विश्वकपमा स्कटल्यान्डको कमब्याक

जेष्ठ ५, २०८३ |अभय बस्नेत
विश्वकपमा स्कटल्यान्डको कमब्याक

काठमाडौं । २८ वर्ष लामो प्रतीक्षा र कयौं पटकको असफलतापछि स्कटल्यान्डका समर्थकहरूको 'ब्यागपाइप' को धुन अब विश्वकपको सबैभन्दा ठूलो मञ्चमा गुञ्जिने भएको छ । 

सन् १९९८ पछि पहिलो पटक विश्वकपमा छनोट भएको 'टार्टन आर्मी' यसपटक इतिहास रच्ने लक्ष्यमा अमेरिका पुग्दैछ । आज हामी विश्वकपमा आफ्नो नवौं सहभागिताका लागि तयार स्कटल्यान्डको चर्चा गर्दैछौं ।

फुटबलको इतिहासमा स्कटल्यानड एउटा यस्तो नाम हो, जसले विश्वकपमा थुप्रै सम्झन लायक क्षणहरु दिएको छ । सन् १९७८ को विश्वकपमा आर्ची गेमिलले नेदरल्याण्ड्सका तीन डिफेन्डरलाई छक्याउँदै गरेको त्यो जादुमय गोल होस् वा सन् १९७४ मा प्रतियोगिताभरी अपराजित रहेर पनि समूह चरणबाट बाहिरिनु, स्कटल्यान्डको इतिहास सधैँ ‘गौरवशाली तर दुःखद’ रहँदै आएको छ । 

आठ पटक विश्वकपको अन्तिम चरणमा पुगेर पनि यो टोली अहिलेसम्म समूह चरण पार गर्न सफल भएको छैन । तर, २८ वर्षको ‘खडेरी’ पछि विश्वमन्चमा पाइला टेक्न लागेको स्कटल्यान्ड यस पटक आफ्नो कथा पुनर्लेखन गर्न चाहन्छ । सन् २०२६ को विश्वकप यात्रा स्कटल्यान्डका लागि निकै नाटकीय रह्यो । 

छनोट चरणको अन्तिम खेलमा डेनमार्कलाई ४-२ ले पराजित गर्दै टोलीले सिधैं विश्वकपको टिकट काट्यो । उक्त खेलमा स्कट म्याकटोमिने, लरेन्स श्याङ्कल्यान्ड, कीरन टिएर्नी र केनी म्याकलिनले गोल गरेका थिए, जसमा दुई गोल त इन्जुरी टाइममा सम्भव भएको थियो । 

यो पुनरागमनका मुख्य नायक हुन् प्रशिक्षक स्टिभ क्लार्क । क्लार्क स्कटल्यान्डको इतिहासमा टोलीलाई तीनवटा ठूला प्रतियोगितामा पुर्‍याउने पहिलो म्यानेजर बनेका छन् । मैदानमा टोलीको नेतृत्व लिभरपुलका कप्तान एन्डी रोबर्टसनले गर्नेछन्, जसको अनुभव टोलीका लागि महत्वपूर्ण हुन सक्छ । 

त्यस्तै, मिडफिल्डमा नापोलीका स्टार स्कट म्याकटोमिने र एस्टन भिल्लाका जोन म्यागिन मुख्य हतियार हुन् । विशेषगरी म्याकटोमिनेको मिडफिल्डबाट अगाडि बढेर गोल गर्ने क्षमता र सेट पिसमा स्कटल्यान्डको बलियो पकड विपक्षीका लागि समस्या बन्न सक्छ । 

यसपटक स्कटल्यान्ड समूह 'सी' मा परेको छ, जहाँ उसका प्रतिस्पर्धी विश्व विजेता ब्राजिल, अफ्रिकी च्याम्पियन मोरक्को र हाइटी रहेका छन् । स्कटल्यान्डले आफ्नो पहिलो खेल जुन १४ मा हाइटीविरुद्ध बोस्टन स्टेडियममा खेल्नेछ । त्यस्तै जुन २० मा मोरोक्को र जुन २४ मा ब्राजिलको सामना गर्नेछ । 

विश्वकपमा स्कटल्यान्डले आफ्ना सुरुवाती दुई खेलमा एक जितसहित अंक बटुल्न सके पहिलो पटक अन्तिम ३२ मा पुग्दै समुह चरण पार गर्ने इतिहास बन्न सक्छ । २८ वर्षको प्रतीक्षा, कयौं पिँढीको सपना र समूह चरण पार गर्ने अवसर । स्कटल्यान्ड यसपटक इतिहास बदल्ने लक्ष्यमा उत्तर अमेरिका प्रस्थान गर्दैछ ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।