
काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका उपाध्यक्ष गुरूप्रसाद बरालले सो माग गर्नुभएको हो । उहाँले ओली र कांग्रेस नेता एवं पूव गृहमन्त्री रमेश लेखकमाथि खोटपूर्ण ढंगले मुद्दा लगाउने प्रयास गरिएको भन्दै सैह्य नहुने चेतावनी समेत दिनुभयो ।
उपाध्यक्ष बरालले जेन-जी आन्दोलनको एउटै घटनामा पनि सुरक्षा निकाय र कर्मचारीलाई एकखालको व्यवहार तथा ओली र लेखकलाई सरकारले अर्को खालको व्यवहार गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘नेपालको संविधान र विधिको शासनलाई आज देशभरी उलंघन भइरहेको छ । यो उलंघन गर्ने अधिकार सरकारलाई छैन । यस अर्थमा संविधान प्रदत्त नागरिकको मौलिक अधिकारहरूलाई स्थापित गर्नका लागि म निर्देशनका लागि अनुरोध गर्दछु । सँगसँगै भदौ २३ र २४ को घटनालाई लिएर तीनखालको स्तरमा एक सुरक्षा निकायलाई अगलै कार्यदल बनाएर अनुसन्धान गर्ने, राष्ट्र सेवकहरूको सन्दर्भमा दोस्रो नजिर र पूर्वप्रधानमन्त्री र गृहमन्त्री केपी शर्मा ओली र रमेश लेखकको सन्दर्भमा तेस्रो नजिर जो स्थापना गर्न खोजिएको छ । यो खोटपूर्ण कानुन खडा गरेर सो मुद्दा लगाउन खोजिँदैछ । यसप्रति म गम्भीर आपत्ति गर्दछु । यी मुद्दाहरू खारेजजन्य छन् । यसलाई म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उपाध्यक्ष बरालले सरकारले संविधान र कानुनको उलंघन गरिरहेको जिकिर गर्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।