
काठमाडौं । केप भर्डेको फिफा विश्वकप यात्रा अफ्रिकी फुटबलकै सबैभन्दा प्रेरणादायी कथा बनेको छ।
पाँच लाख जनसंख्या रहेको देशले क्यामरुनजस्तो पुराना इतिहास भएको र शक्तिशाली फुटबल टोलीलाई पछि पार्दै पहिलो पटक विश्वकपमा स्थान बनाउनु ऐतिहासिक उपलब्धी हो । लगातार संघर्ष, विदेशी लिगमा खेल्ने खेलाडीको योगदान र उत्कृष्ट टिम स्पिरिटले ब्लु सार्क्सलाई नयाँ उचाइँ र अनुभवसहित विश्वकप खेल्न तयार बनाएको छ ।
यो सफलता नेपालजस्ता साना राष्ट्रले पनि सपना देख्न र विश्व फुटबलमा इतिहास बनाउन सक्छन् भन्ने बलियो सन्देश हो । पश्चिमी अफ्रिकाको तट नजिक, अटलान्टिक महासागरका १० वटा ज्वालामुखी टापु मिलेर एउटा सानो टापु देश बनेको छ । र, यही देश हो केप भर्डे ।
सन् १९७५ मा पोर्चुगलबाट स्वतन्त्र भएको केप भर्डे फिफा विश्वकपमा छनोट हुने दोस्रो सानो देश बनेको छ । १० टापुर मिलेर बनेको केप भार्डेको जनसंख्या पाँच लाखभन्दा केही बढी रहेको छ । र, नेपालको भुगोलभन्दा ३६ गुणाले सानो छ । सानो भएका कारण धेरै विविधता नभएको यो देश सन् २०२६ को फिफा विश्वकपको लागि छनोट हुनु गर्वको विषय बनेको छ ।
उसले अफ्रिकी विश्वकप छनोटको समूह डी मा इस्वाटिनीलाई ३-० ले हराएपछि विश्वकपको टिकट काटेको थियो । आफ्नो समूहमा केप भार्डेले अफ्रिकाकै फुटबल शक्ति क्यामरुनलाई उछिनेर समूह विजेता बन्न सफल भयो । सन् २०१८ को विश्वकप खेलेको आइसल्यान्ड विश्वकप खेल्ने अहिलेसम्मकै सानो देश हो ।
अब यो रेकर्ड करिब डेढ लाख जनसंख्या भएको उत्तर अमेरिकी देश कुरासाओले तोड्न लागेको छ । किनभने कुरासाओ विश्वकपमा छनोट भएको सबैभन्दा सानो देश बनिसकेको छ । त्यसपछिको दोस्रो सानो देश हो केप भर्डे । यहाँको जमिन उर्वर नभएकै कारण धेरै मानिस वैदेशिक रोजगारमा निर्भर छन् ।
यहाँका प्रमुख खेलाडी पनि युरोप र अमेरिकामा फुटबल खेल्छन् । मोराबेजा’ भनिने आत्मीयता र आतिथ्य संस्कृतिको विशेष पहिचान रहेको यो देशको मुख्य आम्दानी पर्यटन व्यवसाय पनि हो । नेपालजस्तै केप भर्डे पनि रेमिट्यान्स र आयातमा निर्भर रहेको सानो देश हो ।
विश्वकप छनोटमा केप भार्डेले समूह डी मा २३ अंक जोड्दै शीर्ष स्थान हासिल गरेको थियो । उसले आठ पटक विश्वकप खेलिसकेको अफ्रिकी कीर्तिमानी टोली क्यामरुनभन्दा चार अंक बढी बनाएको थियो । क्यामरुनले भने निर्णायक खेलमा अङ्गोलासँग गोलरहित बराबरी खेलेसँगै उसको सम्भावना समाप्त भयो ।
केप भार्डेले खेलाडी छनोटमा आफ्नो नेटवर्क प्रयोग गर्दै आफ्ना मुलका खेलाडी छनोट गर्यो । टोलीका तीन खेलाडी पोर्चुगलमा आधारित छन् भने अन्य केही खेलाडी संयुक्त राज्य अमेरिका, आयरल्यान्ड, यूएई, रोमानिया, रूस, नेदरल्यान्ड्स र टर्कीबाट आएका केपो भर्डियन छन् ।
त्यसैले, ब्लु सार्क्समा अहिले विदेशमा जन्मिएका तर केप भार्डे मूलका खेलाडीको ठूलो निर्भरता छ । लिभरामेन्टो नेदरल्यान्ड्सको रोटरडममा जन्मिएका हुन् भने सेमेडो फ्रान्स नजिकको क्षेत्रमा जन्मिएका हुन् । विश्वकप क्वालिफिकेसन अभियानको सुरुवात केप भार्डेका लागि कमजोर रह्यो-अङ्गोलासँग घरेलु मैदानमा गोलरहित बराबरी र क्यामरुनसँग ४-१ को हार ।
त्यसपछि पाँच लगातार जित निकालेर उसले आफ्नो यात्रामा कमब्याक गरेको हो । यो यात्रामा उसले अङ्गोला र क्यामरुनविरुद्ध महत्वपूर्ण जित हासिल गरेको थियो । र, अन्तिम खेलमध्ये एकमा लिबियासँग ३-३ को रोमाञ्चक बराबरी गर्दै उसले अन्तिम चरणको बाटो सहज बनाएको थियो ।
अब फिफा विश्वकको समूह एचमा केप भर्डेले सन् २०१० को विजेता स्पेनसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ । यो खेल मर्सिडिज बेञ्च रंगशाला एटलान्टामा जुन १५ मा हुनेछ । त्यसैगरी, उरुग्वेसँगको खेल जुन २२ मा हुनेछ भने साउदी अरेयिबासँग समूहको अन्तिम खेलमा जुन २७ मा खेल्नेछ ।