प्रधानमन्त्री कप- सुदूरको फाइनलमा सम्भावना बलियो

चैत्र २९, २०८२ |खेल ब्युरो
प्रधानमन्त्री कप- सुदूरको फाइनलमा सम्भावना बलियो

काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । 

आइतबार सम्पन्न खेलमा सुदूरले पुलिसलाई ५६ रनले हराएको हो । पीएमकपको इतिहासमै सुदूरपश्चिमले पहिलो पटक पुलिसलाई पराजित गरेको हो । यस हारले पुलिसको शीर्ष दुईमा रहँदै फाइनल पुग्ने सम्भावना समाप्त भयो भने आर्मी फाइनल पुग्ने पहिलो टोली बनेको छ । 

लिग चरणको सबै ९ खोल खेलिसकेको सुदूरपश्चिमको १२ अंक छ । सुदूरलाई फाइनल पुग्नबाट रोक्न मधेशले आफ्ना बाँकी दुवै खेल जित्नु पर्नेछ । मधेशले पुलिस र एपीएफसँग खेल्न बाँकी छ । रामजानकी बहुद्दश्य रंगशालामा पुलिसले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको सुदूरले ४० ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ९१ रनको सामान्य योगफल तयार पारेको थियो । 

खराब सुरूवात गर्दै ४६ रन जोड्दा ५ विकेर र ७४ रन जोड्दा ६ विकेट गुमाइसकेको सुदूरपश्चिमका लागि नवाैं विकेटको रूपमा नारायण जोशी र हेमन्त धामीले ५२ रनको साझेदारी गरे । नारायणले ८० बलमा ७ चोका र ६ सक्काको मद्दतमा ८२ रनको महत्वपूर्ण अर्धशतकीय इनिङ्स खेले । 

जारी पीएम कपको ९ खेलको ८ इनिङ्समा ३ अर्धशतकसहित ३ सय ३ रन बनाइसकेका नारायण शीर्ष रन कर्ताको सूचीमा तेस्रो स्थानमा छन् । हेमन्तले २० रन बनाए । पुलिसका लागि दिनेश खरेलले ४ र सागर ढकालले ३ विकेट लिए ।

१ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिसले ३५ ओभर १ बलमा अल आउट हुँदै १ सय ३५ रन मात्र बनाउन सक्यो । गुल्सन झाले ५० रनको अर्धशतकीय योगदान दिए पनि अन्य ब्याटरको प्रदर्शन खास हुन सकेन । पुलिसलाई रोक्न सुदूरका हेमन्त धामी र कप्तान सेर मल्लले समान ३३ विकेट लिए । 

जारी पीएम कपमा हेमन्त २५ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थामना छन् भने सेर २२ विकेटसहित दोस्रो स्थानमा उक्लिएका छन् । एक खेलको प्रतिबन्ध लागेका कारण पुलिसका केरण केशीले यो खेल गुमाएका थिए ।