
काठमाडौं । सन् २००२ को फिफा विश्वकपको सेमिफाइनलमा पुगेको टोली टर्कीएले फेरि सोही मञ्चमा पुनरागमन गर्न २४ वर्ष लगाउला भनेर कसैले सोचेका थिएनन् ।
तर, जब कोसोभोविरुद्ध अन्तिम सिटी बज्यो टर्कीएले दुई दशकभन्दा लामो प्रतीक्षा अन्त्य गर्दै आफ्नो तेस्रो विश्वकप यात्रा सुनिश्चित गर्यो । २००२ को सानदार अभियानबाट प्रेरित टर्कीए उतारचढाव पूर्ण यात्रापछि नयाँ पुस्ता, नयाँ ऊर्जा र अधुरो सपना पूरा गर्न तयार छ ।
विश्वकप विशेषमा आज टर्कीएको चर्चा गर्छौं ।
कोसोभोविरुद्धको प्ले-अफ खेलमा जब अन्तिम सिटी बज्यो टर्कीएका खेलाडी र समर्थकहरूबीच राहत, उत्साह र गर्वको लहर एकसाथ फैलियो । २४ वर्षपछि युरोपको यो फुटबल राष्ट्र फेरि एकपटक विश्वकै सबैभन्दा ठूलो मञ्च, फिफा विश्वकप २०२६ मा फर्किएको छ ।
सन् १९५४ मा टर्कीले पहिलोपटक विश्वकपमा डेब्यू गरेको थियो, जहाँ उसले केही उतारचढावपूर्ण प्रदर्शन गरे पनि समूह चरणबाट अघि बढ्न सकेन । यस विश्वकपमा टर्कीएले दक्षिण कोरियामाथि ७-० को फराकिलो जित दर्ता गरेको थियो, जुन विश्वकपमा उसको हालसम्मको सबैभन्दा ठूलो जित हो ।
सन् २००२ को विश्वकप टर्कीए फुटबल इतिहासको सबैभन्दा स्वर्णिम अध्यायका रूपमा चिनिन्छ । आफ्नो पहिलो सहभागितापछि ४८ वर्ष प्रतिक्षा गरेको टर्कीए पहिलो खेलमा ब्राजिलसँग २-१ ले पराजित भए पनि कोस्टारिकासँग १-१ को बराबरी र निर्णायक खेलमा चीनलाई ३-० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको थियो ।
सह-आयोजक जापानविरुद्ध उमित दाभालाको उत्कृष्ट हेडर गोलको मद्दतले उसलाई क्वार्टरफाइनलमा प्रवेश गराएको थियो । क्वार्टरफाइनलमा सेनेगलविरुद्धको खेल अत्यन्त रोमाञ्चक रह्याे । अतिरिक्त समयमा इल्हान मान्सिजले गरेको 'गोल्डेन गोलनै खेलको एकमात्र निर्णायक गोल बन्यो ।
जसले टर्कीएलाई सेमिफाइनलसम्म पुर्यायो । सेमिफाइनलमा ब्राजिलसँग पराजित भए पनि टर्कीएले दक्षिण कोरियालाई पराजित गरेर तेस्रो स्थान पक्का गर्यो । २०२६ फिफा विश्वकप छनोटअन्तर्गत समूह चरणमा टर्कीएले स्पेनपछि दोस्रो स्थान हासिल गरेको थियो ।
चार जित, एक बराबरी र एक हारको नतिजासहित उसले ६ खेलमा १७ गोल गर्दै आफ्नो आक्रामक शक्ति देखायो । तर, १२ गोल व्यहोर्दा टोलीको रक्षात्मक कमजोरी भने उजागर भएको थियो । प्ले-अफ्मा रोमानिया र कोसोभोविरुद्ध जित हात पार्दै उसले विश्वकपमा स्थान बनायो ।
सेप्टेम्बर २०२३ मा मुख्य प्रशिक्षक नियुक्त भएका भिन्सेन्जो मोन्टेल्लाले टोलीलाई नयाँ ऊर्जा र दिशा दिए । हाल फिफा विश्व वरीयताको २२औं स्थानमा रहेको टर्कीए फिफा विश्वकप २०२६ मा समूह 'डी' मा रहेको छ । उसले जुन १४ मा अस्ट्रेलियाविरुद्ध खेल्दै विश्वकप अभियानको सुरुवात गर्ने छ ।
२० जुनमा पाराग्वे र २६ जुनमा आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्ने तालिका छ । यसरी हेर्दा, टर्कीएको विश्वकप यात्रा संघर्ष, सौभाग्य र ऐतिहासिक उपलब्धिहरूले भरिएको छ । फिफा विश्कप २०२६ मा उसको प्रदर्शन कस्तो होला हेर्न बाँकी छ ।