नेपालले यूएईसँग २ खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने

चैत्र २७, २०८२ |खेल ब्युरो
नेपालले यूएईसँग २ खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने

काठमाडौं । नेपालले यूएईसँग २ खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ ।

घरेलु मैदानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र यूएईबीचको शृंखलाअघि नेपालले यूएईसँग टी-२० आई खेल्ने भएको हो । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार पहिलो खेल वैशाख ७ र दोस्रो खेल ८ गते खेलिनेछ । 

दुवै खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेलिनेछन् । यी दुई टोलीबीचको भिडन्तलाई एसोसिएट क्रिकेटको एल क्लासिकोका रूपमा समेत लिने गरिन्छ । नेपाल र यूएई हालसम्म ११ पटक टी-२० आईमा आमनेसामने हुँदा नेपालले ६ र यूएईले ५ खेल जितेको छ ।

लिग २ अन्तर्गत नेपाल, ओमान र यूएईबीचको त्रिकोणात्मक सिरिज वैशाख १२ गतेदेखि २२ गतेसम्म आयोजना हुनेछ । यो सिरिज सकिएको एक सातापछि नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित अर्को त्रिकोणात्मक सिरिज सुरु हुनेछ । यो सिरिज वैशाख २९ देखि जेठ ८ गतेसम्म चल्नेछ ।

यस्तै लिग टु सिरिजकै सेरोफेरोमा नेपालको 'ए' टिमले ओमान, स्कटल्यान्ड र अमेरिकासँग समान २-२ खेलको ५० ओभरको सिरिज खेल्ने तय भएको छ ।