विश्वकपमा फ्रान्स र नर्वेबीच प्रतिष्ठाको लडाइँ, सबैको नजर हालान्ड-एम्बाप्पेमा

असार १२, २०८३ |विनयज्योति सापकोटा
विश्वकपमा फ्रान्स र नर्वेबीच प्रतिष्ठाको लडाइँ, सबैको नजर हालान्ड-एम्बाप्पेमा

काठमाडौं । फिफा विश्वकपमा खेलहरु निकै प्रतिस्पर्धात्मक र अर्थपूर्ण बन्दै गइरहेका छन् । 

एकातर्फ नव प्रतिद्वन्द्वीको जन्म भइरहँदा, अर्कोतर्फ फुटबल सुन्दर तरिकाले खेल्न सक्ने खेलाडीले चर्चा पाइरहेका छन् । नर्वेका हालान्ड र फ्रान्सका एम्बाप्पे विश्वकपको समूह चरणमा नै भेट हुँदा यी दुईबीच शुक्रबार राति हुने खेल बहुप्रतिक्षित बनिरहेको छ । राति पौने १ बजे हुने यो खेल आइकोनिक खेलमध्ये एक हुन सक्नेछ ।

फिफा विश्वकपको समूहमा नै शुक्रबार यस्तो एउटा माहत्वपूर्ण खेल हुँदैछ जुन खेलमा आउँदो दशकमा विश्व फुटबलमा सर्वाधिक चर्चा हुनसक्ने दुई खेलाडी आमने सामने हुनेछन् । पछिल्लो दुई दशक रोनाल्डो र मेस्सीको पेरिफेरीमा विश्व फुटबल गुज्रियो । तर, अबका विश्वस्तरीय प्रतिस्पर्धा कुन कुन खेलाडीबीच रहला भन्ने बहस सतहमा आएको लामै समय भयो । 

यसलाई पछ्याउँदै जाने हो भने दुई नाम भेटिन्छन् र ती नाम हुनेछन् किलियन एम्बाप्पे र इर्लिङ ब्रट हालान्ड । निश्चल र नि:स्वार्थ फुटबलमा रमाउने हालान्ड र मैदानमा कहिल्यै नथाक्ने अनि आफैं र आफ्नै टिमले जित्नुपर्छ भन्ने विश्वास राख्ने एम्बाप्पेबीचको प्रतिस्पर्धा शुक्रबार राति देख्न पाइनेछ । 

यी टोलीबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । विश्व वरीयतामा फ्रान्स दोस्रो स्थानमा छ भने नर्वे २२औं स्थानमा छ । फ्रान्ससँग उत्कृष्ट व्यक्तिगत कौशल छन् भने नर्वेसँग टिमले खेल्नुपर्छ भन्ने उत्कृष्ट चाहना रहन्छ । लामो समयपछि विश्वकपमा फर्किएको नर्वे अहिले आफ्नो पुस्तालाई स्वर्णिम पुस्ता बनाउन सरकारबाट पनि साथ पाएको देखिन्छ । 

यता, लगातार दुई पटक विश्वकप फाइनल पुगेको फ्रान्स पछिल्लो दशकमा नै युरोपेली फुटबलको सबैभन्दा खरो टिमका रुपमा मैदानमा प्रस्तुत भइरहेको छ । म्यानचेस्टर सिटीका कीर्तिमानी स्ट्राइकर हालान्डसहित नर्वेसँग प्रतिभावान फुटबल खेलाडीको पुस्ता छ । 

जसमा मार्टिन ओडेगार्ड, अजेक्जेन्डर सरलोथ, ओस्कार बब र एन्टोनियो नुसाजस्ता स्पिड, एकुरेसी, पासिङ र ड्रिबलिङमा निपूर्ण खेलाडको उपस्थिति देखिन्छ । जुलियन रायर–सन्ले खेल्ने सम्भावना कम छ । अर्कोतर्फ, केलियन एम्बाप्पे, ओउसमान डेम्बेले, औरेलियन छुवामेनी, एनगोलो कान्टे, लुकास र थियो हर्नान्डेजजस्ता खेलाडीले फ्रान्सको सबै क्षेत्रलाई कसिलो, आक्रामक र रणनीतिक रुपमा लगातार उस्तै राख्नेछन् । 

तर, पछिल्लो खेलका सब्स्टिच्यूट मानु कोने र लुकास डिनले मिडफिल्ड र लेफ्टब्याकमा सानदार प्रदर्शन गरेपछि शक्रबारको सुरुआती ११ मा परिवर्तन देखिन सक्नेछ । यसैबीच फ्रान्सका प्रशिक्षक डिडियर डेस्च्याम्प भने आफ्नी आमाको निधनका कारण टिममा हुने छैनन् । 

