
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले नवीकरण नभएका खेल संघहरूलाई नवीकरण गर्न निर्देशन दिएको छ । राखेपले एक सूचना जारी गर्दै असार १५ गतेभित्र नवीकरण गरिसक्न निर्देशन दिएको हो ।
तोकिएको समयसीमाभित्र नवीकरण नभएमा प्रचलित कानुनबमोजिम खेल संघ खारेजीको प्रक्रिया अगाडि बढाइने राखेपले जनाएको छ । राखेपको वेबसाइटमा उल्लेखित विवरणअनुसार हाल दर्ता भएका ७५ मध्ये ३३ खेल संघले नवीकरण गरेका छैनन् । जसमा नेपाल क्रिकेट संघ क्यान पनि सामेल छ ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली, २०७९ बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन नभएको भन्दै राखेपले असार १५ सम्मको सीमा तोकेको हो ।