ईपीएलमा आज सिटीले चेल्सीको सामना गर्दै

चैत्र २९, २०८२ |खेल ब्युरो
ईपीएलमा आज सिटीले चेल्सीको सामना गर्दै

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीले चेल्सीको सामना गर्दै छ । 

स्टामफोर्ड ब्रिजमा खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुने छ । लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी उत्कृष्ट फर्मलाई निरन्तरता दिन चाहन्छ । उसले काराबाओ कपको फाइनलमा आर्सनललाई पराजित गरेपछि एफए कप क्वार्टरफाइनलमा लिभरपुलमाथि प्रभावशाली जित दर्ता गरेको थियो । 

यसले टोलीको मनोबल उच्च बनाएको छ । शनिबार सम्पन्न खेलमा आर्सनल बर्नमाउथसँग पराजित भएपछि सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको अंक दूरी घटाउने लक्ष्य राखेको छ । हाल सिटी तालिकामा आर्सनलभन्दा ६ अंकले पछाडि छ । तर, उसले दुई खेल कम खेलेको छ । 

जसमा आइतबारको चेल्सीविरुद्धको खेल पनि समावेश छ । उत्कृष्ट फर्ममा रहेको सिटी यस खेलअघि स्पष्ट रूपमा आत्मविश्वासले भरिएको देखिन्छ । उता, लियाम रोसेनियरको नेतृत्वमा रहेको चेल्सी आफ्नै संघर्षमा छ । उ शीर्ष पाँचमा परेर च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ । 

गत साता लिग वानको टोली पोर्ट भेइलमाथि ७-० को सानदार जित हासिल गरे पनि पछिल्ला पाँच खेलमध्ये चारमा हार व्यहोरेका कारण तालिकाको छैंटौं स्थानमा छ ।