
काठमाडौं । राष्ट्रिय पुरूष क्रिकेट टिमका अल राउन्डर करण केसीले अम्पायरविरूद्धको आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन् ।
नेपाल क्रिकेट अम्पायर तथा स्कोरर संघले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेपछि करणले क्षमा मागेका हुन् । उनले लेखेका छन् : मजाकका रूपमा लिएको एउटा जिज्ञासा व्यक्त गरेको थिएँ । खेलाडी, अम्पायर, कोच सबै परिवारजस्तो हुने भएको भन्दै आफ्नो अभिव्यक्तिले कसैलाई ठेस पुगेको भए क्षमयाचना गर्दछु ।
ट्रोल क्रिकेट नेपाल नामक फेसबुक पेजले बागमती प्रदेशका सन्दीप लामिछानेले प्रधानमन्त्री कपअन्तर्गत मधेस प्रदेशविरुद्धको खेलका क्रममा अम्पायरको निर्णयमा व्यक्त गरेको असन्तोषको तस्बिर पोस्ट गरेको थियो । करणले सोही पोस्टमा ‘यदि कुनै प्लेयरले गल्तीले अम्पायरलाई पिट्यो भने कति म्याच ब्यान्ड हुन्छ’ भनेर कमेन्ट गरेका थिए ।
अम्पायर संघले करणको सो अभिव्यक्तिले पेसागत सुरक्षा र आत्मसम्मानमा ठेस पुगेको भन्दै कडा कारबाहीको माग गरेको छ । नेपाल क्रिकेट संघ-क्यानले भने अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । जनकपुर र वीरगन्जमा भइरहेको प्रधानमन्त्री कपमा अम्पायरको निर्णयलाई लिएर विवाद हुँदै आएको छ ।