हतारमा आयाे कक्षा १२ काे नतिजा, विद्यार्थीको प्रश्न- यति छिटो कसरी ?

असार १२, २०८३ |नारायण किलम्बू
हतारमा आयाे कक्षा १२ काे नतिजा, विद्यार्थीको प्रश्न- यति छिटो कसरी ?

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा यसपालि ४० दिनमा प्रकाशित भयो । 

पहिले पहिले तीन महिना लाग्थ्यो । तर, छिटो नजिता निकाल्ने नाममा लापरबाही भएको भन्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । अनावश्यक प्रक्रिया छोट्याएको र जनशक्ति थपेको कारण छिटो नतिजा आएको शिक्षा मन्त्रालयको दाबी छ । 

लापरबाही भए नभएको छानबिन गर्न मन्त्रालयले समिति पनि गठन गरिसकेको छ । तर, विद्यार्थीको आक्रोश भने मत्थर भएको छैन । कक्षा १२ को परीक्षाफल ४०औं दिनमा कसरी सम्भव भयो ? विद्यार्थीको पहिलो प्रश्न नै यही छ । 

हतारमा उत्तरपुस्तिका परीक्षण गर्दा लापरबाही भएको भन्दै उनीहरुले नतिजाप्रति असन्तुष्टि जनाएका छन् । नियमिततर्फ ३ लाख ३२ हजार २ सय ४१ विद्यार्थी सहभागी मध्ये १ लाख ४ सय ७१ अर्थात् ३१ प्रतिशत विद्यार्थी फेल भएका छन् । 

पास भएका विद्यार्थीहरु मध्ये धेरैलाई नम्बर कम दिएको र लापरबाहीपूर्ण रुपमा उत्तरपुस्तिका जाँच गरी परीक्षाफल प्रकाशित गरिएको भन्दै विद्यार्थी आक्रोशित छन् । विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएको भएर विरोधमा उत्रिएको उनीहरुको भनाइ छ ।

यसपालि नियमित र आंशिक गरी ४ लाख १८ हजार विद्यार्थी सहभागी थिए । उत्तरपुस्तिका परिक्षण गर्न पहिले २४ ठाउँ थियो । यसपालि ४२ ठाउँमा उत्तरपुस्तिका परिक्षण गरिएको छ । परीक्षा बोर्डमा मात्र हुने संपरिक्षण यसपालि प्रदेशगत गरी २० ठाउँमा गरिएको थियो । 

त्यसका लागि जनशक्ति समेत थप गरिएको बोर्डले जनाएको छ । परीक्षाफल प्रकाशनका लागि विगतमा जस्तै सबै मापदण्ड र प्रक्रिया पूरा गरी छिटो नतिजा प्रकाशित गरिएको बोर्डले जनाएको छ । उत्तरपुस्तिका परीक्षण र मूल्यांकनमा लापरबाही नभएको दाबी बोर्डको छ । 

यसपालि पास हुने विद्यार्थीको संख्या ८ प्रतिशतले बढेको छ । छिटो नतिजा प्रकाशित गर्ने क्रममा मानवीय त्रुटि भने हुनसक्ने विज्ञको भनाइ छ । उत्तरपुस्तिका परीक्षणमा असन्तुष्टि जनाउँदै ३५ हजारको हाराहारीमा विद्यार्थीले रिटोटलिङका लागि निवेदन दिएका छन् । 

परीक्षाको नतिजा प्रकाशनप्रति सार्वजनिक रुपमा असन्तुष्टि जनाउँदै विद्यार्थीहरुले सामाजिक सञ्जालदेखि सडकसम्म विरोधमा उत्रिएपछि शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षा मन्त्रालयको नेतृत्वमा पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्राेत विकास केन्द्रका उपसचिव रहेको छानबिन समिति गठन गर्नुभएको छ । 

छानबिनमा छिटो नतिजा प्रकाशित गर्ने क्रममा लापरबाही भएको पाइए कारबाही गरिने शिक्षा मन्त्रालयले जनाएको छ । कक्षा १२ पछि उच्चशिक्षा अध्ययनका लागि विद्यार्थीहरु विदेशिने हुनाले परीक्षाको नतिजा अन्तर्राष्ट्रिय शिक्षण संस्था र समुदायमा समेत विश्वसनियता हुनुपर्ने छ । 

त्यसैले छिटो परीक्षाफल प्रकाशित गरेकै कारण विद्यार्थीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाउने ठाउँ दिनु हुँदैन ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।