आईपीएलमा आज राजस्थान र बैंगलुरू भिड्दै

चैत्र २७, २०८२ |खेल ब्युरो
आईपीएलमा आज राजस्थान र बैंगलुरू भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएलको १६औँ खेलमा शुक्रबार दुई अपराजित टोली राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरू प्रतिस्पर्धा गर्दै छन् । 

यो खेल गुवाहाटीस्थित बरसापारा क्रिकेट मैदानमा साँझ पौने ८ बजे सुरु हुनेछ । सिजनका सुरुआती तीनै खेल जितेको राजस्थान अंक तालिकाको शीर्ष स्थानमा छ । उसले चेन्नई सुपर किङ्स, गुजरात टाइटन्स र मुम्बई इन्डियन्सलाई पराजित गरेको हो । अर्कोतर्फ बैंगलुरुले सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सविरुद्ध जित दर्ता गरेको थियो ।

आक्रामक शैलीमा ब्याटिङ गरिरहेको राजस्थान यस सिजन उत्कृष्ट लयमा देखिएको छ । ब्याटिङतर्फ शीर्ष क्रम लगातार राम्रो सुरुआत दिलाइरहेको छ भने मध्यक्रमले पनि जिम्मेवारीपूर्वक ठूलो स्कोर बनाउन योगदान दिइरहेको छ । ओपनर जोडीका रूपमा यशस्वी जैसवाल र वैभव सूर्यवंशीले शानदार सुरुआत दिलाइरहेका छन् ।

बलिङतर्फ पनि राजस्थान सन्तुलित देखिन्छ । जोफ्रा आर्चर र नान्द्रे बर्गरले नयाँ बलको जिम्मेवारी सम्हालिरहेका छन् । रियान परागको कप्तानीमा राजस्थान यो सिजन सन्तुलित र बलियो टोलीका रूपमा उभिएको छ । उपाधि रक्षा अभियानमा रहेको बैंगलुरुले पनि हालसम्म राम्रो प्रदर्शन गरिरहेको छ । 

उसको ब्याटिङ लाइनअप निकै बलियो देखिएको छ । शीर्ष क्रममा विराट कोहली, फिल साल्ट र देवदत्त पडिक्कल बैंगलुरुका मुख्य हतियार हुन् भने रजत पाटीदारको टिमका लागी टिम डेभिड संकटमोचक साबित भएका छन् । जेकब डफीको बलिङले यस सिजन हरेक विपक्षीलाई समस्यामा पारेको छ।

आईपीएलमा दुई टोलीबीच हालसम्म ३४ खेल भएका छन् । जसमध्ये बैंगलुरुले १७ र राजस्थानले १४ खेल जितेका छन् । ३ खेलमा भने बिनानतिजा समाप्त भएका छन् । गुवाहाटीमा भने शुक्रबार वर्षाको सम्भावना करिब ५६ प्रतिशत छ । आईपीएल अन्तरगत गयरातिको खेलमा लखनउ सुपर जायन्ट्सको लगातार दोस्रो जित हात पार्दा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित भएको थियो ।