एसियाडका लागि ९१० खेलाडीको लङ लिस्ट दर्ता, सहभागिता टुंग्याउन राखेपले समिति गठन गर्ने

वैशाख २१, २०८३ |विनयज्योति सापकोटा
एसियाडका लागि ९१० खेलाडीको लङ लिस्ट दर्ता, सहभागिता टुंग्याउन राखेपले समिति गठन गर्ने

काठमाडौं । एसियाली खेलकुदमा खेलाडीको प्रारम्भिक सूची दर्ता सम्पन्न भइसकेपछि मात्रै सहभागिताको विषयमा निर्णय गर्न राष्ट्रिय खेलकुद परिषद्‌-राखेपले समिति गठन गर्ने भएको छ। 

नेपाल ओलम्पिक कमिटी-एनओसीले एसियाली खेलकुदका लागि लङ लिस्टमा नेपालका नौ सय १० खेलाडीको नाम गत बिहीबार नै दर्ता गरेको थियो। एसियाड आउँदो सेप्टेम्बर-अक्टोबरमा जापानको नागोयामा आयोजना हुँदैछ। 

पाँच महिनापछि आयोजना हुने एसियाडका लागि २६ खेलमा सहभागी हुन खेलाडीको सूची दर्ता भएको छ। तर, कुन-कुन खेलका कति-कति खेलाडी दर्ता भएका छन् र उनीहरुको छनोट कसरी भएको हो भन्नेसमेत राखेपले जवाफ दिन सकेको छैन। 

परिषद्का संघ-संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले सहभागीताबारे अब बन्ने समितिले नै निर्णय गर्ने बताए । उनले खेल संख्या अझै घट्नसक्ने इङ्गित गरेका छन्। दुई वर्षदेखि हुँदै आएको एसियाली खेलकुदको अभ्यास गत माघदेखि रोकिएको छ। 

केही संघले आफैं प्रशिक्षण गराए पनि सरकारले गराउँदै आएको प्रशिक्षण ठप्प छ। सरकारले २०औं एसियाडमा स्वर्ण जित्ने लक्ष्य राखे पनि व्यवस्थापनमा ध्यान दिएको छैन। २०औं एसियाली खेलकुदका लागि छनोट खेल्नुपर्ने प्रावधानसमेतले गर्दा थप अन्योल भएको छ। 

एसियाली खेलकुदको छनोटको समय नजिकिँदा धेरै खेलको राष्ट्रिय छनोटसमेत भएको छैन । राष्ट्रिय प्रतियोगिता आयोजना हुन नसक्दा राखेपले अत्याधिक खेलाडीको नाम दर्ता गराएको हो । पछिल्लो संस्करणमा २९ खेलका दुई सय ५३ खेलाडी सहभागी भएका थिए। तर, नेपालले २ पदक मात्रै जितेको थियो । 

कमजोर व्यवस्थापनका कारण यो वर्ष पनि तयारीमा असर परिरहेको छ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।