३९ दिन, ४८ टिम र १६ रंगशाला : विश्वकप २०२६ को भव्य तयारी र ऐतिहासिक यात्रा

जेष्ठ ९, २०८३ |अभय बस्नेत
३९ दिन, ४८ टिम र १६ रंगशाला : विश्वकप २०२६ को भव्य तयारी र ऐतिहासिक यात्रा

काठमाडौं । ३९ दिन, ४८ टिम र १६ रंगशाला । आगामी जुन ११ देखि जुलाई १९ सम्म विश्वको ध्यान यसैले तान्दै छ । 

फिफा विश्वकप २०२६ को सुरुआत पेले र म्याराडोनाले उपाधि उचालेको मेक्सिको सिटी रंगशालाबाट हुँदैछ । अन्त्य चाहिँ, मेस्सीलाई अर्ली रिटायरमेन्ट लिन बाध्य बनाएको न्युयोर्क न्युजर्सी रंगशालामा हुनेछ । यसपालि तीन देश अमेरिका, मेक्सिको र क्यानडाका रंगशालामा कुल १०४ खेल हुनेछन् । 

जसका लागि तीनै देशमा अत्याधुनिक र महँगा स्टेडियमहरू तयार पारिएका छन् । आज हामी ति मध्य केही रंगशालाबारे चर्चा गर्ने छौँ । 

सन् १९७० मा पेले अनि १९८६ मा म्याराडोना । यी दुई सर्वकालीन महान्‌ फुटबलरले विश्वकपको ट्रफी उचाल्दाको साक्षी हो- मेक्सिको सिटी स्टेडियम । खेलाडीहरूलाई लेजेन्ड भनिएजस्तै यदि रंगशालाई भनिने हो भने, मेक्सिको सिटी स्टेडियम यस्तै लेजेन्ड रंगशाला हो । 

यही रंगशालामा म्याराडोनाले विश्वकप इतिहासकै उत्कृष्ट इन्डिभिजुअल पर्फर्मेन्स देखाए । उनको बहुचर्चित ‘ह्यान्ड अफ गड’ गोल पनि यही रंगशालाको पोस्टमा भएको हो । ८३ हजार दर्शक क्षमता भएको यो रंगशालाले अब अर्को कीर्ति रच्दै छ- त्यो हो विश्वकपका तीन संस्करणको उद्घाटन खेल आयोजना गर्ने । 

सन् १९६६ मा निर्मित यो रंगशालाले सन् २०२६ को विश्वकपको औपचारिक सुरुआत गराउने छ । यो विश्वकपमा कीर्ति राख्ने रंगशाला यो मात्र भने होइन । ५ दशमलव ५ बिलियन डलरको लागतमा निर्माण भएको लस एन्जलस स्टेडियम विश्वकै सबैभन्दा महँगो रंगशाला हो । 

विश्वकपका लागि यस स्टेडियमको चार सय सिटहरू हटाएर मैदानलाई फराकिलो बनाइएको छ र आर्टिफिसियल टर्फको सट्टा प्राकृतिक दुबो बिछ्याइएको छ । यसपालि प्रविधिको उच्च प्रयोग हेर्न भने एट्लान्टा रंगशाला पुग्नुपर्छ । यहाँको छत क्यामेराको लेन्सजस्तै खुल्ने र बन्द हुने गर्छ । 

फिफाले यस स्टेडियमका लागि एउटा नियममा छुट दिएको छ, त्यो हो छतमा रहेको व्यावसायिक लोगोलाई ढाक्न असम्भव भएपछि यसलाई प्रतियोगिता अवधिभर रहन दिने । विश्वकपमा यसपटक ड्यालस स्टेडियमले सबैभन्दा धेरै ९ खेल आयोजना गर्दै छ । 

यहाँको चर्को घामले खेलाडीलाई बाधा पुर्‍याउन सक्ने भएकाले फिफाले विशेष किसिमको 'ब्ल्याकआउट' कभर प्रयोग गर्ने तयारी गरेको छ । २००६ मा निर्माण भएको यो रंगाशालालाई तत्कालीन समयको इन्जिनियरिङ मार्भल मानिन्छ । जुलाई १९ मा हुने फाइनल खेल भने न्युयोर्क न्यु जर्सी स्टेडियममा हुनेछ । 

८२ हजारभन्दा बढी दर्शक अट्ने यो रंगशालाले यसपटक समूह चरणमै ब्राजिल, फ्रान्स, जर्मनी र इङ्ल्यान्डजस्ता पूर्वविश्वविजेतालाई होस्ट गर्नेछ । सन् २०१० मा स्थापना भएको यही रंगशालामा सन् २०१६ को सयौँ संस्करणको कोपा अमेरिका फाइनल आयोजना भएको थियो ।

यसपटकको विश्वकपमा गर्मी चुनौतीको रूपमा छ । खेल हुने १६ वटै रंगशालामा एअर कन्डिसनिङ सुविधा त छ यद्यपि फिफाले प्रत्येक खेलमा ३ मिनेटको कुलिङ ब्रेक अनिवार्य गरेको छ । अब कौतुहलको प्रश्न एउटै छ- जुलाई १९ मा न्युयोर्कले कसले जर्सीमा तारा थपिदेला ?


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।