
काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२६ मा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्समाथि सानदार जित हात पारेको छ।
आइतबार भएको प्रतिस्पर्धामा घरेलु टोली लखनउ ७ विकेटले पराजित भएको हो । लखनउको इकाना क्रिकेट स्टेडियममा गुजरातका कप्तान शुभमन गिलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे । पहिले ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६४ रन बनायो।
लखनउका लागि एडेन मार्करामले सर्वाधिक ३० रनको योगदान दिए भने कप्तान ऋषभ पन्त १८ रन र मिचेल मार्स ११ रनमा आउट भए। मध्यक्रमका ब्याटर निकोलस पूरनले १९ रन र मुकुल चौधरीले १८ रन जोडे पनि टोलीले ठूलो स्कोर खडा गर्न सकेन।
बलिङतर्फ गुजरातका प्रसिद्ध कृष्ण नायक सावित भए। उनले ४ ओभरमा मात्र २८ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। यस प्रदर्शनसँगै उनले सिजनको १० विकेट पूरा गर्दै पर्पल क्याप समेत कब्जा गरेका छन् । उनलाई अशोक शर्माले २ र मोहम्मद सिराजले १ विकेट लिएर बलियो साथ दिए।
१ सय ६५ रनको लक्ष्य पछ्याएको गुजरातले १८ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर जित हासिल गर्यो। गुजरातको जितमा दुई अनुभवी ब्याटरहरूले अर्धशतकीय पारी खेले। जोस बटलरले ३७ बलमा ११ चौकाको मद्दतले ६० रन बनाए। यो उनको टी-२० करिअरको सयौं अर्धशतक र १४ हजार रनको ऐतिहासिक कीर्तिमान पनि हो।
त्यस्तै, कप्तान शुभमन गिलले ४० बलमा ५६ रन जोडे। यसै पारीका क्रममा २६ वर्ष २ सय १६ दिनका गिल आईपीएलमा चार हजार रन पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। । अन्त्यमा वाशिंगटन सुन्दरले २१ रन र राहुल तेवाटियाले १० रनमा अविजित रहँदै गुजरातको जित सुनिश्चित गरे।
लखनउका लागि प्रिन्स यादव, मोहम्मद शामी र दिग्भेश सिंहले १-१ विकेट लिए। जितसँगै गुजरात टाइटन्स अङ्क तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने लखनउ छैटौं स्थानमा झरेको छ। लखनउको आफ्नो घरेलु मैदानमा यो लगातार पाँचौं हार हो।
आईपीएलमा अहिले रोयल च्यालेन्जर्स बैंगलुरु र मुम्बई इन्डियन्सबीचको खेल जारी छ।