि पेचिलो बन्दै गएको छ ।
ब्राजिल र हाइटीबीच शनिबार बिहान सम्पन्न खेलको २३औं मिनेटमा माथिउस कुन्ह्वाले गोल गरे । यतिबेला ब्राजिलका समर्थक प्याराफिटमा विश्वकप ट्रफीजस्तै देखिने नक्कली ट्रफी उचालेर गोलको उत्सव मनाइरहेका थिए । यसले इंकित गर्छ कि ब्राजिल सन् २००२ यताको उपाधि खडेरी तोड्न कति अतुर छ ।
२४ वर्षअघि विश्वकप जित्दाका नायक रोनाल्डो नाजारियो दर्शक दीर्घामा बसेर शनिबारको खेल हेरिरहेका थिए । सायद उनले सोच्दै दिए, यत्तिको टिमले विश्वकप जित्ला । यता ब्राजिल २३औं मिनेटको गोलमा मात्रै रोकिएन । विंगर भिनिसियस जुनियरले दिएको पासलाई सदुपयोग गर्दै माथिउसले ३६औं मिनेटमा अर्को गोल गरे ।
पहिलो हाफकै इज्युरी समयमा भिनिसियसको प्रहार गोलमा परिणत भएपछि ब्राजिलले ३-० ले हाइटीलाई हरायो । साथै, उसले पहिले क्लीन सिट पनि हासिल गर्यो । हाइटी विश्वकपबाट बाहिरिँदै गर्दा ब्राजिल नकआउट चरण नजिक पुगेको छ ।
तर, दोस्रो हाफमा ब्राजिलको प्रदर्शन फितलो बन्यो । फिफा वरीयतामा आफूभन्दा ८० स्थान तल रहेको हाइटीविरुद्ध ब्राजिलले दोस्रो हाफमा एउटा पनि सट अन तार्गेट गर्न सकेन । उल्टै हाइटीले सात प्रहार गर्दा ब्राजिलले मात्र दुई प्रपर अट्याक गर्यो ।
मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले खेलपछि पहिलो हाफ राम्रो भए पनि दोस्रो हाफमा केही कमजोरी देखिएको स्वीकार गरे । ब्राजिलका लागि कुन्हाको प्रदर्शन प्रशंसनीय रह्यो । उनलाई आगामी स्कटल्यान्डविरुद्धको खेलमा पनि अग्रपंक्तिमा राख्ने सम्भावनाबारे एन्सेलोटीले विचार गर्ने बताएका छन् ।
अब ब्राजिलले अर्को खेल स्कटल्यान्डसँग मायामीमा खेल्दा त्यो खेलबाट ब्राजिल र स्कटल्यान्ड दुवैका लागि समूहविजेताको निर्धारण हुनेछ । त्यसैले, ब्राजिलका पहिलो विदेशी प्रशिक्षक एन्सेलोटीले अब टोलीको ध्यान टिमको सुधार र उत्कृष्ट प्रदर्शनतर्फ केन्द्रित गराउनु पर्नेछ ।
उनले विश्वकप यात्राभन्दा अघि नै नेयमारले दुई खेल गुमाउने बताइसकेका थिए । तर, अब उनी खेलमा फर्किने आशा गरिएको छ । उनको चोट ठिक भएको अवस्थामा ब्राजिलको अट्याकमा थप सुधार हुनेछ । चोटका कारण सन् २०२३ यता राष्ट्रिय टोलीबाट बाहिर रहेका नेयमार स्कटल्यान्डविरुद्धको खेलका लागि उपलब्ध हुने प्रशिक्षकले बताएका छन् ।
यद्यपि विभिन्न फुटबल प्रशिक्षकले नेयमारको फिटनेसमाथि प्रश्न उठिरहेकै छन् । अर्कोतर्फ केही विज्ञहरूले उनको अनुभव टोलीका लागि महत्वपूर्ण हुने बताउँछन् । शनिबार हाइटीविरुद्धको खेलमा विंगर राफिन्हालाई ३९औं मिनेटमा नै मैदानबाट निकालिएको थियो ।
उनी घाइते भएपछि फिटनेसमा चिन्ता बढेको छ । उनका बारेमा रिपोर्टपछि मात्रै थप जानकारी आउने टिमले बताएको छ । अर्कोतर्फ, विश्वकपको पहिलो खेल खेलेका इन्ड्रिकलाई ब्राजिली समर्थकले उच्च स्वागत गरेका छन् । १९ वर्षे एन्ड्रिक ब्राजिलबाट विश्वकप खेल्ने सातौं कम उमेरका खेलाडी हुन् ।
यसैबीच, ब्राजिलले इतिहासमा ४१औं पटक विश्वकपमा तीन वा सोभन्दा बढी गोल गर्दै नयाँ कीर्तिमान पनि बनाएको छ । साथै, प्रतियोगिताको कुल गोल संख्यामा जर्मनीलाई पछि पार्दै ब्राजिल शीर्ष स्थानमा पुगेको छ । अहिलेसम्मका हरेक विश्वकपमा छनोट भएको ब्राजिलले दुई सय ४१ गोल गरेको छ ।
यता जर्मनीले २ सय ३९ गोल गरेको छ । सर्वाधिक गोल गर्ने तालिकाको तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले एक सय ५५ गोल गरेको छ । तर, पछिल्ला विश्वकप हेर्दा, सुरुआत राम्रो भए पनि निरन्तरता दिन नसक्नु ब्राजिलका लागि चिन्ताको विषय बनेको छ । यो विश्वकपमा पनि त्यही दुर्गति हुने त होइन भन्ने प्रश्न अहिले पनि जीवितै छ ।