पछिल्लो अभ्यास सत्रमा फ्रान्सको टिमले प्रशिक्षककी आमाको निधनमा शोक मनाए । अब, फ्रान्सका सबै खेलाडीले नर्वेविरुद्ध जित निकालेर प्रशिक्षककी आमालाई श्रद्धाञ्जली दिने योजनामा छन् । यसैबीच हालान्डले एउटा माइन्ड गेम खेलेका छन् । 

उनले फ्रान्सलाई विश्वकप जित्न सक्ने मात्रै होइन जितका लागि शुभकामना पनि दिएका छन् । पछिल्लो खेलमा सेनेगललाई ३-२ ले हराएपछि उनले फ्रान्सलाई जितका लागि शुभकामना दिएका थिए । फ्रान्सले समूहको पहिलो खेलमा सेनेगललाई तीन एकले हराएको थियो । 

त्यसपछि इराकलाई ३-० ले हराउँदा फ्रान्सले परिपक्व प्रदर्शन गरेको छ । हालान्डको २ गोलको सहयोगमा पहिलो खेलमा भाइकिङ्सले इराकलाई ४-१ ले हराएको थियो भने सेनगेलविरुद्धको जितमा पनि हालान्ड नै नायक रहे । उक्त खेलमा नर्वे ३-२ ले विजयी भएपछि दुवै टिमको समान ६-६ अंक भएको छ । 

त्यसैले शुक्रबार राति हुने खेलले समूह आईको विजेताको टुंगो लाग्नेछ । नर्वेको इतिहास हेर्ने हो भने पछिल्लो पटक २८ वर्षअघि नर्वेले विश्वकप खेल्दा हालान्ड जन्मिएकै थिएनन् । नर्वे र फ्रान्सकै खेलाडीको औषत उमेर २६ र २७ वर्ष बीचमा रहेको छ । 

त्यसैले यो भिडन्त दुई देशबीचको युवा खेलाडीबीचको पनि हो । रुस विश्वकप विजेताको फ्रान्स कतार विश्वकपको पनि उपविजेता टोली हो । जारी सिजनको प्रदर्शनबाट उसले आफू किन दाबेदार टोली भनेर प्रमाणसमेत दिइसकेको छ । फ्रान्सविरुद्ध नर्वेले सन् २०१० यता जित निकाल्न सकेको छैन् । 

१६ वर्षअघि एरिक हरेक्लेप्पले गरेको गोलका कारण फ्रान्स पराजित भएको थियो । शुक्रबार यस्तै जित निकालेर नर्वेलाई समूह विजेता बन्ने अवसर छ । यता हार टार्न सके मात्रै पनि फ्रान्स समूह विजेता बन्नेछ । तर, समूह विजेता बनेरै नकआउटमा जान चाहन्छ । 

यसअघि १९९८ को विश्वकपमा समूह विजेता बनेर नकआउटमा पुगेको उसले विश्वकप जितेको थियो । अर्कोतर्फ एम्बाप्पेले विश्वकपमा १६ गोल गरिसकेका छन् । उनी अब लियोनेल मेस्सीको १८ गोलको कीर्तिमान तोड्ने योजनामा हुनेछन् । यता हालान्डको ह्याट्रिक नदेखएिको लामो समय भएको छ । 

यदि हालान्डले आफ्नो पुरानो लयलाई फर्काउन सकेको अवस्थामा उनी विश्वकपमा पनि ह्याट्रिक हिरो बन्ने सम्भावना छ । त्यसमाथि नर्वेसँगै केवल मैदानका ११ खेलाडी वा स्क्वाडका २६ खेलाडी मात्रै नभएर देशले नै समर्थन गरेको छ । अहिले नर्वेको के स्कुल, के अस्पताल जताततै फुटवलको क्रेज देखिन्छ । 

कानुन निर्माणको सर्वोच्च थलो संसद् भवनमा पनि नर्वेजियनहरु एकबद्ध भएर आफ्नो देशको टिमलाई समर्थन गरिरहेका भेटिन्छन् । उनीहरुले टिमलाई हौसला र विश्वास प्रदान गरेका छन् । यसले नर्वेको टिम नि:स्वार्थ र एउटै लक्ष्यका साथ फुटबल खेलिरहेको देखाउँछ – जसले इतिहासलाई परिवर्तन गर्ने सामथ्र्य राख्ने अपेक्षा गर्न सकिन्छ ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।