
काठमाडौं । इन्डियन प्रिमियर लिग- आईपीएलमा आइतबार डबल हेडर खेल हुँदैछन् ।
दिउँसो सनराइजर्स हैदराबादले लखनऊ सुपरजायन्ट्सको सामना गर्नेछ भने साँझ साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र चेन्नई सुपर किंग्सबीच भिडन्त हुनेछ । दिउँसो पौने चार बजे हैदराबादको राजीव गान्धी इन्टरनेसनल स्टेडियममा सनराइजर्स हैदराबादले लखनऊ सुपर जाइन्ट्सको सामना गर्नेछ ।
नियमित कप्तान प्याट कमिन्स घाइते भएका कारण इशान किशनले हैदराबादको कप्तानी सम्हालिरहेका छन् । हैदराबादले आफ्नो पहिलो खेल हारे पनि कोलकाता नाइट राइडर्सलाई हराउँदै उत्कृष्ट पुनरागमन गरेको थियो । अर्कोतर्फ, ऋषभ पन्तको कप्तानीमा रहेको लखनऊले आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग हार बेहोरेको थियो र सिजनको पहिलो जितको खोजीमा छ ।
यी दुईबीच भएका ६ खेलमध्ये लखनऊले ४ र हैदराबादले २ खेल आफ्नो पक्षमा पारेका छन् । त्यसैगरी, नेपाली समय अनुसार साँझ पौने आठ बजे हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्सविरुद्ध खेल्दैछ । बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा हुने खेलमा डिफेन्डिङ च्याम्पियन बेंगलुरु अघिल्लो सिजनको उपाधि जितेको लयलाई कायम राख्न चाहन्छ ।
बेंगलुरुको नेतृत्व रजत पाटीदारले गरिरहेका छन् । विराट कोहली यस प्रतिद्वन्द्वी विरूद्ध इतिहासकै सबैभन्दा बढी १ हजार एक सय ४६ रन बनाउने खेलाडी हुन् । बलिङमा बेंगलुरुका लागि ज्याकोब डफी र भुवनेश्वर कुमारले उत्कृष्ट लय देखाएका छन् । यता, सुरवाती दुवै खेल हारेको चेन्नई सुपर किंग्स पुनरागमनको खोजीमा छ ।
टोलीका आइकन महेन्द्रसिंह धोनीले चोटका कारण आइतबारको खेल खेल्ने सम्भावना निकै न्यून छ, जसले गर्दा ब्याटिङमा दबाब थपिएको छ । ऋतुराज गायकवाड र सञ्जु सामसनले टोलीलाई सम्हाल्ने प्रयास गरिरहेका छन् । तर, स्पिनमा नूर अहमद र राहुल चहारको खस्कँदो लय चेन्नाईका लागि चिन्ताको विषय बनेको छ ।