बिस्का जात्रा आजबाट सुरू

चैत्र २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
बिस्का जात्रा आजबाट सुरू

भक्तपुर । सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शुक्रबारबाट सुरू भएको छ । 

नयाँ वर्ष सुरूवातको चारदिन अघि सुरू हुने बिस्का जात्रा भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । पहिलो दिन भैलख अर्थात् भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरू हुन्छ । त: मारी टोलमा रहेको भैरव मन्दिरमा विधिवत पूजापछि मूल देवतालाई रथमा विराजमान गराएर जात्रा सुरू हुन्छ ।

विषेशगरि जात्रामा त: मारी टोलमा रहेको प्यागोडा शैलीको तीन तले भैलखलाई दुई टोल तल्लो र माथिल्लो टोलका स्थानीयले आ-आफनो टोलमा लैजान दुवैतिरबाट रथलाई होस्टे हइँसेको लयमा तानातान गर्ने गरिन्छ । यो नै जात्राको प्रमुख आकर्षण हो । जात्राको पहिलो भैरवनाथको रथ टौमढीबाट सहरका विभिन्न स्थान हुँदै वंशगोपालचोकसम्म र माथिल्लो टोलको दत्तात्रय मन्दिरसम्म लैजाने परम्परा छ । 

जात्रा सुरू हुने पहिलो दिनलाई द्यो क्वँबिज्यागु अर्थात भैरवनाथको रथ तल्लो टोलमा विराजमान हुने भनिन्छ । भैरवनाथको रथलाई गहिटी टोलमा ल्याइसकेपछि पहिलो दिनको जात्रा समापन गर्ने चलन छ । लिच्छविकालदेखि मनाइँदै आएको बिस्केट जात्रा वि सित अर्थात् नागनागिनी मार्यो भन्ने भावका आधारमा मनाइँदै आएको छ । यो जात्रा हेर्नाले शत्रु नाश हुन्छ भन्ने मान्यता छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.