
काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाको निलम्बन फुकुवा गर्न राष्ट्रिय खेलकुद परिषद्-राखेपले चार पक्षबीच छलफलका लागि आह्वान गरेको छ।
राखेपले बुधबार एन्फा र विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई पत्र लेख्दै फिफा, एसियाली फुटबल महासंघ, एन्फा र राखेपबीच छलफल गरी एन्फा निर्वाचतनर्फ अघि बढ्न फिफालाई अनुरोध गरेको हो।
परिषद्ले फिफा र एन्फालाई लेखेको पत्रमा नेपालमा विद्यमान रहेको राष्ट्रिय खेलकुद ऐनको पूर्ण कार्यान्वयन गराउन खोज्नु तेस्रो पक्षको हस्तक्षेप नभएको स्पष्ट पारेको छ। राखेपले फिफा सामू तीनवटा प्रस्ताव अघि सारेको छ। सबै साझेदारले अहिलेको फुटबलको अवस्थालाई सँगै मुल्यांकन गर्नुपर्ने।
फिफा, एएफसी, एन्फा र राखेपबीच चाँडो बैठक गर्ने । सबैको समहतिमा आधारित भएर एन्फा निर्वाचनका लागि विधिसम्मत रोडम्याप तयार पार्ने। तर, नेपाली फुटबलमा अहिले कानुनी र संस्थागत समस्या रहेको, पारदर्शीता र इमानदारिता बचाउन आवश्यक भएको पत्रमा उल्लेख गरेको छ।
नेपाली फुटबल बृत्तमा विवाद र असन्तुष्टि बढेको साथै पदाधिकारीमा भ्रष्टाचारको आरोप लाग्दा फुटबल विकासमा असर गरेको कारण आफूले यो कदम चाल्नु परेको परिषद्ले पत्रमा उल्लेख गरेको छ। एन्फाले चैत १३ गर्ने भनेको निर्वाचन अघि सहिद स्मारक लिग खेल्ने केही क्लब र खेलाडीले एन्फाविरुद्ध आन्दोलन गरेका थिए।
एन्फा र क्लबले नै प्रतियोगिता आयोजनामा कमजोरी गरेपछि अहिले राष्ट्रिय लिग र महिला लिग स्थगीत भएको छ। त्यसैले नेपाली फुटबल यतिबेला संकटमा परेको छ। फिफाले गत जनवरी १६, मार्च १३ र अप्रिल ४ तारिखमा पठाएको पत्रको ब्यहोरालाई ध्यानमा राखेर आफ्नो धारणा र जवाफ पठाएकोसमेत पत्रमा उल्लेख छ।
फिफाको विधानमा कुनै पनि देशको फुटबल संघ स्वतन्त्र हुनुपर्ने भनिएको छ। नेपालको खेलकुद ऐनमा तहगत निर्वाचन हुनुपर्ने उल्लेख छ। त्यसैगरी धुलिखेलमा गत बैसाखमा फिफा र एएफसीकै रोहबरमा भएको साधारण सभाको नियम पालना हुनुपर्ने राखेपको तर्क छ।