
काठमाडौं । युएफा च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा मंगलबार दुई हेभीवेट रियाल मड्रिड र बायर्न म्युनिख आमने सामने हुँदै छन् ।
स्पेनिस जायन्ट रियालले म्यानचेस्टर सिटी र जर्मन च्याम्पियन बायर्नले एटलान्टालाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् । यो खेलमा बायर्न फरवार्ड हेरी केन उपलब्ध हुन सक्ने बताइएको छ । एकंलमा सामान्य चोट लागेपछि उनले बुन्डेसलिगाअन्तर्गत गत शनिबार भएको फ्राइबर्गसँगको खेल गुमाएका थिए ।
उच्च फर्ममा रहेका केनले सोमबार अभ्यास गरेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पनीले केनको उपलब्धताबारे प्रष्ट केही भनेका छैनन् । रियालका भिनिसियस जुनियरले केनको प्रशंसा गर्दै उत्कृष्ट खेलाडी भएको प्रतिक्रिया दिएका छन् । पछिल्लो १४ सिजनमा बायर्न र रियाल नकआउट चरणमा छैटौँ पटक प्रतिस्पर्धामा उत्रिएका छन् ।
जसमा रियालले चारमा जित हात पार्दा बायर्न दुई पटक विजयी भएको छ । पछिल्लो पटक सन् २०२४ मा रियालसँग बायर्न हारेको थियो । बायर्न सबै प्रतिस्पर्धामा गरी जारी सिजन १३ खेलदेखि अपराजित छ । रियाल भने ला लिगामा मयोर्कासँग पराजित भएपछिको पहिलो खेल खेल्दै छ ।
सान्टियागो बर्नाबेउमा हुने यो खेल नेपाली समयअनुसार राति पौने एक बजे सुरु हुनेछ । यस्तै आजै आर्सनलले स्पोर्टिङसँगको खेलका लागि पोर्चुगलको भ्रमण गर्दै छ । एफ ए कप र लिग कप उपाधि जित्नबाट असफल आर्सनल च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छ ।
यो खेलअघि मिकेल अर्टेटाको टिम एफ ए कप क्वार्टरफाइनलमा दोस्रो डिभिजनको साउथह्याम्टनसँग स्तब्ध भएको थियो । डिफेन्डर गाब्रिएल, मिडफिल्डर डेक्लन राइस र फरवार्ड लियान्द्रो ट्रोसार्डको पुनरागमनले प्रशिक्षक अर्टेटालाई खुसी बनाएको छ । बुकायो साका भने पोर्चुगल जाने छैनन् ।
भिक्टर ग्योकेरेजका लागि भावनात्मक रहेको छ । उनले पूर्वक्लब स्पोर्टिङका लागि आर्सनल जानुअघि एक सय दुई खेलमा ९७ गोल गरेका थिए । युरोपियन प्रतिस्पर्धामा प्रिमियर लिग लिडर आर्सनल स्पोर्टिङविरुद्ध अपराजित छ । यो खेल पनि पौने एक बजे नै सुरु हुनेछ ।