
काठमाडौं । सन् २०१० को विश्वकप धेरै अर्थमा खास थियो ।
आयोजक नयाँ, विजेता नयाँ अनि शाकिराको वाका वाका गीत पनि नयाँ । यो गीत अहिलेसम्म पनि विश्वकपको एन्थम बनिरहेको छ । त्यो विश्वकप अफ्रिकी महादेशमा आयोजित पहिलो र आजपर्यन्त एक मात्र हो । तर, त्यसपछिका तीन विश्वकपमा दक्षिण अफ्रिका छनोट नै हुन सकेन ।
यद्यपि अब १६ वर्षपछि भने दक्षिण अफ्रिका यो मञ्चमा फर्किँदै छ । पर्खाइ अब २० दिनको मात्र । सन् २०१० मा दक्षिण अफ्रिकामा फिफा विश्वकप आयोजना हुँदा किशोर रोनवेन विलियम्स उत्साही हुँदै खेल हेरिरहन्थे । भाइको लगाव बुझेका दाजु मारविन भन्थे- तिमीले पनि दक्षिण अफ्रिकाको टिमबाट विश्वकप खेल्नुपर्छ ।
तर दुर्भाग्य, त्यसपछि मारविनले आफ्ना भाइ र आफ्नो देश दुवैले विश्वकप खेलेको हेर्न पाएनन् । दुई महिनाअघि मात्रै उनको कार दुर्घटनामा निधन भएपछि भाइ रोनवेनका लागि यो अवसर हर्ष र शोक दुवैले भरिएको छ । यता जुन ११ मा भने रोनवेनले मेक्सिकोसँगको विश्वकपको उदघाटन खेलमा राष्ट्रिय टिमको जर्सी पहिरिनेछन् ।
त्यति मात्रै होइन, कप्तानी नै गर्नेछन् । रोनवेन मात्र होइनन्, २०१० को विश्वकप हेरेर फुटबलमा भविष्य बनाउने सपना देखेका अधिकांश खेलाडी नै अहिलेको दक्षिण अफ्रिकी टोलीमा समावेश छन् । गत बिहीबार मात्रै मुख्य प्रशिक्षक ह्युगो ब्रुसले प्रारम्भिक टोली घोषणा गरेपछि १६ वर्षपछि दक्षिण अफ्रिका चौथोपटक विश्वकपमा फर्किनका लागि तयार भएको छ ।
दक्षिण अफ्रिकाले अहिलेसम्म सन् १९९८, २००२ र २०१० गरी तीनपटक विश्वकप खेलेको छ । यो टोलीले विश्वकपमा अहिलेसम्म समूह चरणमा पार गर्न सकेको छैन । युवा खेलाडीले भरिएको बफाना बफाना यो पटक भने विगतका कमजोर नतिजाको शृंखलाबाट कमब्याक गर्दै समूह चरण पार गर्ने योजनामा छ ।
दक्षिण अफ्रिकाले पाँच जित, तीन बराबरीसहित १८ अंक बनाउँदै काफ छनोटको समूह सी मा शीर्ष स्थान हासिल गर्दै विश्वकपमा छनोट भएको थियो । नाइजेरियासँग दुवै खेलमा बराबरी गरेको भए पनि बेनिन, लिथोसो, रुवान्डा र जिम्मबावेलाई हराएर गत अक्टोबर १४ मा उसले १६ वर्षपछि खोला फर्काएको थियो ।
हुगो ब्रुसको प्रशिक्षणमा रहेको दक्षिण अफ्रिकी टोलीमा गोलकिपर तथा कप्तान रोनवेन विलियम्स टोलीका लागि पर्खालसमान रहनेछन् । उनलाई आक्रमणमा युवा फरवार्ड ओस्विन अपोलिस र लाइले फोस्टरको बलियो साथ हुनेछ । यो टिममा मामेडोली सनडाउन्सका धेरै खेलाडीको उपस्थितिले एकता पनि बलियो रहेको अनुमान छ ।
विश्वकपमा समूह ‘ए’मा रहेको दक्षिण अफ्रिकाले उद्घाटन खेलमा मेक्सिकोसँग जुन १२ मा खेल्नेछ । जुन १८ मा चेकिया र जुन २५ मा दक्षिण कोरियाको सामना गर्नेछ ।