पीएम कपमा लुम्बिनीमाथि गण्डकीकाे जित

चैत्र २९, २०८२ |खेल ब्युरो
पीएम कपमा लुम्बिनीमाथि गण्डकीकाे जित

काठमाडौं । उच्च लयमा रहेका युवा ओपनर अर्जुन कुमालले सानदार शतक प्रहार गरेपछि पीएम कपमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको छ ।

जारी पीएम कपमा गण्डकीको यो तेस्रो जित हो । यस जितले शीर्ष ६ मा रहँदै जय ट्रफीमा छनोट हुने गण्डकीको गणितीय सम्भावना जिवित बनेको छ । नारायणी क्रिकेट मैदान वीरगञ्जमा टस जितर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७ रनको योगफल तयार पारेको थियो ।

औशत सुरूवात गरेको लुम्बिनीका लागि सातौं विकेटको रूपमा सन्तोष यादव र सलाहुद्दीन खानले १ सय २१ रनको साझेदारी गरे । सन्तोषले ७७ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ८२ रनको योगदान दिए । सलाहुद्दीनले ६० रनको अर्धशतकीय इनिङ्स खेले । गण्डकीका लागि विपिन खत्रीले ४ र अपराजित पौडेलले ३ विकेट हात पारे ।

२ सय ८ रनको लक्ष्य गण्डकीले ४४ ओभर १ बलमा केवल २ विकेट गुमाएर पूरा गर्यो । सिब्रिन श्रेष्ठ र अर्जुनले ९५ रनको ओपनिङ साझेदारी गरे । सिब्रिनले ४३ र मुस्कान थापाले २३ रन बनाए । दिपक डुम्रे २५ रनमा अविजित रहे । अर्जुनले नटआउट १ सय ३ रन जोड्दै जारी पीएम कपमा दोस्रो शतक पूरा गरे । 

उनी प्रतियोगिताको ८ खेलमा ४ सय ९८ रन जोड्दै सर्वाधिक रन जोड्ने खेलाडी पनि हुन् । अर्जुनले थप २ रन बनाएको अवस्थामा उनी प्रधानमन्त्री कपको एकै संस्करणमा ५ सय रन बनाउने पहिलो ब्याटर बन्नेछन् । गण्डकीले मंगलबार कर्णालीसँग अन्तिम खेल खेल्ने छ । लुम्बिनीका लागि सन्तोस र दिनेश बोहोराले १-१ विकेट लिए ।