राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फको उपाधि एपीएफलाई

चैत्र २९, २०८२ |खेल ब्युरो
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फको उपाधि एपीएफलाई

काठमाडौं । राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप-२०२६ पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब लाई १०-५ ले हराउँदै एपीएफ क्लबले उपाधि आफ्नो नाम गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपीएफले आर्मीविरूद्ध कठिन जित दर्ता गर्यो । पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशमाथि ४१-५ को फराकिलो जित निकाल्दै फाइनल पुगेको हो । आर्मीको जितमा दिनेश ढकालले दुई ट्राईसहित १० अंक जोड्दै टोलीलाई एकतर्फी जित दिलाए। 

दोस्रो सेमिफाइनलमा एपीएफ क्लबले गण्डकी प्रदेशलाई २४-शून्यले पराजित गरेको थियो । समूह चरणमा आर्मी समूह 'ए’ को विजेता र गण्डकी प्रदेश उपविजेता बन्दै अन्तिम चारमा पुगेको थियो । यता एपीएफ समूह 'बी’ को विजेता रहँदा कोशी प्रदेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो । 

प्रतियोगितामा च्याम्पीयन बनेको एपीएफ क्लबले ५० हजार रूपैयाँ प्राप्त गर्यो । त्यस्तै, उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले ३० हजार रूपैयाँमा चित्त बुझायो । व्यक्तिगततर्फ पुरुषमा एपीएफका रोहन ढंगोल उत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफीसहित ५ हजार रूपैयाँ प्राप्त गरे।