लखनउको लगातार दोस्रो जित, मुकुल चौधरीको सनसनीपूर्ण फिनिसिङ

चैत्र २७, २०८२ |खेल ब्युरो
लखनउको लगातार दोस्रो जित, मुकुल चौधरीको सनसनीपूर्ण फिनिसिङ

काठमाडौँ । अनक्याप्ड भारतीय ब्याटर मुकुल चौधरी नायक बनेपछि इन्डियन प्रिमियर लिग आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित हात पारेको छ । जारी आईपीएलमा लखनउको यो लगातार दोस्रो जित हो ।

कोलकाताको इडेन गार्डेन्समा लखनउले टस जितेर पहिले बलिङ रोजेपछि कोलकाताले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । कोलकाताका फिन एलेन ९ रनमा आउट भए । कप्तान अजिन्क्य रहाणेले ४१ र अंगकृष रघुवंशीले ४५ रनको योगदान दिए । यो जोडीले दोस्रो विकेटका लागि ५२ बलमा ८४ रनको साझेदारी गर्दै राम्रो आधार तयार पारेका थिए । अन्त्यतिर रोभम्यान पावेलले २४ बलमा अविजित ३९ र क्यामरन ग्रिनले पनि २४ बलमै ३२ रन बनाउँदै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याएका थिए ।

लखनउका लागी प्रिन्स यादव, मणिमारन सिद्धार्थ, दिग्वेश राठी र आवेश खानले समान एक-एक विकेट लिए ।

जवाफमा १ सय ८२ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै जित हासिल गर्‍यो । औसत सुरुआत गरेको लखनउले मिचेल मार्सलाई १५ र एडेन मार्करामलाई २२ रनमा गुमाएको थियो । त्यसपछि लगातार विकेट झर्दै जाँदा स्थिति जटिल बन्दै गयो । आयुष बादोनीले ३४ बलमा ५४ रनको महत्त्वपूर्ण इनिङ्स खेल्दै लखनउको आशा जीवित राखे । उनी आउट हुँदा लखनउलाई अझै ५७ रन आवश्यक थियो । लगत्तै मात्र १ रन जोडेका मोहम्मद शामी सातौँ विकेटका रूपमा आउट हुँदा लखनउ गम्भीर संकटमा परेको थियो । अन्तिम १८ बलमा ४३ रन आवश्यक हुँदा खेल लगभग कोलकाताको पक्षमा देखिएको थियो । तर मुकुल चौधरीले आक्रामक इनिङ्स खेल्दै खेलको नतिजा नै परिवर्तन गरे । उनले आवेश खानसँग आठौँ विकेटका लागि २४ बलमा अविजित ५४ रनको साझेदारी गरे । यो साझेदारीमा आवेशले मात्र १ रनको योगदान दिएका थिए । अन्तिम क्षण झनै रोमाञ्चक बन्यो । मुकुलले २०औँ ओभरको पाँचौँ बलमा छक्का प्रहार गर्दै स्कोर बराबरी गरेका थिए । अन्तिम बलमा बाई रन प्राप्त गरेपछि लखनउले रोमाञ्चक जित हात पार्यो । मुकुलले २७ बलमा अविजित ५४ रनको सनसनी पूर्ण इनिङ्स खेले । कोलकाताका वैभव अरोरा र अनुकुल रोयले २-२ विकेट लिए ।

जितसँगै लखनउल ३ खेलमा २ जितसहित ४ अंक जोड्दै अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । ४ खेल खेलिसक्दा जितको खाता खोल्न नसकेको कोलकाता १ अंकसहित तालिकाको नवौँ स्थानमा झरेको छ ।