
काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग-एनपीएलको आय-व्यय विवरण अनुमोदन गरेको छ ।
साेमबार सम्पन्न क्यानको बोर्ड बैठकले प्रतियोगिताको वित्तीय विवरण सार्वजनिक गरेको हो । यद्यपि यो आर्थिक विवरण अनुमोदन गर्ने प्रक्रियामा क्यानभित्रको आन्तरिक विवाद भने प्रष्ट देखियो । १७ सदस्यीय निर्वाचित कार्यसमिति मध्ये उपाध्यक्ष रोशन सिंहसहित ८ जना सदस्यहरूले बैठक बहिष्कार गरेका थिए ।
सोही कारण शनिकारका लागी तय गरिएको बोर्ड बैठक सोमबारका लागी सारिएको थियो । साेमबार असन्तुस्ट पक्षको अनुपस्थितिमा बैठक सम्पन्न भएको हो । वित्तीय विवरणअनुसार क्यानले ९ करोड २१ लाख २१ हजार ९ सय ३५ रूपैयाँ नाफा आर्जन गरेको छ ।
दोस्रो संस्करणको एनपीएलबाट कुल ४७ करोड ३६ लाख ग्रस कलेक्सन भएको छ भने प्रतियोगिता सञ्चालनमा २१ करोड ९६ लाख खर्च गरिएको छ । राजस्व बाँडफाँटअघिको ग्रस आम्दानी २५ करोड ३९ लाख ९५ हजार रहेको छ । यसमध्ये १६ करोड १८ लाख ७३ हजार ८ वटा फ्रेन्चाइज टोलीलाई बाँडफाँट गरिएको छ ।
बैठकले सन् २०२६ को वार्षिक कार्यक्रम तथा बजेट पनि अनुमोदन गरेको छ । साथै, आगामी वैशाख १४ र १५ गते विराटनगरमा वार्षिक साधारण सभा गर्ने निर्णय गरिएको छ । यस्तै, टीयू क्रिकेट मैदानको करार सम्झौता थप गर्न र हाल राष्ट्रिय खेलकुद परिषद्-राखेप मातहत रहेको मुलपानीको तल्लो मैदान क्यानलाई हस्तान्तरण गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ ।
यसका साथै, आईसीसी फन्डिङबाट प्राप्त रकममध्ये करिब साढे ७ करोड रुपैयाँ महिला क्रिकेट विकासमा लगानी गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ । चार वर्षे कार्यकाल समाप्त भएका २० जिल्ला संघहरूको म्याद जेठ मसान्तसम्म थप गरिएको छ । साथै, वार्षिक साधारण सभा सम्पन्न भएपछि जेठ मसान्तभित्रै निर्वाचन गर्न पत्राचार गर्ने निर्णयसमेत बैठकले गरेको छ ।