पाँचथर । प्रधानमन्त्रीको विरोधमा भिडियो बनाएको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेललाई पाँचथर प्रहरीले रिहा गरेको छ ।
पोखरेललाई प्रहरीले २६ गते पक्राउ गरेकोमा आइतबार छाडेको हो । तर, बोलेकै कारण पक्राउ गरिएको भन्दै आलोचना भएपछि प्रहरीले साँझ छाडेको हो । पोखरेलले पोष्ट गरेको युट्युब भिडियोमा प्रधानमन्त्रीलगायतविरुद्ध अपमानजनक शब्द र गालीगलोजयुक्त सामग्री पनि छन् ।
पक्राउ गरिएका पोखरेल पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का हुन् । साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ। तर, पोखरेललाई शुक्रबार १० म्याद थप गरिएकोमा अनुसन्धान भने जारी रहेको पाँचथर प्रशासनले जनाएको छ ।
कान्तिपुरसँग कुरा गर्दै साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक दिलीप कुमार गिरीले भिडियोकै कारण पोखरेललाई पक्राउ गरिएको बताउनु भएको थियो । प्रधानमन्त्रीविरूद्ध अपशब्द र अश्लिल शब्दसहितको भिडियो पोस्ट गरेका कारण साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिईएको ब्युरोको भनाइ छ।
यसैबीच गृह मन्त्रालयले आइतबार साँझ विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्ने जनाएको छ । त्यस्तै अपशब्द प्रयोग गर्नु र गालीगलोज लगायतका क्रियाकलाप कानुनविपरीतको काम भएको पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।