
काठमाडौं । आईसीसी महिला च्यालेन्ज ट्रफी २०२६ मा सहभागी हुन नेपाली महिला क्रिकेट टोली यसबेला तयारीको अन्तिम चरणमा छ ।
अप्रिल १८ देखि मे १ सम्म रूवान्डाको किगालीमा आयोजना हुने यस प्रतियोगितामा नेपालले विभिन्न महादेशका टोलीहरूसँग प्रतिस्पर्धा गर्दैछ । विश्व क्रिकेटमा आफ्नो बलियो उपस्थिति जनाउने लक्ष्यका साथ नेपाली टोली रूवान्डा जाने तयारीमा छ ।
नेपाली महिला टोलीका लागि आईसीसी महिला च्यालेन्ज ट्रफी २०२६ एउटा ऐतिहासिक अवसर हो । आईसीसीले महिला क्रिकेटको विकासका लागि ल्याएको थ्री–टियर डेभलपमेन्ट पाथवेअन्तर्गत यो दोस्रो तहको प्रतियोगिता सन् २०३० को १६ टोली सहभागी हुने विश्वकपसम्म पुग्ने एउटा महत्त्वपूर्ण खुड्किलो पनि हो ।
रूवान्डाको किगालीस्थित गहांगा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुने यस प्रतियोगितामा नेपालसँगै अमेरिका, इटाली, भानुआटु र आयोजक रूवान्डाले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको कप्तानी इन्दु बर्माले सम्हाल्ने छिन् भने उपकप्तानीको जिम्मेवारी पूजा महतोलाई दिइएको छ ।
टोलीमा अनुभवी खेलाडीहरू रूविना क्षेत्री र सीता राना मगर पनि छन् । टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका यी खेलाडीको उपस्थिति महत्त्वपूर्ण हुनसक्छ । नेपालले आफ्नो पहिलो खेल अप्रिल १८ मा अमेरिकासँग खेल्नेछ । त्यसपछि अप्रिल १९ मा इटाली, २२ मा रुवान्डा र २४ मा भानुआटुसँग नेपालले प्रतिस्पर्धा गर्ने तालिका छ ।
नेपाली टोलीले आफ्ना कमजोरी पहिचान गरिसकेको छ । अब ती अनुभवलाई रूवान्डामा कार्यान्वयन गर्दै उपाधि चुम्ने नेपालको दाउ छ ।