आईपीएलमा आज कोलकाता र पञ्जाब भिड्दै

चैत्र २३, २०८२ |खेल ब्युरो
आईपीएलमा आज कोलकाता र पञ्जाब भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग- आईपीएलको १२औं खेलमा साेमबार कोलकाता नाइट राइडर्सले पञ्जाब किंग्सको सामना गर्दैछ ।

नेपाली समय अनुसार पौने आठ बजे कोलकाताको इडेन गार्डेनमा हुने यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण मानिएको छ। पञ्जाब किंग्सको नेतृत्व श्रेयस अय्यरले गरिरहेका छन्, जो गत सिजन कोलकतालाई उपाधि दिलाउने कप्तान हुन् । 

अर्कोतर्फ, दबाबमा रहेका अजिन्क्या रहाणेले कोलकताको कप्तानी सम्हालिरहेका छन् । कोलकताले यस सिजनका सुरुवाती दुवै खेलमा हार बेहोरेको छ भने पञ्जाबले आफ्ना दुवै खेल जित्दै बलियो लय कायम राखेको छ । यी दुई टोलीबीच भएका ३५ भेटमा कोलकताले २१ खेल जितेको छ भने पञ्जाबले १३ खेलमा मात्र जित निकालेको छ । 

अझ इडेन गार्डेनमा कोलकताको रेकर्ड निकै राम्रो छ, जहाँ उसले पञ्जाबविरुद्ध ९-३ को अग्रता बनाएको छ । कोलकताका सुनील नारायणले पञ्जाबविरुद्ध अहिलेसम्मकै सर्वाधिक ३६ विकेट लिएका छन्, जुन आईपीएल इतिहासमा कुनै एक टिम विरुद्धको सबैभन्दा धेरै विकेट हो । 

कोलकताका ओपनर फिन एलेन आक्रामक लयमा देखिन्छन्, पञ्जाबका युवा ब्याटर प्रियान्श आर्यले पनि अघिल्लो खेलमा ११ बलमै ३९ रन बनाएका थिए । इडेन गार्डेनको पिच ब्याटिङका लागि उपयुक्त मानिन्छ र यहाँ सानो बाउन्ड्री भएका कारण उच्च स्कोरको अपेक्षा गरिएको छ ।