फिफा विश्वकप : कतै दिग्गज टोलीको दबदबा, कतै साना टोलीले बनाए इतिहास

असार ११, २०८३ |अभय बस्नेत
फिफा विश्वकप : कतै दिग्गज टोलीको दबदबा, कतै साना टोलीले बनाए इतिहास

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ए, बी र सीका सबै खेल सकिएसँगै नकआउट चरणको चित्र स्पष्ट हुन थालेको छ । अहिलेसम्म खेल हेर्दा कतै दिग्गज टोलीको दबदबा देखियो भने कतै साना भनिएका टोलीले इतिहास रचे । आज हामी यी तीन समूहका बारेमा चर्चा गर्नेछौं।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका पहिलो तीन समूहको खेल सकिँदा नकआउट चरणको स्वरूप स्पष्ट हुन थालेको छ । हालसम्म कतै दिग्गज टोलीको दबदबा देखियो भने कतै साना भनिएका टोलीले इतिहास रचे । सुरुवात गरौं समूह 'ए' बाट । आयोजक मेक्सिकोले घरेलु मैदान 'एज्टेका' स्टेडियमको भरपुर फाईदा उठायो । घरेलु भूमिमा उसले एक गोल पनि नखाई शतप्रतिशत नतिजा निकाल्न सफल रह्यो ।

मेक्सिकोले दक्षिण अफ्रिकालाई २-०, दक्षिण कोरियालाई १-० र चेक रिपब्लिकलाई ३-० ले हराउँदै ९ अंकका साथ समूह विजेता बन्यो । तर यो समूहको सबैभन्दा ठूलो सरप्राइज दक्षिण अफ्रिका बन्यो। अन्तिम खेलमा दक्षिण कोरियालाई १-० ले स्तब्ध पार्दै 'बाफाना बाफाना' इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्न सफल भयो । स्टार खेलाडी सन ह्युङ-मिनलाई सुरुवाती सेटमा नराख्ने दक्षिण कोरियाको निर्णय आत्मघाती सावित भयो । अन्तिम खेलमा थापेलो मासेको दक्षिण अफ्रिकाका लागि नायक बने, जसको गोलले कोरियाको नकआउट सपनामा ब्रेक लगाईदियो । त्यस्तै, समूह 'बी' मा ईतिहास रच्ने टोली बन्यो– क्यानडा । कतारलाई ६-० को फराकिलो अन्तरले हराउँदै क्यानडाले विश्वकप इतिहासमा आफ्नो पहिलो जित मात्र दर्ता गरेन, जोनाथन डेभिडले घरेलु भूमिमा ह्याट्रिक गर्ने विरलै खेलाडीको सूचीमा नाम लेखाए। यद्यपि, समूह विजेता भने स्विट्जरल्याण्ड बन्यो । ट्याक्टिकल रूपमा निकै अनुशासित देखिएको स्विस टोलीले क्यानडालाई २-१ र बोस्नियालाई ४-१ ले हराउँदै ७ अंक जोड्यो । बोस्निया एण्ड हर्जगोभिनाले पनि कतारलाई ३-१ ले हराउँदै ४ अंकका साथ उत्कृष्ट तेस्रो टोलीको रूपमा नकआउटमा स्थान सुरक्षित गर्‍यो । २०२२ विश्वकप आयोजक कतारका लागि भने यो विश्वकप बिर्सनलायक नै रह्यो, जहाँ उनीहरू -८ को गोल अन्तरका साथ बाहिरिन पुगे ।

यस पटक सबै भन्दा रोचक समूह बन्यो– सी ।

समूह 'सी' मा पाँच पटकको च्याम्पियन ब्राजिल र मोरक्कोबीच शीर्ष स्थानका लागि रोचक भिडन्त देखियो । ब्राजिलले मोरक्कोसँग १-१ को बराबरीबाट यात्रा सुरु गरे पनि हाइटी र स्कटल्याण्डलाई समान ३-० ले पन्छाउँदै गोल अन्तरका आधारमा समूह विजेता बन्यो । भिनिसियस जुनियरले हरेक खेलमा गोल गर्दै आफूलाई गोल्डेन बुटको दौडमा अग्रपङ्तिमा उभ्याएका छन् । स्कटल्याण्डविरुद्धको खेलमा नेयमारको मैदानमा पुनरागमनले ब्राजिलियाली समर्थकमा थप जोस थपेको छ । गत विश्वकपको सेमिफाइनलिस्ट मोरक्कोले पनि आफ्नो लयलाई निरन्तरता दियो । इस्माइल सैबारीको उत्कृष्ट प्रदर्शनको मद्दतले मोरक्कोले हाइटीलाई ४-२ ले हराउँदै नकआउटमा स्थान बनायो । स्कटल्याण्ड र हाइटी भने समूह चरणबाटै बिदा भए, यद्यपि ५२ वर्षपछि फर्किएको हाइटीले मोरक्कोविरुद्ध दुई गोल गरेर आफ्नो उपस्थितिको सम्मान राख्यो ।

यी तीन समूहको तुलना गर्दा मेक्सिको सबैभन्दा सन्तुलित देखिन्छ । दक्षिण अफ्रिकाको पुनरागमन र क्यानडाको आक्रमणले पनि हेर्न लायक नै रह्यो । प्रतियोगिताको अहिलेसम्मकै ठूलो सरप्राइज नै दक्षिण अफ्रिकाको प्रगति हो । यी सबै टोलीका लागि अबको बाटो अझ कठिन छ। मेक्सिकोले नकआउट चरणमा एज्टेकामै तेस्रो स्थानका टोलीमध्ये एकसँग खेल्नेछ, जुन उनीहरूका लागि ठूलो एडभान्टेज पनि हो । त्यस्तै ब्राजिलले समूह 'एफ' को उपविजेतासँग ह्युस्टनमा सामना गर्नेछ । आधिकारिक रूपमा मेक्सिको, दक्षिण अफ्रिका, स्विट्जरल्याण्ड, क्यानडा, ब्राजिल, मोरक्को र बोस्निया एण्ड हर्जगोभिना राउण्ड अफ ३२ मा प्रवेश गरिसकेका छन् ।

अन्त्यमा, विश्वकपले अब वास्तविक दाबेदार र कमजोर टोलीहरूलाई छुट्याउन थालिसकेको छ। नकआउट चरणको 'डु अर डाई' अवस्थामा यी टोलीहरूको रणनीति कस्तो रहला, त्यो हेर्न बाँकी नै छ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।